Biratnagar, Morang, Nepal
१९ वैशाख २०८२, शुक्रवार
+977 21 450305, 515728, 578305
कोशी

कोशी प्रदेशको लगानी सम्मेलन आजदेखि, प्रधानमन्त्रीले उद्घाटन गर्ने

उद्‌घोष सम्वाददाता
१८ वैशाख २०८२, बिहिवार

विराटनगर । कोशी प्रदेश सरकारले पहिलो लगानी सम्मेलनको आयोजना गरेको छ । विराटनगरको वीरेन्द्र सभागृहमा सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने तालिका छ । 

उद्घाटनका लागि प्रधानमन्त्री ओली बिहीबार विहान ११ बजे विराटनगर आइपुग्ने जनाइएको छ । लगानी सम्मेलनका लागि आवश्यक सबै तयारी पूरा भएको प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डा सरोज कोइरालाले जानकारी दिए । 

दुईदिन आयोजना हुने लगानी सम्मेलनकै पूर्वसन्ध्यामा बुधबार ‘प्रि इन्भेष्मेन्ट मिट’ को आयोजना गरिएको छ । उक्त अवसरमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लगानीमैत्री वातावरण निर्माणका लागि प्रदेश सरकारले आठ वटा कानुनहरू अध्यादेशमार्फत संशोधन गरिएको जानकारी दिए । 

उनले लगानी सम्मेलनका माध्यमबाट प्रदेशको समृद्धिमा टेवा पुग्ने बताए । साथै सम्मेलन सम्पन्न भएपश्चात सरकारकै नेतृत्वमा आवधिक रूपमा फलोअप बैठक गरिने जानकारी दिए । प्रदेश सरकारले धेरै भन्दा धेरै प्रतिबद्धता भएका परियोजनालाई सफल बनाउन सबै खालको सहयोग गर्ने बताए ।

‘प्रि इन्भेष्मेन्ट मिट’ मा सहभागी उद्योगी तथा व्यवसायीहरूले भने जलविद्युत र पर्यटनजस्ता क्षेत्र लगानीका लागि आकर्षक रहेको बताए । यी क्षेत्रमा सरकारले कर प्रणालीमा सहजीकरण गर्नुपर्ने उनीहरूले आग्रह गरेका थिए ।

प्रदेश सरकारले पर्यटन, कृषि, उद्योग, पूर्वाधार, स्वास्थ्य लगायतका क्षेत्रका ७१ वटा परियोजना ‘सोकेसिङ’ गरेको छ । यी परियोजनाका लागि १ खर्ब ७३ अर्ब ४९ करोड रूपैयाँ लगानी आवश्यक पर्ने अनुमान गरिएको छ ।

लगानी सम्मेलनमा चीन, रूस, अमेरिका, दक्षिण कोरिया, भारतलगायत देशका लगानीकर्ता तथा गैरआवासीय नेपालीहरूको उपस्थिति रहने जनाइएको छ । साथै स्वदेशका प्रतिष्ठित उद्योगपतिहरूको समेत सहभागिता रहने जनाइएको छ । 

सम्मेलनमा कृषि र पर्यटनको सम्भावना, औद्योगिक उत्पादन र बजारीकरण, पूर्वाधार विकास र ऊर्जा, स्वास्थ्य सेवा र मेडिकल शिक्षामा लगानीका अवसरबारे विषयगत छलफलहरू सञ्चालन हुने पनि जनाइएको छ ।

View : 115

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved