फाइल फोटो ।
विराटनगर । लगातारको वर्षाले प्रभावित कोशी प्रदेशमा आइतबारदेखि मौसममा सुधार हुने मौसम विज्ञान विभागको पूर्वानुमान छ । अर्नब चक्रवातको अवशेष कमजोर बन्दै गएपछि वर्षा रोकिने र मौसम सफा हुँदै जाने पूर्वानुमान विभागले गरेको हो ।
विशेषगरी प्रदेशका तराईका जिल्लामा आइतबार मौसम खुल्ने संकेत देखिएको छ । विराटनगर, इटहरी र आसपासका क्षेत्रमा घाम लाग्ने तथा तापक्रम बढ्ने अनुमान छ ।
पहाडी जिल्लामा पनि वर्षाको क्रम रोकिने र आकाश क्रमशः खुल्दै जाने विभागले आफ्नो बुलेटिनमा उल्लेख गरेको छ । विभागका अनुसार शनिबारसम्म पनि कोशीका केही स्थानमा वर्षा भइरहेको थियो ।
विभागकी मौसमविद् निष्ठा निरौलाले अर्नब चक्रवातको अवशेषको प्रभाव क्रमशः घट्दै गएको र देशभर मौसममा सुधार देखिन थालेको बताएकी छन् ।
शनिबार दिउँसो जारी विभागको सूचनाअनुसार कोशी, बागमती र मधेश प्रदेशमा सामान्यतया बादल लागेको थियो । बाँकी प्रदेशमा भने आंशिक बादल रहेको थियो ।
अन्तर्राष्ट्रिय मौसम पूर्वानुमान प्रणालीहरूले पनि आइतबारदेखि कोशीमा मौसम सुधार हुने संकेत गरेका छन् । बेलायतको मौसम कार्यालयको विराटनगरसम्बन्धी पूर्वानुमानमा आइतबार घाम लाग्ने र सोमबार पनि मौसम सफा रहने उल्लेख छ ।
विराटनगरमा आइतबार अधिकतम तापक्रम २९ डिग्री सेल्सियस र न्यूनतम २१ डिग्री आसपास रहने अनुमान छ ।
धनकुटाको पूर्वानुमानमा पनि आइतबार घाम लाग्ने र दिउँसोपछि आंशिक बादल देखिन सक्ने उल्लेख छ । त्यहाँ अधिकतम तापक्रम २३ डिग्री र न्यूनतम १४ डिग्री आसपास रहने अनुमान गरिएको छ ।
ताप्लेजुङमा पनि दिनभर घाम र आंशिक बादलको अवस्था रहने तथा वर्षाको सम्भावना न्यून देखिएको छ । मौसम पूर्वानुमानका विभिन्न नमुनामा केही स्थानमा दिउँसो छिटपुट वर्षाको सम्भावना पनि देखाइएको छ ।
कोशी प्रदेशलाई समग्र क्षेत्र मानेर गरिएको अर्को पूर्वानुमानमा आइतबार दिउँसो स्थानीय वर्षाको सम्भावना औंल्याइएको छ । त्यसैले तराईमा घाम लागे पनि पहाडी तथा हिमाली भूभागको मौसममा स्थानीय भिन्नता रहन सक्नेछ ।
सोमबारदेखि भने मौसम थप सफा हुने संकेत छ ।
विराटनगरको मौसम पूर्वानुमानमा सोमबार पनि घाम लाग्ने र अधिकतम तापक्रम २९ डिग्री आसपास रहने उल्लेख छ । धनकुटामा पनि सोमबार घाम लाग्ने अनुमान गरिएको छ ।
बंगालको खाडीमा विकसित अर्नब चक्रवात भारतको आन्ध्र प्रदेशतर्फ अघि बढ्ने क्रममा त्यसको प्रभाव नेपालमा परेको थियो । यसको प्रभावले बिहीबार रातिदेखि देशका पूर्वी तथा मध्य भूभागमा वर्षा गराएको थियो । उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातसमेत भएको थियो ।
शनिबारसम्म आइपुग्दा चक्रवातको अवशेष कमजोर भई न्यून चापीय प्रणालीका रूपमा परिणत भएको र त्यसको प्रभाव पनि घट्दै गएको मौसमसम्बन्धी पछिल्लो विवरणहरूले देखाएका छन् । वर्षा कम हुँदै जानु र आकाश खुल्दै जानु यही मौसमी प्रणाली कमजोर हुँदै गएको संकेत हो ।
View : 17
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved