विसं २०१२ सालमा मोरङ इण्टरमिडिएट कलेजको नाममा साँझमा आईए पढाउने हेतुले आदर्श विद्यालयको भवनमा खुलेको यो संस्था २०१९ साल पुग्दा नपुग्दै बाइस विघाको प्लटमा आफ्नै नवनिर्मित भवनमा सरिसकेको थियो ।
त्यसका लागि उ बेलाको मोरङ (जसमा आजको सुनसरी पनि पर्थ्यो) का जग्गाधनीहरूबाट तीन वर्षसम्म मालपोतका अतिरिक्त विघाको १ रूपियाँ विघहट्टी उठाइएको थियो ।
त्यही पूँजीबाट जग्गा खरिद र भवन निर्माण सम्पन्न भयो । त्यसबेलासम्म यो कला र वाणिज्यको स्नातक तह र विज्ञानको इण्टरमिडिएट तहसम्म पठन–पाठन गराउने भब्य संस्था बनिसकेको थियो ।
यसका संस्थापक प्रिन्सिपल नारायणप्रसाद अर्जेल थिए । उनी २०१५ सालको आम निर्वाचनपछि बीपी कोइरालाको प्रधानमन्त्रित्वमा गठित सरकारसँगको सम्बन्धका आधारमा प्रिन्सिपल पद छाडी नेपाल सरकारको सेवामा सामेल हुन गए ।
त्यहीं रहेर पछि उनी नेपाल सरकारका सचिव र जापानका लागि राजदूतसम्म भए । उनी पछि कलेजका भाइस प्रिन्सिपल गोपालप्रसाद शर्मा प्रिन्सिपल भए । र,उनकै कुशल नेतृत्वमा आर्थिक कठिनाईका बाबजुद कलेजले यो उचाई प्राप्त गर्यो ।
२०२४ सालसम्म आइपुग्दा कलेजमा विज्ञानको स्नातक तह र बीएलको अध्यापन पनि शुरू भइसकेको थियो ।
स्थापनाकालका एकजना प्राध्यापक लक्ष्मण शास्त्री प्रारम्भिक अवस्थाको चित्रण गर्दै मोरङका चार दशक शीर्षकको आफ्नो आलेखमा लेख्छन्– ‘प्राध्यापकहरूले कलेज खोल्दा छ महिनासम्म तलब नलिई पढाउने कबोल गरेका थिए । सातौं महिनाको तलब ख्वाउने पैसा नहुँुदा कलेजका सञ्चालकहरूसँगै प्राध्यापकहरू पनि टंकीसिनुवारीदेखि मिल्स एरियासम्म झोली बोकेर चन्दा उठाउन हिंडे ।’
तेइस–चौबीस साल आइपुग्दा नपुग्दै मोरङका शिक्षाप्रेमीहरूले यो कलेजलाई विश्वविद्यालय बनाउने सपना बुन्न थाले ।
राजा त्रिभुवनका नाममा विश्वविद्यालय छँदै थियो ।
अतः नयाँ विश्वविद्यालय राजा महेन्द्रको नाममा खोल्ने र त्यो यही मोरङ कलेजको शैक्षिक जगमा खोल्ने सोच बनाए ।
यसका अग्रणी पूर्व प्रधानमान्त्री मातृकाप्रसाद कोइराला र भूपालमानसिंह कार्की थिए भने साथमा थिए प्रिन्सिपल गोपालप्रसाद शर्मा ।
उनीहरूले राजा महेन्द्रलाई भेटेर यो प्रस्ताव राखे । प्रारम्भिक पूँजीका लागि उनीहरूले मोरङ उच्च शिक्षा ट्रष्ट खडा गर्ने र विराटनगर भन्सारबाट निकासी हुने वस्तुमा शिक्षा शुल्क लगाउने उपाय सुझाए ।
आफ्नो नामबाट विश्वविद्यालय खोल्ने कुरामा राजा महेन्द्र सहमत नहुने कुरै थिएन ।
उनले उच्च शिक्षा ट्रष्ट खोल्ने र शुल्क उठाउने अनुमति त दिए नै साथमा पुरानो हवाईफिल्डको जग्गा मध्ये चौवीस विघा जग्गा पनि प्रस्तावित महेन्द्र विश्वविद्यालयको नाममा बक्से ।
तर त्यसबेलासम्म हामी त्यस कलेजमा पढ्ने विद्यार्थी घटनाको यो विकासबाट पूर्ण रूपले अनभिज्ञ थियौं ।
हामी त त्यसबेला चकित भयौं जब हिजोसम्म मोरङ कलेजमा पढिरहेका विद्यार्थी अर्को दिन विहान कलेज पुग्दा साइनबोर्ड फेरिएर महेन्द्र मोरङ कलेजका विद्यार्थी भइसकेका रहेछौ ।
यसको विरोधमा हामीले लगत्तै भोलि पल्ट एक दिने सांकेतिक हडताल गर्यौं ।
निरङ्कुश पञ्चायती शासनको बोलवाला भएका बेला हामीले सोझै ब्यवस्थासँग भिड्ने भन्दा पनि कलेजको नाम फेर्ने जस्तो महत्वपूर्ण विषयमा विद्यार्थीलाई विश्वासमा नलिइएको र विद्यार्थी युनियनलाई समेत अन्धकारमा राखिएको भन्ने आधार लियौं ।
सम्पूर्ण विद्यार्थीको सहयोगमा हडताल पूर्ण रूपमा सफल भयो ।
बजारमा हल्ला चल्यो– मोरङ कलेजका विद्यार्थीले राजा महेन्द्रको विरोधमा हडताल गरे । हामी दङ्ग पर्यौं ।
कलेजको नाम त फेरियो नै ।
मोरङ उच्च शिक्षा ट्रष्टबाट विराटनगरको भन्सार विन्दुमा निकासीका बस्तुमा शुल्क उठाउने काम पनि २०३० सालसम्मै चल्यो ।
यसैबीच २०२८ साल माघमा राजा महेन्द्रको मृत्यु पछि वीरेन्द्र राजा भए ।
उनले नयाँ शिक्षा योजना ल्याए ।
२०३० मा जब यो योजना उच्च शिक्षामा लागू भयो त्यसले एकल विश्वविद्यालयको अवधारणा ल्यायो ।
अर्थात मोरङ कलेजको महेन्द्र मोरङ कलेज हुँदै महेन्द्र विश्वविद्यालयसम्मको उचाई छुने सपनामा तुषरापात भयो ।
विराटनगरमा विश्वविद्यालय खुल्न पञ्चायत ढलेर बहुदल आउनु पर्यो ।
अनि मात्र हामीले पूर्वाञ्चल विश्वविद्यालय पायौं ।
बरू महेन्द्र संस्कृत विश्वविद्यालयले आफ्नो नाम फेरेर नेपाल संस्कृत विश्विद्यालय बनायो तर मोरङ कलेजले भने महेन्द्र नामको उबेला भिराइएको घाँडो चाहिं अहिले पनि बोकिरहनु परेको छ ।
अचम्म त के छ भने त्रिभुवन विश्वविद्यालयका साठी वटा आङ्गिक क्याम्पस मध्ये सात वडा त उनै महेन्द्रका नाममा रहेछन्, छवटा राजघरानाका अन्य सदस्यका नाममा रहेछन् ।
दाताका नामका चार र प्राज्ञका नाममा जम्मा दुई वटा रहेछन् ।
मोरङ कलेजको शैक्षिक उत्थानको मियो प्रिन्सिपल गोपालप्रसाद शर्मा भए पनि उनलाई सघाउने प्राध्यापकहरूको एउटा राम्रो टीम थियो ।
जसमा प्रमुख थिए भाइस प्रिन्सिपल गोविन्दप्रसाद उपाध्याय, प्राध्यापकहरू सर्वश्री विश्वराज पाण्डे, गणेशप्रसाद शर्मा, अग्निप्रसाद रिजाल र राजकुमार पोखरेल ।
२०३० सालमा यो पूरै टीममाथि पञ्चायती शासकहरूले निर्मम प्रहार गरे ।
प्रिन्सिपल गोपालप्रसाद शर्मा, प्राध्यापकहरू विश्वराज पाण्डे, गणेशप्रसाद शर्मा र अग्निप्रसाद रिजाललाई काठमाडौं उपत्यकाका विभिन्न क्याम्पसमा, भाइस प्रिन्सिपल गोविन्दप्रसाद उपाध्यायलाई वीरगञ्जको ठाकुरराम क्याम्पसमा र प्राध्यापक राजकुमार पोखरेललाई बाग्लुङ सरूवा गरियो ।
आफ्ना सहकर्मीहरू प्रति सत्ताले गरेको दुर्व्यवहार देखेपछि मोरङ कलेजको स्थापनाकाल देखिका हिन्दीका प्राध्यापक रामकृष्ण जोशी जागीर छाडेर भारत फर्के ।
अनि उपनिवेशमा भायसराय पठाए जस्तो मोरङ क्याम्पसमा हुकुम चलाउन तोरणबहादुर कार्की र विष्णुबहादुर श्रेष्ठ राजधानी काठमाडौंबाट पठाइए ।
यो अपमानजनक प्रहारको परिणाम के भयो भने प्रिन्सिपल गोपालप्रसाद शर्मा र अग्निप्रसादले राजीनामा गरे र खेतीपातीमा लागे ।
विश्वराज पाण्डे र गणेशप्रसाद शर्माले पनि राजनीनामा गरे र वकालत थाले ।
अझ पछि गणेशसर त जग्गा प्लटिङ र सामुदायिक बन लगाउन तिर लागे ।
अपमानको तितो घुड्को पिएर पनि गोविन्दप्रसाद उपाध्याय वीरगञ्ज पुगे ।
राजकुमार पोखरेल मात्र राजीनामा नदिइ बसे र २०३२ सालतिर आफ्ना पूर्व सहकर्मी जगतमोहन अधिकारी त्रिभुवन विश्वविद्यालयको रजिष्ट्रार भएको फाइदा लिएर मोरङ क्याम्पसमै सेवाको निरन्तरता गराउन सफल भए ।
२०४६ सालको जनआन्दोलन पछि विश्वराज सर पनि करारमा प्राध्यापन गर्न यो क्याम्पस आइपुगे । २०३० सालमा वीरगञ्ज धपाइएका गोविन्द सरलाई दुख दिन सोही सालको दोस्रो सिमेष्टरमा इलाम खेदियो ।
तर उपनिवेश चलाउन आएका भायसरायहरूबाट सम्हालिएन क्याम्पस । परिणामस्वरूप उनीहरू २०३२ साल हुँदा नहुँदै राजधानी फर्के र केही नलागेपछि पुनः पुराना भाइस प्रिन्सिपल गोविन्दप्रसाद उपाध्यायलाई नै नाकको चालले क्याम्पस प्रमुख बनाएर मोरङ क्याम्पसमा ल्याउनु पर्यो र बल्ल क्याम्पस सम्हालियो ।
शैक्षिक प्रशासनमा क्षमतावान भएर पनि पञ्चायती शासकहरूको कोपभाजनमा परेका प्रिन्सिपल शर्माले २०४६ को जनआन्दोलन पछि मात्र थोरै भए पनि न्याय पाए जब उनलाई गिरिजा सरकारले जर्मनीको राजदूत बनायो ।
आज सत्ताको निशानामा परेका यी प्राध्यापक मध्ये अरू सबै काल कवलित भए पनि प्रिन्सिपल गोपालप्रसाद शर्मा र प्राध्यापक विश्वराज पाण्डे जीवित छन् ।
म जस्तो त्यस कलेजको साधारण विद्यार्थीको स्मृतिमा त यति कुरा छ भने नब्बे वर्ष पार गरेका भए पनि उनीहरूको स्मृतिमा ती काला दिनहरू कसरी मेटिएका होलान् र ?
View : 205
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved