विराटनगर । विराटनगर र बुढीगंगाका विभिन्न घर, पसल र पार्टी प्यालेस जस्ता ठाउँहरूबाट गरगहना, नगद, मोवाइल, भाडाकुँडा तथा अन्य जिन्सी सामानहरू चोरी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–२ बस्ने २७ वर्षीय सुमन तोलाङ्गी छन् । जिल्ला प्रहरी कार्यालय मोरङले गत फागुन २९ गते विराटनगर–३ बरगाछीस्थित साजन पार्टी प्यालेस र बैशाख १० गते बुढीगंगा गाउँपालिका–१ बस्ने नवराज भट्टराईको घरबाट नगद, गरगहना तथा अन्य जिन्सी समान चोरीमा उनको संलग्नता रहेको बताएको छ ।
साजन पार्टी प्यालेसको अफिसको कोठामा राखेको सुनको तीन तोलाको गहना र नगद दुई लाख रुपैयाँ चोरी भएको निवेदन प्रहरीमा परेको थियो ।
त्यस्तै बुढीगंगा–१ स्थित नवराज भट्टराईको घरबाट पनि नगद, गरगहनालगायतका समान चोरी भएको निवेदन परेको थियो ।
पीडितहरूले दिएको निवेदनको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले घटनास्थलको सिसी टिभी फुटेजको आधार तोलाङ्गीलाई शुक्रबार पक्राउ गरिएको जनाएको छ ।
विराटनगरको रंगशाला एरियाबाट पक्राउ परेका तोलाङगीको घर तलासी गर्दा नवराज भट्टराईको घरबाट चोरी गरेका औंठी राख्ने बट्टा ३ थान, सिक्री राख्ने बट्टा १ थान, पोते राख्ने बट्टा १ थान फेला परेको प्रहरीको भनाइ छ ।
अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान भैरहेको मोरङ प्रहरीले जनाएको छ ।
View : 52
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved