Biratnagar, Morang, Nepal
२६ वैशाख २०८२, शुक्रवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

उद्धार तथा राहतमा सहयोग गर्न मन्त्री सुडीको आग्रह

उद्‌घोष सम्वाददाता
१३ असोज २०८१, आइतवार

काठमाडौँ, १३ असोज । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले अविरल वर्षासँगै आएको बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतमा आवश्यक सहयोग गर्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालाई अनुरोध गरेका छन् ।

समाजकल्याण परिषद्का अध्यक्षसमेत रहेका मन्त्री सुडीले आज परिषद्मा आकस्मिक बैठक आह्वान गरी देशभर बाढीपहिरोले ठूलो मानवीय तथा भौतिक क्षति भएको भन्दै प्रभावित नागरिकको उद्धार तथा राहतमा आवश्यक सहयोग गर्न सबै सरोकार भएका निकायलाई अनुरोध गरेका हुन् ।

मन्त्री सुडीले नेपालले पछिल्लो केही समययता कल्पना नगरेको विपद्को सामना गर्नुपरेको भन्दै विगतमा बाढी नआउने क्षेत्रमा पनि अहिले बाढीपहिरो आएकाले ठूलो जनधनको क्षति हुनुका साथै कष्टको सामना गर्नुपरेको उल्लेख गरे । 

“अहिले मुलुक बाढीपहिरोबाट आक्रान्त बनेको छ ।

यसले ठूलोमात्रामा जनधनको क्षति गरेको छ ।

क्षतिको अझै पूर्ण विवरण आउन बाँकी छ”, मन्त्री सुडीले भने, “सरकारले अहिलेसम्म सकेको प्रयासहरू गर्दै आएको छ ।

नेपाली सेना, प्रहरी, जनपथ सक्रिय रुपमा उद्धार तथा राहतको कार्यमा लागेका छन् ।

आजको दुर्भाग्यपूर्ण अवस्थामा तपाईहरू सबैलाई उद्धार तथा राहतमा लाग्न आग्रह गर्दछु ।”

यही असोज १० गतेदेखि परेको अविरल वर्षापछि भएको मानवीय तथा भौतिक क्षतिको घटनामा तत्काल आवश्यक उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउन समाजकल्याण परिषद्ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी सामाजिक सङ्घसंस्थालाई आग्रह गरेको हो ।

परिषद्ले एक सूचना जारी गर्दै बाढीपहिराले ठूलोमात्रामा मानवीय तथा भौतिक क्षति हुन गई जनजीवन प्रभावित भएकोप्रति दुःख व्यक्त गर्दै आवश्यक उद्धार तथा सहयोगमा पुर्याउन आह्वान गरेको छ ।

परिषद्का उपाध्यक्ष नन्दलाल माझीले विपद्मा सबै एकजुट भएर सहकार्य गर्नुपर्ने बताउँदै जनताको कसरी सेवा गर्न सकिन्छ भन्ने लक्ष्यका साथ सहयोग गर्न सङ्घसंस्थालाई आग्रह गरे ।

अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (एआइएन)का अध्यक्ष शङ्करप्रसाद कलौनीले पहिलो चरणको उद्धार र राहतमा खटिएका सबैप्रति सम्मान व्यक्त गर्दै विपद्को समयमा कसरी सहयोग गर्न सकिन्छ भन्ने विषयमा सरोकार भएकासँग छलफल गरी सहयोगका लागि आवश्यक योजना बनाइएको बताए । रासस

View : 160

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved