विराटनगर । संखुवासभाको ऐतिहासिक चैनपुर बजारबाट विराटनगर आई बसोबास गरिरहेका चैनपुरेहरूको साझा संस्था ‘चैनपुर समाज विराटनगर’ को १४ औं वार्षिक साधारणसभाले सुरेशकुमार श्रेष्ठलाई पुनः अध्यक्षमा निर्वाचित गरेको छ।
सभाले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ समिति निर्विरोध चयन गरेको हो।
नवगठित समितिको उपाध्यक्षमा मोहनप्रसाद श्रेष्ठ, सचिवमा श्यामकुमार श्रेष्ठ र कोषाध्यक्षमा सुन्दरकुमार कर्माचार्य छन्। यस्तै, सदस्यहरूमा दिनेशकुमार जोशी, शरद श्रेष्ठ, दिलकुमार जोशी, नवीन श्रेष्ठ, ज्ञानी श्रेष्ठ, मिनु श्रेष्ठ र संगीता श्रेष्ठ छन्।
राधेश्यामप्रसाद श्रेष्ठको संयोजकत्वमा सरिता श्रेष्ठ कसजू र सञ्जय श्रेष्ठ सदस्य रहेको तीन सदस्यीय निर्वाचन समितिले नयाँ कार्यसमितिको घोषणा गरेको थियो।
साधारणसभाको अवसरमा समाजले आफ्नो परम्परालाई निरन्तरता दिँदै ७० वर्ष उमेर पुगेका आठ जना आजीवन सदस्यहरूलाई विशेष सम्मानसमेत गरेको छ।
कार्यक्रममा अतिथिहरू विराटनगर–११ का वडाध्यक्ष तीर्थेन्द्र न्यौपाने र वडा नं. ८ का अध्यक्ष राम पोखरेलले समाजको सेवाभावको उच्च प्रशंसा गरे । आफ्नो जन्मथलो पनि चैनपुर नै भएको स्मरण गर्दै दुवै वडाध्यक्षहरूले कार्यक्रमकै बीच समाजको आजीवन सदस्य बन्ने घोषणा गरे।
वडाध्यक्ष पोखरेलले समाजको कार्यक्षेत्र विस्तारका लागि विराटनगरका सबै वडामा सम्पर्क व्यक्ति तोक्नुपर्ने सुझाव दिए भने वडाध्यक्ष न्यौपानेले समाजका रचनात्मक कार्यमा सधैँ सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
समाजका अध्यक्ष सुरेशकुमार श्रेष्ठले चैनपुरेहरूलाई गोलबद्ध गर्दै आपसी सहयोग र जन्मथलोको सामाजिक, सांस्कृतिक तथा पर्यटकीय विकासमा योगदान पुर्याउनु नै संस्थाको मूल ध्येय रहेको प्रष्ट पारे।
उनले हाल समाजले आजीवन सदस्यको परिवारमा हुने मृत्युका समयमा दाहसंस्कारका लागि घाटमै पुगेर सम्पूर्ण आर्थिक सहयोग उपलब्ध गराइरहेको जानकारी दिँदै संस्थालाई आगामी दिनमा अझै प्रभावकारी र क्रियाशील बनाउने अठोट व्यक्त गरे ।
सचिव श्यामकुमार श्रेष्ठले सञ्चालन गरेकाे सो सभामा सदस्य मोहनप्रसाद श्रेष्ठले स्वागत मन्तव्य राख्दै समाजमा थप सदस्यहरूको सहभागिता बढाउँदै लगिने जानकारी दिए ।
View : 342
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved