Biratnagar, Morang, Nepal
२४ भदौ २०८३, बुधवार
+977 21 450305, 515728, 578305
विचार

त्रिवि उपकुलपति प्राडा भाेला थापाको विराटनगर मन्तव्यको सन्देश

२३ भदौ २०८३, मङ्गलवार

Advertisement

त्रिभुवन विश्वविद्यालय (त्रिवि) का उपकुलपति प्राडा भोला थापाको कोशी प्रदेशको राजधानी विराटनगर  भ्रमण त्रिविको शैक्षिक तथा प्रशासनिक दृष्टिले महत्वपूर्ण हुने अपेक्षा छ ।

उहाँले शनिबार (भदौ २० गते) का दिन महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस, विराटनगरको भेटघाटमा आफ्नो मन्तव्य राख्दै, विश्वविद्यालयको वर्तमान अवस्था, प्राध्यापकको भूमिका र आगामी योजनाबारे महत्वपूर्ण धारणा राख्नुका साथै आफूलाई त्रिविका सबै क्याम्पसका उपकुलपतिका रूपमा प्रस्तुत गर्नुभयो  । 


अप्रत्याशित भ्रमण, खुला मनसाय  

 आफ्नो मन्तव्यको सुरुमै प्राडा थापाले उहाँको भ्रमण अचानक भएको र कयौं क्याम्पसलाई पूर्वसूचना समेत नदिइएको स्पष्ट पार्नुभयो ।

 उहाँले भन्नुभयो, ‘मैले कुनै एजेन्डा लिएर आएको छैन, आउनु पूर्व नै तपाईंहरूको एजेन्डा पनि सोधेको छैन ।’

यो भनाइले उहाँको खुला मनसाय र सहज संवादको चाहनालाई दर्शाउँछ ।

 

उहाँले प्राध्यापक, कर्मचारी, विद्यार्थी र क्याम्पस प्रमुखहरूलाई यस भ्रमणलाई अन्यथा नबुझी  दिन आग्रह समेत गर्नुभयो । 


त्रिविको ठूलो आकार र प्रभावकारी व्यवस्थापनको प्रश्न


प्राडा थापाले त्रिभुवन विश्वविद्यालयको आकारलाई विद्यार्थी संख्या र संरचनाको आधारमा विशाल रहेको भन्दै त्यसको प्रभावकारी व्यवस्थापनबारे एउटा गम्भीर चासो पनि उठाउनुभयो ।

विद्यार्थी संख्या धेरै हुँदा कुनै विश्वविद्यालय र क्याम्पसलाई पर्ने प्रभाव र दबाब पनि ठूलो हुन्छ । त्यसको व्यवस्थापन पनि प्रभावकारी बन्यो कि बनेन भन्ने प्रश्न पक्कै उठ्छ  ।

 

जीवित संस्थामा, एउटा परिवारमा समस्या हुन्छन भन्दै उहाँले समस्या पनि हाम्रै प्रयासले समाधान गर्नुपर्ने बताउनु भयो ।

उहाँको कथनले त्रिवि व्यवस्थापनमा देखिएका चुनौतीहरूलाई स्वीकार गर्दै, तिनको समाधानतर्फ सोच्नुपर्ने आवश्यकता औंल्याउँछ ।

उहाँ आफैंले विश्वविद्यालयलाई नजिकबाट बुझ्न चाहन्छु भन्नुहुन्छ, जसले विद्यमान अवस्थाको यथार्थपरक मूल्यांकन गर्ने उपकुलपतिको चाहनालाई प्रतिबिम्बित गर्छ । 


प्राध्यापक पनि आफैं एउटा संस्था 

उपकुलपति प्राडा थापाले विश्वविद्यालयमा प्राध्यापकहरुको भूमिकालाई अत्यन्त महत्वपूर्ण मान्दै एउटा प्रभावशाली अभिव्यक्ति दिनुभयो, ‘हरेक प्राध्यापक एउटा संस्था हो ।’  

यसलाई थप विस्तार गर्दै उहाँले भन्नुभयो, ‘एक प्राध्यापकका निर्देशनमा अन्य सहयोगी प्राध्यापक र अनुसन्धानकर्ता हुन्छन्, अनि उहाँहरूसँग आवद्ध विद्यार्थी ।’

यस कथनले प्राध्यापकको नेतृत्वदायी भूमिका, शैक्षिक मार्गदर्शन, र अनुसन्धानको पारिस्थितिक प्रणाली निर्माण गर्ने उहाँको दृष्टिकोणलाई उजागर गर्दछ ।

 

उहाँका अनुसार, प्राध्यापकहरू  एकठाउँमा टाँसिएर बस्नेभन्दा पनि नयाँ ठाउँ र अवसरमा योगदान दिन सक्ने  हुनुपर्छ ।

उहाँले महेन्द्र मोरङले त्यो प्रमाणित गरेको  पनि बताउनुभयो, जसले यस क्याम्पसको प्राध्यापकहरूले नवीनता र विस्तारमा पु¥याएको योगदानको प्रशंसा गर्दछ । 


उपकुलपति सबैको’ हो भन्ने समावेशी दृष्टिकोण 

प्राडा थापाले आफ्नो पदको व्याख्या गर्दै एउटा मार्मिक एवं स्पष्ट धारणा राख्नुभयो, ‘आज म उपकुलपति सबैको हो  ।

भाइस चान्सलर आङ्गिक क्याम्पसको मात्र होइन, भाइस–चान्सलर त प्राइभेट क्याम्पस र कम्युनिटी क्याम्पसको पनि हो  ।’  

यस भनाइले उहाँको  समावेशी शैली र सबै प्रकारका क्याम्पसप्रति समान दृष्टिकोण भएको संकेत गर्छ ।

त्रिभुवन विश्वविद्यालय मुख्य रूपमा आङ्गिक क्याम्पसकेन्द्रित देखिए पनि उहाँले समुदायिक तथा निजी क्याम्पसको पनि समान महत्व स्वीकार गर्नुभयो । 

 

आत्मविमर्श र जिम्मेवारीको बोध

आफ्नो मन्तव्यको एउटा भावुक तथा यथार्थपरक अंशमा उहाँले आफ्नो मानवीय पक्षलाई उजागर गर्दै भन्नुभयो,

‘हामी सबै आ–आफ्नो कालखण्डमा आ–आफ्नो जिम्मेवारीका पात्र बनेर आएका हौं ।

हामीले सफलतापूर्वक कति जिम्मेवारी पूरा गर्न सक्छौं, कति सक्दैनौं  ।

त्यसैले त हामी मान्छे हौं, हामी रोबोट होइनौं नि  ।’

 यस्तो उद्गारले नेतृत्वमा हुनुपर्ने दर्शनको गहिराइ देखाउँछ ।

गल्ती र अपूर्णतालाई स्वीकार गर्दै, तिनको समाधानका लागि निरन्तर प्रयास गर्नुपर्नेमा जोड दिएको देखिन्छ  ।

 ‘मेरो कुरा कहीँ लागू होला, कहीँ नहोला, कहीँ मिल्न सक्छ, कहीँ नमिल्न सक्छ’ भन्दै उपकुलपति थापाले आफ्नो धारणालाई नै अन्तिम सत्य नठान्न आग्रह गर्दै संवादका लागि ढोका खुला राख्नुभयो । 


छलफलका विषयको रुपमा त्रिवि दीक्षान्त, प्रादेशिक विश्वविद्यालय र सुधार

 भ्रमणका क्रममा  उपकुलपति प्राडा थापाले कोशी प्रदेशमा पनि आयोजना हुन लागेको त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोह, प्रादेशिक विश्वविद्यालयको अवधारणा  र विश्वविद्यालयको शैक्षिक एवं प्रशासनिक सुधार जस्ता विषयमा थप गहन छलफल आवश्यक रहेको बताउनु भयो  ।

यसले त्रिभुवन विश्वविद्यालयले प्रदेशस्तरमा आफ्नो उपस्थिति बलियो बनाउन चाहेको र शिक्षाको संघीय संरचनासँग आफूलाई तालमेल गराउन खोजेको संकेत गरेको छ ।


आफ्नो चयन र भूमिकाप्रति गर्व

 आफ्नो नेतृत्व चयनको सन्दर्भमा उहाँले स्मरण गर्दै भन्नुभयो, ‘त्रिभुवन विश्वविद्यालयले कयौं विद्वानहरूको नेतृत्व पाइसकेको छ  ।

पचास जनाले आवेदन दिएकोमा म छनोट भएँ  ।

सायद मेरो भूमिकाकै लागि म छनोट भएको हुँ ।’

यसले उहाँको आत्मविश्वास र जिम्मेवारीको गम्भीरतालाई प्रतिबिम्बित गर्छ ।

उहाँले आफूलाई ‘सानो विश्वविद्यालयको उपकुलपति’ भएको विगत सम्झँदै अहिलेको अवसरलाई राष्ट्रिय उच्च शिक्षामा परिवर्तन ल्याउने माध्यमका रूपमा हेर्नुभएको स्पष्ट छ ।

आफू काम गरेर यो ठाउँमा आइपुगेको र अहिले पनि काम नै गर्नुछ भन्ने उहाँको प्रष्ट उद्गार थियो  ।  


परिवर्तनको आवश्यकतामा सरकारको चासो 

विगतमा हाम्रा विश्वविद्यालय र प्राध्यापकहरुमा राजनीतिक संक्रमणको प्रभाव परेको र प्राध्यापकहरुले पूर्णरुपमा प्राज्ञिक र अनुसन्धानकर्ताको रुपमा स्थापित हुन केही कठिनाई समेत भएको सन्दर्भलाई उठान गर्दै उहाँले भन्नुभयो, २०४६ सालदेखि हाम्रा केही विमति पनि रहे तर अब सम्बोधन गर्दै सहमतिको बाटो रोज्नुपर्ने र असहजताहरुलाई सम्बोधन गर्नुपर्ने छ  ।

केही अप्ठ्याराहरु छन् । अहिलेको परिवर्तन पनि दिगो हो वा होइन हेर्न बाँकी नै होला भन्दै उहाँले नेपाल सरकारको भूमिकालाई समेत औंल्याउँदै भन्नुभयो , 

‘हो, म सानो विश्वविद्यालयको उपकुलपति थिएँ  ।

 तर यो देशको उच्च शिक्षामा केही न केही परिवर्तन गर्नैपर्ने रहेछ भन्ने सरकारलाई त लागेको रहेछ नि ।’

 यस भनाइले उच्च शिक्षा सुधारका लागि सरकारको प्रतिबद्धता र विश्वविद्यालय प्रशासनले त्यसलाई मूर्त रूप दिने प्रयास गरिरहेको सन्देश दिन्छ ।  

 

महेन्द्र मोरङको परिचयमा खुसी 

महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको छोटो प्रस्तुति सन्दर्भमा उहाँले आफ्नो भावना व्यक्त गर्दै भन्नुभयो, ‘महेन्द्र मोरङ क्याम्पसको आफ्नै पहिचान रहेछ, खुसी लाग्यो  ।’  

यसले क्याम्पसको ऐतिहासिक एवं शैक्षिक योगदानप्रति उहाँको सकारात्मक धारणा प्रकट गर्दछ  ।  

उहाँले अगाडि भन्नु भयो, ‘हामीसँग जे छ त्यसैलाई आधार मानेर आगामी योजना बनाउँ  ।’  

यस वाक्यले उपलब्ध साधन र सम्भावनाको अधिकतम उपयोग गर्ने उहाँको यथार्थपरक र व्यावहारिक दृष्टिकोण देखाउँछ । 


स्रोत अभाव र विश्वव्यापी चुनौतीको सन्दर्भ  

उपकुलपतिले त्रिभुवन विश्वविद्यालयको स्रोत अभावको सन्दर्भ पनि उठाउँदै भन्नुभयो,

‘त्रिविमा अभाव छ । जस्तोसुकै धनी विश्वविद्यालयलाई पनि नयाँ काम गर्नुपर्दा स्रोतको अभाव खड्किन्छ ।’ 


यसले स्रोत अभावलाई केवल त्रिभुवन विश्वविद्यालयको मात्र होइन, विश्वव्यापी रूपमा उच्च शिक्षाका संस्थाहरूले भोग्ने एउटा चुनौतीका रूपमा चित्रण गर्छ ।

उहाँको भनाइले सीमित स्रोतसाधनको बाबजुद पनि रचनात्मक र प्रभावकारी काम गर्नुपर्ने आवश्यकतालाई जोड दिन्छ । 


प्राध्यापक र विद्यार्थीका सरोकारप्रति संवेदनशीलता 

प्राडा थापाले प्राध्यापक र विद्यार्थीका माग एवं समस्याप्रति आफ्नो संवेदनशीलता स्पष्ट पार्दै भन्नुभयो,  ‘प्राध्यापक र विद्यार्थीले उठाएका कुनै पनि सरोकारमा मेरो विमति छैन ।’

यसले उहाँको खुला मनसाय, संवादमा विश्वास र शैक्षिक समुदायको हितलाई प्राथमिकता दिने प्रवृत्ति देखाउँछ ।  

तर, उहाँले आफ्नो कामको सीमा पनि स्पष्ट पार्दै भन्नुभयो, ‘मसँग पनि कुनै जादुको छडी छैन ।  

मैले प्राज्ञिक मर्यादा र हाम्रा नियम कानूनको दायराभित्र रहेर काम गर्नुपर्छ, र गर्छु ।’

यस भनाइले उहाँ नियम–कानून र प्राज्ञिक मर्यादाको पालना गर्दै, प्रणालीगत सुधारका लागि क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरेको अनुमान गर्न सकिन्छ  । 


अन्त्यमा,  त्रिभुवन विश्वविद्यालयको एउटा उप–प्राध्यापकको नाताले  मैले भन्दा  उपकुलपति प्राडा भोला थापाको यो मन्तव्य नेतृत्व, विनम्रता र सुधारको उत्सुकताको संगम थियो ।

 उहाँले आफ्नो भ्रमणलाई एउटा साधारण शैक्षिक भ्रमणभन्दा माथि उठाउँदै, सबै पक्षको सहकार्य र संवादबाट विश्वविद्यालयलाई परिवर्तनको बाटोमा लैजान सकिने धारणा राख्नुभयो  ।  

प्राडा थापाको मन्तव्यले उहाँको नेतृत्व दर्शनको गहिराइ, यथार्थको सामना गर्ने साहस, र सुधारका लागि गम्भीर प्रतिबद्धतालाई थप उजागर समेत गर्दछ ।

 

देशकै सबैभन्दा ठूलो विश्वविद्यालयको व्यवस्थापन चुनौतीदेखि, प्राध्यापक र कर्मचारीको संस्थागत भूमिका, स्रोत अभावको यथार्थता, र नियम–कानूनको पालनासम्मका विषयमा उहाँले सन्तुलित र परिपक्व धारणा राखेका अनुभव भयो  ।

मेरो कार्यथलो महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा उपकुलपतिज्यूले दिनुभएको सकारात्मक संदेशले स्थानीय शैक्षिक समुदायमा उत्साह र विश्वास थपेको छ जस्तो लाग्छ मलाई  ।

आगामी दिनमा विश्वविद्यालय सुधारका लागि रचनात्मक संवाद थप गतिशील बन्ने अपेक्षा गर्न सकिन्छ ।

महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका शिक्षक, कर्मचारी तथा विद्यार्थीका लागि यो मन्तव्य एउटा प्रेरणाको स्रोत बन्न सक्छ, ज
धन्यवाद !सले आगामी दिनमा थप रचनात्मक छलफललाई गति दिने आधार तयार गर्न सक्छ  । 


(डा चन्द्र उपाध्याय महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस, विराटनगरको समाजशास्त्र विभागका प्रमुख हुन्  ।  )  

View : 195

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved