Biratnagar, Morang, Nepal
७ जेठ २०८१, सोमवार
+977 21 450305, 515728, 578305
अन्तर्राष्ट्रिय

राजीनामा दिएकै दिन गठबन्धन फेरेर नीतिश कुमार फेरि बिहारको मुख्यमन्त्री

उद्घोष सम्वाददाता
१५ माघ २०८०, सोमवार

विराटनगर । भारतको बिहार राज्यमा नीतिश कुमार नवौं पटक मुख्यमन्त्री नियुक्त भएका छन् । उनले आइतबार बिहान मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए तर केन्द्रको सत्ताधारी भारतीय जनता पार्टीसँग गठबन्धन गरेर उनले आइतवारै पुनः मुख्यमन्त्रीको शपथग्रहण गरेका हुन् । भारतमा यसै वर्ष आम निर्वाचन हुँदैछ र त्यस क्रममा त्यहाँ चुनावअघि अनेक दाउपेचहरू भइरहेको छ । 

सत्ताधारी भारतीय जनता पार्टीसँग मुख्य प्रतिस्पर्धामा रहेको भनिएको विपक्षीहरूको गठबन्धनको एउटा महत्त्वपूर्ण दलको नेतृत्व गर्ने नीतिश कुमारको राजीनामा र पुनः नियुक्तिलाई पनि त्यसैको एउटा सिलसिलाका रूपमा हेरिएको छ । नीतिश कुमारले आइतबार बिहान बिहारको राजभवनमा राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकरलाई भेटेर राजीनामापत्र बुझाएका थिए ।

त्यसपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टीको रायका आधारमा लालुप्रसाद यादवको राष्ट्रिय जनता दलसँगको गठबन्धनबाट अलग हुने निर्णय गरेको बताएका थिए । नीतिश कुमारले नवौं पटक बिहारको मुख्यमन्त्रीको शपथ लिएसँगै उनीसहित कुल नौ जना मन्त्रीले शपथग्रहण गरेका छन् । त्यसमा तीन जना भाजपा, मुख्यमन्त्रीसहित नीतिश कुमारको दलका चार जना छन् भने एकजना हिन्दुस्तानी अवाम मोर्चा र एकजना स्वतन्त्र विधायक मन्त्री बनेका छन् । त्यहाँ दुई जना उप–मुख्यमन्त्री नियुक्त भएका छन् ।

नीतिश कुमारले के भने ?

उनले भने, ‘आज मैले पदबाट राजीनामा दिएको छु । हामीले पार्टीको र जनताको कुरा सुनेर सरकार अन्त्य गर्ने घोषणा गर्‍यौं । हामी गठबन्धनबाट अलग भयौं ।’

नीतिश कुमारलाई राजीनामाको कारण सोध्दा उनले भने, ‘यो सरकार राम्रोसँग चलिरहेको थिएन । केही समस्या थियो । हामीले हेरिरहेका थियौं, पार्टीभित्र र बाहिरबाट पनि राय आइरहेका थिए । सबै कुरा सुनेपछि राजीनामा दिएर सरकार भंग गर्‍यौं । हामीले अघिल्लो गठबन्धन छोडेर बनाएको नयाँ गठबन्धनमा आएको डेढ वर्ष बितिसक्दा पनि अवस्था ठीक देखिएन ।’ 

बिहारका राज्यपालको कार्यालयले उनको राजीनामाको पुष्टि गर्दै सामाजिक सञ्जालमा पोस्ट गरेको छ । त्यसमा लेखिएको छ, ‘माननीय राज्यपालले माननीय मुख्यमन्त्री नीतिश कुमारको राजीनामा स्वीकृत गर्नुभयो र वैकल्पिक व्यवस्था नभएसम्म कार्यवाहक मुख्यमन्त्रीको रूपमा काम गर्न उहाँलाई नै तोक्नु भयो ।’

फेरि भाजपासँग गठबन्धन ?

उनले डेढ वर्ष अघिको गठबन्धन छोडेको बताए । नयाँ गठबन्धन र भावी सरकारबारे केन्द्रको सत्ताधारी भारतीय जनता पार्टी नेतृत्वको एनडीए गठबन्धनको बैठकबाट निर्णय हुने पनि बताए । गत सातादेखि नै नीतिश कुमारले आरजेडीसंँगको गठबन्धन तोडेर फेरि भाजपासँंग गठबन्धन गर्न सक्ने अनुमान गरिएको थियो ।

अन्तिम घडीसम्म नीतिशले यसबारे आधिकारिक रूपमा केही भनेनन् तर बिहारको राजनीतिमा उनको ’ट्रयाक रेकर्ड’ नै हरेक खालका अनुमानलाई सही र सम्भाव्य मान्न सकिने खालको छ र अहिले पनि त्यस्तै भयो । यसअघि बिहारमा जारी राजनीतिक गतिविधिका बीच राजधानी पटनामा उनको पार्टी जनता दल (युनाइटेड)को बैठक बसेको थियो । त्यसपछि नीतिश कुमार राजभवन गए । आइतबारै राष्ट्रिय जनता दलले पत्रिकामा विज्ञापन छपाउँदै धन्यवाद ज्ञापन गरेको छ ।

त्यसमा तेजस्वी यादवलाई बिहारमा चार लाख रोजगारी सिर्जना गरेकोमा र बाँकी कामका लागि धन्यवाद दिइएको छ । नीतिश कुमार लालुप्रसाद यादवको राष्ट्रिय जनता दलको समर्थनमा मुख्यमन्त्री भएका थिए ।

सन् २०२२ को अगस्टमा नीतिश कुमारले भारतीय जनता पार्टीको नेतृत्वमा रहेको एनडीएसँग सम्बन्ध तोडेर नयाँ सरकार गठन गरेका थिए । उनले आइतबार लालुप्रसाद यादवसँगको सम्बन्ध तोडेर पुनः भाजपा नेतृत्वको पुरानै गठबन्धनमा फर्किएका छन् ।

नीतिश कुमारको राजनीति

सन् २०२२ मा नीतिश कुमारले भाजपासँगको गठबन्धन तोडेर आरजेडीमा सामेल हुनु उनको पहिलो त्यस्तो कदम थिएन । त्यसलै त्यस बेला पनि त्यो निर्णयबारे धेरैले आश्चर्य मानेनन् ।

पछिल्ला केही दिनदेखि बिहारको राजधानी पटनाबाट आइरहेका खबरहरू अनुसार विपक्षी दलहरूको ‘इन्डिया गठबन्धन’लाई एकताबद्ध बनाउन खोजेका नीतिशकुमार आफैं गठबन्धन छाड्न लागेका छन् भने संकेत पाइएको थियो । त्यसका लागि उनी विकल्प तयार पार्ने कोसिसमा थिए । उनको दल ‘इन्डिया गठबन्धन’ले सीट बाँडफाँटमा गरेको ढिलाइप्रति खुसी नभएको देखिएको थियो ।

पुरानो गठबन्धनमा मनमुटाव रहेको प्रारम्भिक संकेतपछि शनिबार दिउँसो उनको दल र लालुप्रसाद यादवको दलबीच मनमुटाव रहेको र नीतिश कुमारले फरक बाटो लिने लगभग स्पष्ट भएको थियो । नीतिश कुमारले आफ्नो राजनीतिक जीवनमा यू–टर्न लिएर आफनै स्वार्थको राजनीति गर्ने कुरालाई सामान्य रूपमा अपनाएको बारम्बार देखिने गरेको छ । बीबीसी

View : 70

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved