Biratnagar, Morang, Nepal
१ जेठ २०८२, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

उमागौरी सहकारी ठगी प्रकरण : उच्च अदालतद्वारा ६ प्रतिवादीको मिसिल झिकाइयो

उद्‌घोष सम्वाददाता
१ जेठ २०८२, बिहिवार

विराटनगर । उमागौरी कृषि सहकारीको २२ करोडभन्दा बढी रकम हिनामिना प्रकरणमा उच्च अदालत विराटनगरले मुद्दाको सक्कल मिसिल झिकाउन आदेश दिएको छ । 

उच्च अदालतका कामु मुख्य न्यायाधीश ध्रुवराज नन्दको इजलासले बिहीबार उक्त आदेश दिंदै आउँदो बिहीबारका लागि पेसी तोकेको रजिष्ट्रार जगदीशप्रसाद भट्टले जानकारी दिए ।

यसअघि, जिल्ला अदालत मोरङको आदेशविरुद्ध सरकारी वकिल कार्यालयले दिएको निवेदनमा उच्च अदालतका दुई न्यायाधीशबीच राय बाझिएको थियो । 

जसका कारण अन्जला कोइराला लगायतका प्रतिवादीलाई थुनामा राख्ने माग अनिर्णीत बनेपछि बिहीबारका लागि पेशी तोकिएको थियो । पेशीअघि अदालतले जिल्लाबाट मिसिल झिकाउने आदेश दिएको जनाइएको छ ।

उमागौरी कृषि सहकारी संस्था लिमिटेडको २२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ हिनामिना भएको अभियोगमा २६ जनाविरुद्ध मुद्दा दायर छ । यो मुद्दामा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला भने लामो समय फरार रहेर गत पुस २४ मा जिल्ला अदालत मोरङमा हाजिर भएकी थिइन् । 

अदालतले उनलाई सोही दिन १० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो । अन्य पाँच जना प्रतिवादी पनि जनही पाँच लाख रुपैयाँ धरौटीमा छुटिसकेका छन् ।

तर, जिल्ला अदालतको उक्त आदेशलाई बेरितको भन्दै सरकारी वकिल कार्यालयले कोइरालासहित रंगेली नगरपालिका–२ का वडाध्यक्ष सन्तलाल खवास, ज्योति बास्कोटा, लक्ष्मीदेवी कार्की राजवंशी, सुमन लोहनी र सहकारीका पूर्वसञ्चालक मनोजकुमार सोनीलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न माग गर्दै उच्च अदालतमा निवेदन दिएको हो । सोही निवेदनका आधारमा अदालतले सुनुवाई गर्दै मिसिल झिकाउने आदेश दिएको जनाइएको छ ।

एउटै प्रकृतिको मुद्दामा समान भूमिका रहेका आरोपीमध्ये कोही थुनामा जाने र कोही धरौटीमा छुट्ने जिल्ला अदालतको आदेश त्रुटिपूर्ण रहेको सरकारी वकिल कार्यालयको जिकिर छ ।

उमागौरीका अध्यक्ष शम्भुप्रसाद रौनियार र धनपालथान गाउँपालिका–४ का पूर्ववडाध्यक्ष रोशन राजवंशी भने जिल्ला अदालतको आदेशअनुसार नै पुर्पक्षका लागि कारागार चलान भएका थिए ।

View : 52

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved