Biratnagar, Morang, Nepal
२० वैशाख २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

केन्द्रको पुरातन सोचले संघीयता कार्यन्वयनमा समस्या : मुख्यमन्त्री कार्की

उद्‌घोष सम्वाददाता
२५ फागुन २०८१, आइतवार

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले केन्द्रमा देखिएको पुरातन सोचका कारण संघीयताको कार्यान्वयनमा समस्या भएको बताएका छन् । 

मुख्य न्यायाधिवक्ताको कार्यालय स्थापना भएको सातौं वर्ष पुगेको अवसरमा आइतबार विराटनगरमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले न्याय, सुरक्षा र राजनीतिक क्षेत्रमा पुरातन र सामन्ती सोच देखिएकाले संघीयताको सबल कार्यान्वयन हुन नसकेको बताए । त्यस्तो सोच केन्द्रमै रहेको बताउँदै मुख्यमन्त्री कार्कीले संघीयता हात्ती छिर्यो पुच्छर अड्के जस्तो भएको टिप्पणी गरे ।

‘कतिपय अवस्थामा आफ्नै सम्पत्ति निःशुल्क दिए जस्तो प्रवृत्ति देखिन्छ’ मुख्यमन्त्री कार्कीले भने, ‘दिन सकिने र गर्न सकिने काम पनि केन्द्रीकृत मानसिकताबाट गर्न नदिने प्रवृत्ति छ ।’

उनले यस्तो परिस्थिति देखेर प्रदेशले आफुसँग रहेको स्रोत साधनलाई अधिकतम् उपयोग गरेर नमूना काम गर्ने प्रयत्न गरिरहेको बताए । 

‘अब हामी आफ्नै प्रयत्नमा उत्पादन र स्वरोजगारमूलक बजेट बनाएर काम गर्ने तयारीमा छौं’ उनले भने, ‘यसका लागि बेलैदेखि तयारी गरेर बजेट ल्याउने प्रयत्न गरेका छौं ।’

मुख्य न्यायाधिवक्ताको कार्यालय स्थापना भएको अवसरमा संघीयता कार्यान्वयनका विषयमा देखिएका कानुनी जटिलताका विषयलाई लिएर छलफल आयोजना गरिएको हो । 

वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले कर्मचारीतन्त्रबाट कानुन निर्माण गर्ने भन्दा पनि सांसदहरूले नै कानुन निर्माण गर्ने प्रक्रिया थालनी गर्नुपर्नेमा जोड दिए । उनले भने ‘अहिलेको कानुन निर्माण कर्मचारी तन्त्रबाट सुरु हुन्छ, अबको नयाँ युगमा संसदहरूले कानुन निर्माण गर्ने र कर्मचारीलाई पछाडि केही तलमाथि मिलाउन दिनुपर्छ, यसो गरियो भने मात्रै जनताले अपनत्व लिने कानुन बन्छ ।’ 

डा. सोमलाल सुवेदीले संविधान सैद्धान्तिक र कस्मेटिक मात्रै भएको चर्चा गर्दै व्यवहारिक संविधान बनाउन नसकेको बताए । उनले संविधानका धेरै विषय र अनुसूचीलाई परिवर्तन गरेर संविधानलाई कार्यान्वयन र व्यवहारिक बनाउनुपर्ने बताएका थिए ।

View : 174

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved