Biratnagar, Morang, Nepal
२१ वैशाख २०८२, आइतवार
+977 21 450305, 515728, 578305
समाज

गाँजा तस्करीमा प्रयोग भएका गाडी सरकारी नभएको पुष्टी

उद्‌घोष सम्वाददाता
२१ मंसिर २०८१, शुक्रवार

सुनसरी । सुनसरी प्रहरीले मंगलबार राति बरामद गरेको करिब ७ सय केजी लागुऔषध गाँजा बोकेको गाडी सरकारी नभएको पुिष्ट भएको छ । सुनसरी प्रहरीले बिहीबार इलाका प्रहरी कार्यालय धरानमा पत्रकार सम्मेलन गरी सरकारी नम्बर प्लेट राखिएको दुई वटा गाडी सरकारी नभएको जनाएको हो । 

इलाका प्रहरी कार्यालय धरानको टोलीले चार राउण्ड गोलीसमेत चलाएर नियन्त्रणमा लिएको उक्त गाडी कारोबारीले सरकारी किर्ते नम्बर प्लेट लगाएर चलाएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिए । 

प्रहरीले कोशी राजमार्ग अन्तर्गत धनकुटाबाट गाँजा लिएर धरानतर्फ आउँदै गरेको सरकारी नक्कली नम्बर प्लेट भएको बा १ झ ४६०५ नम्बरको स्कारपियो र बा १ झ ५१२७ नम्बरको कार मंगलबार राति रोकेर जाँच गर्ने क्रममा गोली चलाएर नियन्त्रणमा लिएको थियो । 

नियन्त्रणमा लिएको दुबै गाडीको च्याचिस नम्बर र इञ्जिन नम्बरहरु हालसम्म दर्ता भएका गाडीहरुको हो भन्ने एकिन हुन नसकेको र थप बिस्तृत अनुसन्धान भई रहेको प्रहरी नायब उपरीक्षक तिमल्सिनाले जानकारी दिए । 

बरामद भएका गाडी सरकारी अड्डाका नम्बर प्लेट राखेर लागुऔषध गाँजा तस्करीको लागि प्रयोग भएको खुलेकाले मुलुकी अपराध संहिंताको परिच्छेद २५ को दफा २७६ को उपदफा २ को ख बमोजिमको कसुरमा अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक प्रकाश जबेगूले जानकारी दिए । 

सरकारी किर्ते नम्बर भएको बा १ झ ४६०५ नम्बरको गाडी चालक मोरङको सुन्दरहरैंचा–११ का ३६ वर्षीय श्यामकुमार विश्वकर्मा पक्राउ परे पनि अर्का चालक गाडी छाडेर फरार छन् । उनको समेत खोजी भैरहेको प्रहरीले जनाएको छ ।

View : 152

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved