Biratnagar, Morang, Nepal
७ जेठ २०८१, सोमवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

उपकुलपति थपलियाद्वारा पदभार ग्रहण

उद्घोष सम्वाददाता
२४ वैशाख २०८१, सोमवार

गोठगाउँ । पूर्वाञ्चल विश्वविद्यालय (पूवि)का नवनियुक्त उपकुलपति प्राडा बिजुकुमार थपलियाले आइतबार पदभार ग्रहण गरेका छन् । उपकुलपति थपलियाले सुन्दरहरैंचा नगरपालिकाको गोठगाउँस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा बिहान १०ः १५ बजे पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहणलगत्तै उनले परीक्षा प्रणालीमा सुधार गर्ने सम्बन्धी पहिलो निर्णयमा हस्ताक्षर गरेर उपकुलपतिको जिम्मेवारी शुरूवात गरेको विश्वविद्यालयले जनाएको छ ।

पदभार ग्रहणपछि आयोजित कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, विश्वविद्यालयका पदाधिकारी, प्राध्यापक संघ तथा कर्मचारी संघका सभापतिलगायतले नवनियुक्त उपकुलपति थपलियालाई स्वागत गर्दै कार्यकालको पूर्ण सफलताको शुझकामना ब्यक्त गरे ।

कार्यत्रममा नेपाली कांग्रेसका नगर सभापति भक्तिप्रसाद सिटौला, नेकपा एमालेका नगर अध्यक्ष मात्रिका ढकाल, सुन्दरहरैंचाका मेयर केदारप्रसाद गुरागाईं, साधन–स्रोत परिषद्का अध्यक्ष लोकप्रसाद संग्रौलाले नवनियुक्त उपकुलपति थपलियाको कार्यकालमा विश्वविद्यालयको भौतिक, प्राज्ञिक विकास हुने विश्वास ब्यक्त गर्दै कार्य सफलताको कामना गरे ।

रजिष्ट्रार नीलमणि पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा पूवि निवर्तमान उपकुलपति तथा चिकित्साशास्त्र संकायका डीन डा. शैलेषमणि पोखरेल, कला, कानून तथा शिक्षाशास्त्र संकायका डीन प्राडा. अनिलकुमार पोखरेल, प्राध्यापक संघका सभापति यज्ञप्रसाद जमरकट्टेल, कर्मचारी संघका सभापति रुपेश बस्नेतलगायतले नवनियुक्त उपकुलपति थपलियालाई कार्यकालको पूर्ण सफलताको शुभकामना दिए ।

कार्यक्रममा विश्वविद्यालयका पदाधिकारी, शिक्षक तथा कर्मचारीहरूको उल्लेख्य उपस्थिति थियो ।

विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले पहिलो पटक खुल्ला प्रतिस्पर्धाका आधारमा पूविको उपकुलपति नियुक्त गरेका हुन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठको संयोजकत्वमा गठित समितिको सिफारिसमा प्राडा थपलियालाई पूविको उपकुलपतिमा नियुक्ति गरिएको हो । 

डेढ दर्जन आवेदकमध्येबाट प्रस्तुतिकरण र अन्तर्वार्तासमेतका आधारमा उपकुलपतिमा नियुक्तिका लागि प्राडा थपलियासहित सेवा आयोगका अध्यक्ष प्राडा महेशराज दाहाल र इञ्जिनियरिङ संकायका डीन प्राध्यापक देवीप्रसाद भट्टराईको नाम सिफारिस भएको बताइएको छ ।

View : 167

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved