भव्य रूपमा सम्पन्न हुँदै श्रीमद्भागवत महायज्ञ
विराटनगर, चैत ११ आध्यात्मिक जागरण र समाजमा सुख-शान्तिको संकल्पसहित विराटनगर–११, पिछरा (अल्का मार्ग) मा जारी श्रीमद्भागवत महापुराण सप्ताह महायज्ञमा भक्तजनको जनसागर उर्लिएको छ।
लक्ष्मी नारायण भजनकीर्तन समितिको आयोजनामा सञ्चालित यस महायज्ञले स्थानीय क्षेत्रलाई भक्तिमय बनाएको मात्र छैन, महिला नेतृत्वको क्षमतालाई समेत प्रमाणित गरिदिएको छ।
महायज्ञको पाँचौँ दिन आयोजित 'नन्द उत्सव'मा भक्तजनको उल्लेखनीय सहभागिता रहेको थियो। बिहीबार छैटौँ दिनको अनुष्ठानसम्म आइपुग्दा श्रोताहरूको चाप झनै बढेको छ।
सनातन धर्म सेवा समिति विराटनगरकी कोषाध्यक्ष शोभा पोखरेल र महेन्द्र मोरङ क्याम्पसका पूर्व प्रमुख डा. बाबुराम तिमल्सिनाका अनुसार, अनुष्ठानको भव्यताले विराटनगर–११ र ६ वडाको सिमाना क्षेत्रमा एउटा छुट्टै धार्मिक माहोल सिर्जना गरेको छ।
महायज्ञ आयोजनाको नेतृत्व पूर्ण रूपमा महिलाहरूले गरेका छन्। सुरुका दिनहरूमा "महिलाहरूले मात्र यति ठूलो अनुष्ठान गर्न सक्लान् र ?" भनी केहीले शंका र हेय दृष्टिले हेरेको तीतो अनुभव आयोजक समितिकी अध्यक्ष विन्दा कोइरालाले सुनाइन् ।
"हाम्रो मुख्य उद्देश्य सत्संग र समाजमा भाइचारा बढाउनु हो। सुरुमा चुनौती देखिए पनि अहिले सबैको सहयोग र उपस्थितिले हामीलाई निकै खुसी तुल्याएको छ," अध्यक्ष कोइरालाले भनिन् ।
पण्डित चक्रपाणी न्यौपाने र उपवाचक श्रीगणेश ओझाको संगीतमय कथावाचनले भक्तजनलाई मन्त्रमुग्ध पारेको छ।
महायज्ञलाई सफल बनाउन समितिकी अध्यक्ष विन्दा कोइराला, उपाध्यक्ष भीमा तिवारी, सचिव ममता कटवाल, सहसचिव तारा काफ्ले र संरक्षक देवी गौतमको नेतृत्वमा ३२ सदस्यीय महिला टोली अहोरात्र खटिएको छ।
यस सक्रियतालाई डा. तिमल्सिनाले अनुष्ठानको सफलताको मुख्य आधार माने ।
गत शुक्रबार भव्य कलशयात्राबाट सुरु भएको महायज्ञ भोलि (चैत १२ गते, शुक्रबार) विशेष अनुष्ठान, पूर्णाहुति र प्रसाद वितरणका साथ समापन गरिने समितिकी कोषाध्यक्ष सुजया दाहालले जानकारी दिइन् ।
View : 457
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved