दक्षिण कोरिया । दक्षिण कोरियाको अदालतले पूर्वराष्ट्रपति युन सुक–योलकी पत्नी किम केन–हीलाई भ्रष्टाचार र पदको दुरुपयोग गरेको अभियोगमा सात वर्षको जेल सजाय सुनाएको छ ।
सोल केन्द्रिय जिल्ला अदालतले शुक्रबार उक्त फैसला सुनाउँदै किमले सर्वसाधारणका लागि अप्राप्य विलासी वस्तुहरू पदीय प्रभावको आधारमा निःसंकोच ग्रहण गरेको उल्लेख गरेको छ ।
पूर्वराष्ट्रपतिको परिवार संलग्न भ्रष्टाचार प्रकरणको अनुसन्धानका लागि गठित स्वतन्त्र काउन्सिल मिन जुङ–कीको टोलीले सरकारी पदहरूको किनबेच गरी महँगा गहना र विलासी सामग्री लिएको भन्दै किमका लागि साढे सात वर्षको जेल सजाय माग गरेको थियो ।
अदालतको फैसलाअनुसार किमले सन् २०२२ को मार्चदेखि मे महिनाको बीचमा एक व्यवसायीका ज्वाइँलाई सरकारी पदमा नियुक्ति दिलाएबापत घाँटीको हार, ब्रोच र टप (कानमा लगाउने गहना) उपहार स्वरूप लिएकी थिइन् ।
यसैगरी, सन् २०२२ को अप्रिलमा राष्ट्रिय शिक्षा आयोगका पूर्वप्रमुखबाट नियुक्ति प्रक्रियामा सहयोग गर्ने सर्तमा सुनको कछुवा र सोही वर्षको सेप्टेम्बरमा एक रोबोट डग व्यवसायीबाट व्यावसायिक लाभ दिलाएबापत घडी लिएको अभियोग उनीमाथि पुष्टि भएको छ ।
अन्य अभियोगहरूमा सन् २०२२ को जुन र सेप्टेम्बरको बीचमा एक पादरीबाट डिजाइनर ब्याग र सन् २०२३ को फेब्रुअरीमा एक पूर्वसरकारी वकिलबाट राजनीतिक मनोनयनका लागि चित्रकला (पेन्टिङ) लिएको विषयहरू समावेश छन् ।
सन् २०२५ को अगस्टमा हिरासतमा लिइएकी किम दक्षिण कोरियाको इतिहासमा हिरासतमा राखेर मुद्दा चलाइएकी पहिलो पूर्वप्रथम महिला हुन् ।
यसअघि गत अप्रिलमा सोल उच्च अदालतले तल्लो अदालतको २० महिनाको जेल सजायलाई उल्ट्याउँदै सेयर मूल्य हेरफेर र भ्रष्टाचारको मुद्दामा उनको सजाय चार वर्ष पुर्याएको थियो ।
यसबाहेक, सन् २०२३ को पार्टी महाधिवेशनका क्रममा एक विशिष्ट उम्मेदवारलाई जिताउन युनिफिकेसन चर्चका सदस्यहरूलाई सत्तारुढ पिपुल्स पावर पार्टीमा आवद्ध गराउन दबाब दिएको अभियोगमा पनि उनीमाथि अनुसन्धान भइरहेको छ ।
किमको प्रतिरक्षा टोलीले जिल्ला अदालतको पछिल्लो फैसला विरुद्ध पुनरावेदन गर्ने तयारी गरेको छ । न्यूज एजेन्सी नेपाल
View : 23
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved