Biratnagar, Morang, Nepal
१ जेठ २०८२, बुधवार
+977 21 450305, 515728, 578305
राजनीति

३० दिनभित्र तस्करी रोक्न निर्देशन दिने गृहमन्त्री लेखकलाई केदार कार्कीको व्यंग्य– ‘मजाक नगरेको भए हुन्थ्यो’

उद्‌घोष सम्वाददाता
१ जेठ २०८२, बुधवार

विराटनगर । गृहमन्त्री रमेश लेखकले कोशी प्रदेशमा ३० दिनभित्र तस्करी रोक्न सुरक्षा निकायका प्रमुखहरूलाई दिएको निर्देशनलाई कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले ‘मजाक’ भन्दै व्यंग्य गरेका छन् ।

गृहमन्त्री लेखकले कोशी प्रदेशको सीमा क्षेत्रमा बढ्दो तस्करीप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सम्बन्धित सुरक्षा निकायलाई बुधबार आयोजित कोशी प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा सम्बोधन गर्दै कडा निर्देशन दिएका थिए । 

तस्करी नियन्त्रणमा ३० दिनभित्र ‘अनुभूति हुनेगरी’ एक्सन लिन गृहमन्त्री लेखकले निर्देशन दिएको बिषयलाई कांग्रेसकै नेता एवं पूर्वमुख्यमन्त्री कार्कीले ‘हेहे, मजाक नगरेको भए हुन्थ्यो’ भन्दै टिप्पणी गरेका छन् । उनले सेतोपाटी अनलाइनमा प्रकासित भएको समाचारको ‘स्क्रिन सट’ राखेर  फेसबुकमार्फत व्यंग्यात्मक टिप्पणी गरेका छन् ।

महेन्द्र मोरङ क्याम्पसमा आफु निकट रहेका नेविसंघ मोरङका सभापति सरोज पोखरेलमाथि महेन्द्र मोरङ क्याम्पसको हाताभित्रै नेविसंघको अर्को समुहले कुटपिट गरेको घटनामा प्रहरीले नेविसंघकै अन्य विद्यार्थीहरूलाई पक्राउ नगरेको भन्दै कार्की गृहमन्त्री लेखकसँग रुष्ट छन् । त्यसको जवाफ कार्कीले गृहमन्त्री लेखक विराटनगर भएकै बेला दिन खोजेका हुन् ।

यसअघि राजेन्द्र राई मुख्यमन्त्री हुँदा आन्तरिक मामिला तथा कानुनमन्त्री रहेका कार्कीले त्यतिबेला आफ्नै अध्यक्षतामा सुरक्षा बैठकको आयोजना भएकोमा यसपटक प्रदेशले केन्द्रको दासता स्वीकार गरेको पनि टिप्पणी गरेका छन् । कार्कीले बलियो संघीयताको पक्षमा प्रदेश उभिनु पर्ने बेलामा कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको बहानामा प्रदेश सरकारले केन्द्रको दासता स्वीकार गरेकोमा आपत्ति प्रकट गरेका हुन् । 

‘प्रदेश सुरक्षा समिति प्रदेशको आन्तरिक मामिला मन्त्रीको नेतृत्वमा हुन्छ । प्रदेश सुरक्षा गोष्ठीको अध्यक्षता पनि प्रदेश मन्त्रीले नै गर्नुपर्छ’ कार्कीले भने ‘तर, कोशी सरकारले गृह सचिवको अध्यक्षतामा भएको कार्यक्रम स्विकारेर यसअघिको अभ्यास पनि उल्ट्याएको छ ।’

यसअघि गृहमन्त्री बालकृष्ण खाँड हुँदा प्रदेश सुरक्षा समितिको बैठकको अध्यक्षता आफुले गरेको कार्कीको दाबी छ । तर बुधबार आयोजित सुरक्षा गोष्ठीको अध्यक्षता गृहसचिव गोकर्णमणि दुवाडीले गरेका थिए । बैठकमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की र आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारी भने अतिथिका रुपमा सहभागी भएका छन् ।

पुर्व मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले प्रहरी माग गरिरहेको बेलामा केन्द्रसँग अझ बलियो गरी संघीयता कार्यन्वयन गर्नुको साटो केन्द्रकै इशारामा अघि बढेको आरोप लगाए । 

बैठकमा गृहमन्त्री लेखकले लागुऔषध, सवारी दुर्घटना र आत्महत्या जस्ता घटना हाल आइरहेका नयाँ सुरक्षाजन्य चुनौती भएको उल्लेख गरेका थिए । 

‘प्रत्येक दिन सात जनाको ज्यान सवारी दुर्घटनामा जानु र १७ जनाले आत्महत्या गर्नु कुनै सामान्य कुरा होइन’ उनले भने ।

‘तस्करीले अपराध बढाएको छ, राजस्व घटाएको छ, मुलुकमा नकारात्मक असर गरेको छ’ गृहमन्त्री लेखकले बैठकमा भने, ‘तस्करी तुरुन्त रोक्नुपर्छ, होइन भने गृह मन्त्रालयले अर्को एक्सन लिन्छ ।’

उनले शान्ति सुरक्षाको सवालमा राज्य कुनै पनि हालतमा सम्झौता नगर्ने बताए । कानुन कार्यान्वयन गर्नु आफ्नो जिम्मेवारी भएको बताए । शान्ति सुरक्षा हुँदा मात्रै देश विकास र आर्थिक सबलीकरण सम्भव हुने गृहमन्त्री लेखकले बताएका थिए । 

बैठकमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सुरक्षाका चुनौतीहरू जटिल बन्दै गइरहेको बताए । उनले पहिचानका नाममा भइरहेका अभियानले पनि नयाँ सुरक्षा खतरा निम्त्याएको बताए । उनले पाथीभरा केवलकार परियोजनाको प्रसंग कोट्याउँदै विकाससँगै आउने सम्भावित सुरक्षा चुनौतीप्रति राज्य सतर्क हुनुपर्ने बताएका थिए ।

कोशीका आन्तरिक मामिला तथा कानुनमन्त्री भण्डारीले साइबर क्राइम, लागुऔषध ओसारपसार र अवैध गतिविधिलाई वर्तमान समयका प्रमुख सुरक्षा चुनौती भएको बताए । उनले राजनीतिक व्यवस्था माथि नै प्रहार भएको प्रसंग उल्लेख गर्दै ‘व्यवस्थामाथि प्रहार भैरहेको अवस्थामा हामी कमजोर हुन सक्दैनौं’ भने । 

सुरक्षा गोष्ठीमा गृह मन्त्रालयका अधिकारीसहित कोशी प्रदेशका १४ जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखहरू सहभागी रहेका छन् ।

View : 145

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved