Biratnagar, Morang, Nepal
२५ फागुन २०८२, सोमवार
+977 21 450305, 515728, 578305
कोशी

आफैंलाई ‘निर्दोष’ घोषणा गरे मन्त्री मण्डलले

उद्‌घोष संवाददाता
१२ साउन २०८२, सोमवार

विराटनगर । कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डल अवैध असुलीको विवादमा परेका मन्त्री हुन् । 

खासगरी कर्मचारी सरुवादेखि योजनाहरुमा पनि असुली गरिरहेको आरोप लागेका उनले आइतबार प्रदेशसभा बैठकमा उक्त आरोपको प्रतिवाद गरेका छन् । 

रकम असुल्न क्यूआर कोड नै पठाउने गरेको आरोप लागेका मन्त्री मण्डलले आफूमाथि लागेको आरोप निराधार रहेको दाबी गर्दै प्रमाण भए पेश गर्न चुनौती पनि दिएका छन् । 

मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारका मन्त्रीहरु यस्तो विवादमा फँसेको यो पहिलो घटना भने होइन । 

तेस्रोपटक प्रदेशको मुख्यमन्त्री बनेका कार्कीको तेस्रो इनिङमा उनको मन्त्रिमण्डलका सदस्यहरु विवादमा घेरिने गरेका छन् । 

यसअघि तत्कालीन आन्तरिक मामिलामन्त्री लीलाबल्लभ अधिकारीलाई जापान जान अनुमति दिएका मुख्यमन्त्रीले विवाद भएपछि आफूले केही थाहा नपाएको बताएका थिए । 

अहिले उनकै मन्त्रिमण्डलका सदस्य असुली आरोपमा मुछिदा मुख्यमन्त्री मौनता साधेर बसेका छन् । 

विपक्षीहरुले लगातार जवाफ र राजिनामा माग्दै आइरहेको यो प्रकरणमा मुख्यमन्त्रीले कुनै कदम नचाले पनि विवादमा मुछिएका मन्त्रीले नै आफू निर्दोष रहेको जिकिर गरेर संसद्मा जवाफ दिएका छन् । 

आफूले खाँदै नखाएको विष लागेको दाबी गर्दै मण्डलले भने ‘बजारमा आएको न्युजमा देखिएको क्यूआर कोड कसको हो, के प्रयोजनको लागि, कसलाई, किन दिएको हो, यो विषयमा मेरो कुनै पनि संलग्नता छैन’  उनले भने ‘क्यूआर कोडमा उल्लेखित व्यक्ति मेरो सचिवालयको सदस्य होइनन् । निजलाई के कति कारणले क्यूआर पठाइएको हो, कानुनी दायरामा झिकाइ अनुसन्धान गर्नको लागि सम्बन्धित निकायलाई अनुरोध गर्दछु ।’ 

मन्त्री मण्डलले आफ्नो क्यूआर कोड नभएको र कसैलाई नपठाएको पनि दाबी गरे । तर कर्मचारीलाई सहयोग माग्दै क्यूआर कोड पठाउने अमृत मेहता उनकै सहयोगी भएको र विवाद भएपछि हटाएको मन्त्रालयका कर्मचारीहरु बताउँछन् ।

सुनसरीका मण्डल कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीका विश्वासपात्र हुन् । उनलाई पर्यटन कार्यालयका कर्मचारीहरुसँग पनि असुली गरेको आरोप छ । 

‘मन्त्रीजी केही नयाँ कार्यक्रम गर्नुपर्‍यो, कसैलाई सरुवा गर्नुपर्‍यो भने मेरो पिएलाई भेट्नु भन्नुहुन्छ’, कोशीका एक जना पर्यटनका कर्मचारीले भने ‘उहाँको सचिवालय कमाउ धन्दामा छ । मन्त्रीको निर्देशन र ग्रिन सिग्नल बेगर यो सम्भवै छैन ।’

आफ्ना मन्त्रीहरु यसरी  निरन्तर विवादको घेरामा परिरहँदा मुख्यमन्त्री कार्की चाहिं सुशासनका पक्षमा प्रदेश सरकारले काम गरिरहेको दाबी गर्न छाडेका छैनन् ।

View : 566

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved