Biratnagar, Morang, Nepal
२६ वैशाख २०८२, शुक्रवार
+977 21 450305, 515728, 578305
कोशी

उर्जा क्षेत्रमा एमाले कोशीले सहयोग गर्ने

उद्‌घोष सम्वाददाता
२५ वैशाख २०८२, बिहिवार

विराटनगर । नेकपा एमाले कोशी प्रदेश कमिटीले उर्जा क्षेत्रका लगानीकर्तालाई प्रोत्साहित गर्न र आयोजना क्षेत्रमा हुने अवरोधलाई हटाउनका लागि उर्जा उत्पादकहरूलाई सहयोग गर्ने भएको छ । 

एमाले कोशी प्रदेश समिति उर्जा, जलस्रोत तथा सिंचाई विभागले बुधबार विराटनगरमा आयोजना गरेको कोशी प्रदेशको समृद्धिका लागि जलस्रोत र उर्जा विषयक कार्यशालामा एमाले नेताहरूले उर्जा क्षेत्रको लगानीलाई सरकारले प्रवद्र्धन गरिरहेका कारण पार्टीले समेत सहयोग गर्नुपर्ने बताए ।

स्थायी कमिटी सदस्य एवं कोशी प्रदेश इञ्चार्ज शेरधन राईले कोशी प्रदेशमा निर्माणाधिन जलविद्युतलाई सम्पन्न गर्न एमालेका जनप्रतिनिधिहरूको तहबाट आवश्यक सहयोग गर्न आग्रह गरे । 

उनले विभिन्न बहानामा उर्जा उत्पादकहरूलाई हुने असहयोग पहिचान गरेर एमालेले उनीहरूलाई प्रोत्साहित गर्नुपर्ने बताए ।

अर्का स्थायी कमिटी सदस्य एवं कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारले समेत विद्युत उपभोगलाई प्रोत्साहन गरिरहेको जानकारी दिए । कोशी प्रदेश सरकारले जलविद्युत क्षेत्रमा लगानी बढाउन अघिल्लो पटक नै दुईवटा जलविद्युत आयोजनामा लगानीको प्रतिवद्धता जनाइसकेको बताए । 

साथै आगामी आर्थिक वर्षमा कोशी प्रदेशको कुनै धार्मिक गन्तव्यमा हाइड्रोजनबाट चल्ने यातायात साधन चलाउने समेत योजना रहेको जानकारी दिए ।

कोशी प्रदेशका खानेपानी, सिंचाई तथा उर्जामन्त्री एकराज कार्कीले निजी क्षेत्रसँगको सहकार्यमा १० वटा विद्युतीय चार्जिङ स्टेशन निर्माण गर्ने तयारी भइरहेको बताए । 

नेकपा एमाले उर्जा, जलस्रोत तथा सिंचाई विभागका केन्द्रीय सचिव एवं उर्जा क्षेत्रका लगानीकर्ता मोहनकुमार डाँगी, उर्जा प्राविधिक इञ्जिनियर मणिराज दाहाल र लगानीकर्ता पुष्पज्योति ढुंगाना लगायतले कोशी प्रदेशमा जलविद्युत क्षेत्रमा लगानीको सम्भाव्यताबारे कार्यपत्र प्रस्तुत गरेका थिए । 

उनीहरूले कोशी प्रदेशमा अहिले २ हजार ३६५ मेगावाट विद्युत उत्पादनका लागि प्रक्रिया अघि बढिरहेकोले जलस्रोतबाटै समृृद्धि हाँसिल गर्ने एमालेको नीतिलाई सवै नेता कार्यकर्ताले सहयोग गर्नुपर्ने बताए ।

View : 20

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved