Biratnagar, Morang, Nepal
२५ फागुन २०८२, सोमवार
+977 21 450305, 515728, 578305
कोशी

साढे तीन हजार फरार व्यक्ति पक्राउ पर्दा १४ करोड ७७ लाख जरिवाना असुल

उद्‌घोष संवाददाता
११ साउन २०८२, आइतवार

विराटनगर । कोशी प्रदेशमा प्रहरीले विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भएर फरार भएका साढे तीन हजार बढी व्यक्तिहरू पक्राउ गरी उनीहरूबाट १४ करोड ७७ लाख रुपैयाँ जरिवाना असुल गरेको छ । 

कोशी प्रदेशका १४ वटा जिल्लाका प्रहरी कार्यालय र प्रदेश प्रहरी कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा तीन हजार ५१३ जना फरार प्रतिवादी पक्राउ गरेको जनाइएको छ ।

पक्राउ परेका प्रतिवादीहरूबाट अदालतले संलग्न मुद्दामा फैसला हुँदा तोकेको जरिवाना रकम असुल गरेको हो । नेपाल प्रहरीको कोशी प्रदेशका १४ जिल्लाका प्रहरी कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा एक हजार ४१६ जना फरार प्रतिवादीलाई पक्राउ गरेका थियो । त्यस्तै प्रादेशिक अनुसन्धान समूहले १५ जनालाई पक्राउ गर्न सफल भएको थियो । 

सबैभन्दा धेरै जिल्ला प्रहरी कार्यालय मोरङले एक हजार १५६ जना फरार प्रतिवादीलाई पक्राउ गरेर फैसला कार्यन्वयनका लागि अदालतमा बुझाएको जनाएको छ । पक्राउ परेका कारण अदालतको फैसलाअनुसार एक करोड ५६ लाख ८७ हजार ९९३ रुपैयाँ जरिवाना असुल गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक नारायण चिमरियाले जानकारी दिए ।

आव २०८१/८२ मा सुनसरी प्रहरीले एक हजार  दुई जना, झापाले ५३४, उदयपुरले २६०, इलामले १४६, ओखलढुंगाले ६९, धनकुटाले ५७, पाँचथरले ४२, ताप्लेजुङले ४८, तेह्रथुमले ४५, भोजपुरले ४४, संखुवासभाले २८, सोलुखुम्वुले १४ र खोटाङले ५३ जनालाई पक्राउ गरेको जनाइएको छ ।

‘अपराध गरेपछि लुकेर या भागेर धर पाइदैन, ढिलो होस् या चाँडो जसरी जहिले भए पनि प्रहरीले अपराध गर्ने व्यक्तिलाई पक्राउ गरेरै छाड्छ’ भन्ने विश्वास दिलाउन सफल भएको कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दिपक पोखरेलले बताए । 

एक आर्थिक वर्षका पक्राउ परेका व्यक्तिहरूले अपराध गरेवापत अदालतबाट तोकिएको एक हजार ४१६ वर्ष कैद सजाय समेत भुक्तान गर्नेछन् । 

कोशी प्रदेशमा प्रहरीले अपराधपछि फरार भएर बसेको ४५ वर्षपछि समेत पक्राउ गर्न सफल भएको छ । जिल्ला प्रहरी कार्यालय इलामले कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी सन्दकपुर गाउँपालिका–५ का तीलबहादुर गुरुङलाई ४५ बर्षपछि पक्राउ गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय भोजपुरले कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पौवादुम्मा गाउँपालिका–६ का ४६ वर्षीय शान्तकुमार राईलाई २४ वर्षपछि पक्राउ गर्न सफल भएको थियो ।

संखुवासभा प्रहरीले कर्तव्य ज्यान मुद्दामै २१ वर्षदेखि फरार रहेका चैनपुर नगरपालिका–९ का शम्सेरबहादुर तामाङलाई पनि पक्राउ गरेको थियो ।

View : 498

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved