Biratnagar, Morang, Nepal
२१ साउन २०८३, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

ओलीको शर्त मान्नेगरी कोशीमा हिक्मत कार्कीकै निरन्तरता

अहिले कार्की नै मुख्यमन्त्री रहने, अध्यक्ष ओलीले भनेपछि छोड्ने सहमति भएको प्रदेश अध्यक्ष घनश्याम खतिवडाले जानकारी दिएका छन् ।
उद्‌घोष संवाददाता
२० साउन २०८३, बुधवार

Advertisement

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्की दुवै आ–आफ्नो अडानबाट एक–एक कदम पछि हट्ने गरी गुण्डु छलफलले मध्यमार्गी निकास निकालेको छ । 

केही दिनअघिसम्म कोशीका मुख्यमन्त्री कार्कीलाई तत्काल राजीनामा दिन दबाब दिइरहेका ओलीले चाहेका बेला फिर्ता हुन कार्कीलाई राजी गराएका छन् । 

ओली निवासमा बुधबार भएको छलफलपछि ओलीले कार्कीलाई निरन्तरता दिने तर आफूले चाहेका बेला फिर्ता बोलाउने गरी सहमत गराएको कोशी एमालेका अध्यक्ष घनश्याम खतिवडाले जानकारी दिएका छन् । 

अब मुख्यमन्त्री कार्कीले अध्यक्षले आवश्यक ठानेको जुनसुकै बेला पदबाट हट्ने प्रतिबद्धता जनाएका छन् ।

यससँगै केही सातादेखि कोशी एमालेभित्र चर्किएको नेतृत्व विवाद तत्कालका लागि साम्य हुने संकेत देखिएको छ । तर अध्यक्ष ओलीले ‘अब छोड’ भन्ने दिन कहिले आउला ? गुण्डु छलफमा सहभागी एमाले कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडाका अनुसार गुण्डुमा भएको छलफलमा कहिले भन्नेबारे केही तय भएको छैन । 

‘पार्टी अध्यक्षले पद छाड्नु भनेको बेला छोड्ने गरी अहिलेलाई हिक्मतजीकै नेतृत्वमा सरकारलाई निरन्तरता दिने सहमति भएको छ,’ खतिवडाले बुधबार साँझ भने, ‘अहिले सरकार उहाँकै नेतृत्वमा चल्छ । तर अध्यक्षले आवश्यक ठान्नुभएको बेला उहाँले मान्ने प्रतिबद्धता गर्नुभएको छ ।’ खतिवडाका अनुसार यो सहमति मुख्यमन्त्री कार्कीले स्वयं स्वीकार गरेका हुन् ।

‘अहिले निरन्तरता दिने र अध्यक्षले भनेका बेला आफूले मान्ने भनेर मुख्यमन्त्री स्वयंले भन्नुभएको छ,’ उनले भने ।

यो सहमतिसँगै मुख्यमन्त्री कार्कीले पछिल्ला केही सातादेखि सार्वजनिक रूपमा दोहो¥याउँदै आएको अडान त्यागेका छन् ।

अध्यक्ष ओलीले पटक–पटक मार्गप्रशस्त गर्न आग्रह गरे पनि कार्कीले त्यसलाई अस्वीकार गर्दै आएका थिए ।

व्यक्तिको आदेश होइन, पार्टीको संस्थागत निर्णय भए मात्रै पद छाड्छु भन्दै आएका कार्की अन्ततः ओलीले चाहेका बेला पद छाड्ने सहमतिमा पुगेका हुन् । 

सोमबार मात्रै विराटनगरमा सञ्चारकर्मीसँग उनले आफू संविधानको धारा १६८ को उपधारा (५) अन्तर्गत बनेको मुख्यमन्त्री भएकाले सामान्य राजनीतिक दबाबले सरकार परिवर्तन नहुने बताएका थिए ।

त्यसको भोलिपल्ट मंगलबार काठमाडौं पुगेर ओलीसँग भएको पहिलो भेटमा पनि उनले त्यही अडान दोहो¥याएका थिए । तर, बुधबारको दोस्रो चरणको छलफलपछि भने तत्काल सरकारलाई निरन्तरता दिने र अध्यक्षको भविष्यको निर्देशन मान्ने सहमतिमा उनी पुगेका छन् । 

तिलकुमार मेन्याङ्बोलाई जसरी पनि मुख्यमन्त्री बनाउने अभियानमा रहेका ओलीले अब कार्कीलाई पद छाड्न कहिले निर्देशन दिन्छन् भन्ने प्रश्न उठेको छ । 

अध्यक्षले त्यसो चाहिं कहिले भन्नुहुन्छ भन्ने प्रश्नमा प्रदेश अध्यक्ष खतिवडाले त्यसको कुनै समयसीमा नरहेको बताए । 

‘त्यो जहिले पनि हुन सक्छ । भोलि नै पनि हुनसक्छ । अर्को कुनै दिन पनि हुन सक्छ,’ उनले भने ।

यसले कार्कीको निरन्तरता सुनिश्चित गरे पनि उनको राजनीतिक भविष्य भने अझै अध्यक्ष ओलीकै निर्णयमा निर्भर रहने प्रष्ट संकेत दिएको छ ।

बुधबारको छलफलपछि गुण्डुबाट बाहिरिएका मुख्यमन्त्री कार्कीले भने विस्तृत टिप्पणी गर्न चाहेनन् । 

‘अध्यक्षज्यूसँग राम्रो कुराकानी भएको छ । भोलिसम्ममा टुंगो लाग्छ,’  उनले संक्षिप्त प्रतिक्रिया मात्रै दिए । उनलाई मंगलबारकै अडान दोहोर्याउनुभएको हो भन्ने प्रश्न सोधिएको थियो । तर उनले त्यसमा प्रतिक्रिया दिएनन् ।

एमालेभित्र पछिल्ला केही सातादेखि अध्यक्ष ओलीले संसदीय दलका उपनेता मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउने तयारी गरिरहेका थिए । त्यसका लागि पार्टी सचिव शेरधन राईलाई विराटनगर पठाइएको थियो ।

संसदीय दलभित्र हस्ताक्षर अभियान चलेको चर्चा पनि भयो । तर कार्कीले राजीनामा दिन मानेका थिएनन् । 

पार्टीभित्रै पनि तत्काल नेतृत्व परिवर्तनको पक्षमा स्पष्ट बहुमत देखिएन । सरकार संविधानको धारा १६८(५) अन्तर्गत बनेकाले नेतृत्व परिवर्तनका संवैधानिक र राजनीतिक जोखिमबारे समेत नेताहरू विभाजित देखिएका थिए ।

यही अवस्थापछि विवाद समाधान गर्न कार्कीसहित प्रदेश नेतृत्वलाई काठमाडौं बोलाइएको थियो । 

एमालेका एक नेताका अनुसार बुधबार बिहानसम्म अध्यक्ष ओली तत्काल राजीनामाकै पक्षमा थिए । तर कार्कीसहितका नेताहरूले अहिले सरकार परिवर्तन गर्नु उपयुक्त नहुने अडान नछाडेपछि अन्ततः मध्यमार्गी बाटो निकालिएको हो ।

एमाले नेताहरुका अनुसार गुण्डु सहमतिको अर्थ कोशी सरकारको नेतृत्व अहिले कार्कीकै हातमा रहनेछ । 

तर त्यो निरन्तरता उनको आफ्नै राजनीतिक बलमा भन्दा पनि अध्यक्ष ओलीको अर्को निर्णय नआउँदासम्मका लागि मात्रै हुनेछ ।

View : 81

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved