विराटनगर । नेकपा एमाले धनकुटाले फागनु २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीलाई असहयोग गरेको आरोप लगाउँदै साँगुरीगढी गाउँपालिकाकी उपाध्यक्ष मुना राईलाई संगठित सदस्य समेत नरहने गरी निष्कासन गरेको छ ।
धनकुटाबाट प्रतिनिधिसभा सदस्यमा एमालेकै राजेन्द्रकुमार राईले यसपटक पनि जितेर ‘ह्याट्रिक’ गरेका छन् ।
तर पार्टीको बुधबार बसेको बिस्तारित बैठकले भने उनलाई कांग्रेसका उम्मेदवारको भोट मागेको आरोप लगाउँदै पार्टी सदस्यबाटै निस्काशन गर्ने निर्णय गरेको हो । उनी एमाले धनकुटा जिल्ला कमिटी सदस्य समेत हुन् ।
‘वहाँमाथि विगतदेखि नै पार्टीको उम्मेदवारलाई असहयोग गरेको आरोप लाग्दै आएको थियो, यसपटक पनि कांग्रेसको भोट मागेको जानकारी पार्टीको कमिटीबाटै आएपछि कारवाही गर्न बाध्य भएको हो’ एमाले धनकुटाका एक नेताले भने, ‘बुधबार विस्तारित बैठक बसेर वहाँलाई कारवाही गर्ने निर्णय गरेको छ, पार्टी सदस्य नै नरहने गरी निष्कासन गरेको छ ।’
राई २०७९ को स्थानीय तह निर्वाचनमा एमालेबाटै गाउँपालिका उपाध्यक्षमा निर्वाचित भएकी थिइन् । साँगुरीगढीमा अध्यक्ष भने कांग्रेसबाट निर्वाचित छन् ।
उपाध्यक्ष राईलाई कारवाही गरेको जानकारी जिल्ला निर्वाचन कार्यालयमा पनि पठाएको जनाइएको छ ।
विस्तारित बैठकमा निर्वाचनमा पार्टीका उम्मेदवार हराउन भूमिका खेल्ने अन्य नेता कार्यकर्तालाई समेत कारवाही गर्नुपर्ने कुरा जोडदारका साथ उठेको जनाइएको छ ।
यता, कारवाहीमा परेकी उपाध्यक्ष राईले भने पार्टीले आफूलाई असहयोग गरेको आरोप लगाइन् ।
उनले पार्टीबाट उम्मेदवार भएर जनप्रतिनिधिको रुपमा निर्वाचित भइसकेपछि जनताको काम गर्नुपर्नेमा आफू स्पष्ट रहेको बताइन् ।
तर पार्टीले भने त्यसलाई स्वीकारै गर्न नसकी पटक–पटक कारवाही गर्न खोजिरहेको बताइन् ।
‘अहिलेको कारवाहीको आधिकारिक जानकारी आएको छैन, कारवाही नै गरेको रहेछ भने पनि म सामान्य नै लिन्छु, किनभने मलाई पटक–पटक मलाई यस्तो गर्न खोजेको थियो’ उनले भनिन्, ‘पालिका भनेको त स्थानीय सरकार हो, हामी दलबाट निर्वाचित भएर आएपनि त्यसपछि त जनताप्रति सम्मान गर्नुपर्ने ठाउँमा छौं, पालिकाको कुर्सीमा बसेपछि कुनै पार्टीको मात्रै भएर काम गर्नुपर्छ भन्ने मलाई लाग्दैन, तर त्यसलाई पार्टीले अस्वीकार गर्यो ।’
उनले पालिकाको विकासका लागि आफूले अध्यक्षसँग मिलेर काम गर्नुपर्छ भनेर पार्टीमा भन्दै आएको बताइन् ।
‘तर त्यसो भन्दा पार्टीले मन पराएन, अर्को पार्टीको अध्यक्षको चैं विरोध नै गर्नुपर्छ भन्ने कुरा आइरह्यो’ उनले भनिन्, ‘पार्टीले त यस्तो कुरामा सहयोग गर्नुपथ्र्यो तर गरेन, यस्तो भएपछि मैले नमानेकै हो, मैले कारवाहीको कुरा आएछ भने पनि सामान्य रुपमै लिन्छु, किनभने मैले पालिकाको काम नै गर्ने हो ।’
View : 55
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved