Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

लेखापढी व्यवसायीमाथि हस्तक्षेप रोक्न माग

उद्‌घोष संवाददाता
२५ चैत २०८२, बुधवार

लेखापढी व्यवसायीले भू–सेवा केन्द्रबाट हुने कामकाज बन्द गरेपछि सुनसान बनेको मालपोत कार्यालय विराटनगर । तस्वीर : उद्घोष

विराटनगर । लेखापढी व्यवसायीमाथि बढ्दो प्रशासनिक हस्तक्षेप भएको भन्दै विरोध भएको छ । त्यस्तो हस्तक्षेप र धरपकड रोक्न माग गर्दै नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएशन इकाई समिति विराटनगरले भू–सेवाको काम रोक्दा मालपोत कार्यालय विराटनगरको कामकाज ठप्प बनेको छ ।

व्यवसायीहरूले आफूहरूमाथि बिचौलियाको आरोप लगाएर सरकारले धरपकड गरेको गुनासो गरे । उनीहरूले पेशागत सुरक्षाको सुनिश्चित गर्न माग गरे ।

एशोसिएशनका सचिव तोयानाथ काफ्लेले मंगलबार विज्ञप्ति जारी गर्दै लेखापढी व्यवसायीको हकहित संरक्षणका लागि आवश्यक परे अन्य आन्दोलन समेत गर्ने चेतावनी दिए । 

लेखापढी कानुन व्यवसायी परिषद् ऐन २०२५ (संशोधन २०५०) तथा नियमावली २०५१ र भू–सेवा ऐन २०७६ बमोजिम राज्यको न्यायिक तथा अर्धन्यायिक निकायबाट अनुमति प्राप्त गरी पेशा व्यवसाय सञ्चालन गर्दै आइरहेकोमा प्रशासनिक हस्तक्षेप गरी अनेकौं आक्षेप थुपरिएको भन्दै भू–सेवा केन्द्र बन्द गरिएको सचिव काफ्लेले बताए ।

उनले राज्यका नीति–नियमभित्रै रहेर सेवा दिंदै आएको र न्यायिक तथा अर्धन्यायिक निकायमा देखिने विकृतिविरुद्ध पटक–पटक आफूहरूले नै आवाज उठाउँदै आएकोमा राज्यले धरपकड गर्नु उचित नभएको बताए ।

यस्तो कदमप्रति एशोसिएशनले आपत्ति जनाउँदै धरपकड तत्काल बन्द गरी व्यवसायीको अधिकार र सुरक्षाको ग्यारेन्टी गर्न माग गरिएको जनाइएको छ । 

धरपकड तत्काल बन्द गरी पेशागत सुरक्षाको ग्यारेन्टी नगरेसम्म लेखापढी व्यवसायीद्वारा सञ्चालित भू–सेवा केन्द्र संचालन नगर्ने एशोसिएशनले जनाएको छ ।

View : 156

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved