Biratnagar, Morang, Nepal
२२ भदौ २०८३, सोमवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

कोशीको पानी मेचीतिर मोड्दै भारत

भोटेकोशी बाढीपछि भारतको कोशी–मेची परियोजनामाथि प्रश्न उठेको भन्दै जलसुरक्षा ख्याल गर्न विज्ञहरूले सुझाव दिएका छन् ।
२२ भदौ २०८३, सोमवार

Advertisement

विराटनगर । भोटेकोशीको विनाशकारी बाढीले निम्त्याएको अकल्पनीय विनाशले नेपाललाई सताइरहेका बेला दक्षिण छिमेकी भारतले भने कोशी नदीमा मनसुनमा उपलब्ध हुने अतिरिक्त पानीलाई अर्को नदी प्रणालीमा लैजाने ठूलो परियोजना अघि बढाइरहेको छ । 

बिहार सरकारले अघि बढाएको ‘कोशी–मेची अन्तर राज्यीय लिंक परियोजना’ मार्फत कोशीको करिब २ हजार ५० मिलियन घनमिटर पानी मेची हुँदै महानन्दा बेसिनमा पुर्याउने योजना अघि बढाएको हो । 

करिब ६ हजार २८२ करोड भारतीय रुपैयाँ लागत अनुमान गरिएको परियोजनाले नेपालसँग सीमा जोडिएका बिहारका अररिया, पूर्णिया, किशनगन्ज र कटिहार जिल्लाहरुमा  करिब २ लाख १० हजार ५१६ हेक्टर क्षेत्रमा थप सिँचाइ सुविधा पु¥याउने लक्ष्य राखेको छ ।  

भारतीय सञ्चारमाध्यमहरूका अनुसार रसुवाको उत्तरी क्षेत्रमा ल्हेन्दे खोलाको माथिल्लो भागमा भएको हिमपहिरो घटनापछि भोटेकोशीमा आएको बाढीले हिमाली नदीको पानीको चरित्रबारे नयाँ प्रश्न उठाएको जलस्रोत विज्ञहरूले बताएका छन् । 

माथिल्लो जलाधारमा हुने यस्तो पहिरो, हिमपहिरो र  प्राकृतिक रूपमा पानी थुनिएर एकाएक विष्फोट हुने  घटनाले छोटो समयमा ठूलो परिमाणमा पानी र गेग्रान तलतिर पठाउन सक्छ ।

‘त्यसैले कोशीको पानीलाई अर्को बेसिनमा लैजाने परियोजनामा पनि सिँचाइको लाभसँगै बाढी जोखिम, जलवायु परिवर्तन, भूमिगत पानी पुनर्भरण र दीर्घकालीन जलसुरक्षालाई कसरी समेट्ने भन्ने प्रश्न महत्वपूर्ण बनेको छ,’ भारतीय जलस्रोत विज्ञ सन्तोष सेनले हिन्दूस्तान दैनिकसँग भनेका छन् ‘रसुवा घटनाले भारतीय परियोजना झनै खतरनाक हुनसक्ने संकेत गरेको छ । नेपालको दक्षिणवर्ती इलाका पनि यो परियोजनाबाट प्रभावित हुनसक्छन् ।’ 

बिहार सरकारको जलस्रोत विभागलाई उल्लेख गर्दै हिन्दूस्तानले जनाएअनुसार कोशी–मेची परियोजनाअन्तर्गत पूर्वी कोशी मुख्य नहरको ४१.३० किलोमिटर पुनःसंरचना र ७६.२० किलोमिटर नयाँ लिंक नहर निर्माण हुनेछ । दुवै जोड्दा परियोजनाको नहर संरचना ११७.५० किलोमिटर लामो हुनेछ । परियोजनाको कुल अनुमानित लागत ६,२८२ दशमलव ३२ करोड भारतीय रुपैयाँ हो । यो भनेको ६२ अर्ब ८२ करोड ३२ लाख भारतीय रुपैयाँ हो । यसको नेपाली रुपैयाँ भने झण्डै एक खर्ब ५२ करोड बराबर हुन आउँछ ।

यो परियोजना मार्च २०२९ सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ । तर जुलाई २०२६ सम्म यसको भौतिक प्रगति ८.५ प्रतिशत मात्रै पुगेको छ ।

भारतले अघि सारेको यो परियोजनाको मुख्य आधार कोशीमा मनसुनका बेला उपलब्ध हुने ‘अतिरिक्त पानी’ हो ।  यद्यपि मनसुनमा कोशीमा ठूलो बाढी आउने र त्यही पानीको केही हिस्सा सिँचाइका लागि उपयोग गर्ने अवधारणा यसअघि पनि अघि सारिएको थियो ।

तर, जलवायु परिवर्तनका कारण वर्षाको स्वरूपमा परिवर्तन आइरहेको छ । हिमाली क्षेत्रमा पानीको बहावमा परिवर्तन भइरहेका बेला विगतको जलप्रवाहलाई आधार बनाएर भविष्यको पानी उपलब्धता अनुमान गर्नु चुनौतीपूर्ण बन्दै गएको जलस्रोत विज्ञ सेनको भनाइ छ । 

मनसुनमा बढी पानी हुनु र सुख्खा मौसममा पानीको अभाव हुनु एउटै जलचक्रका दुई अवस्था हुन् । 

त्यसैले बाढीको पानीलाई अर्को बेसिनमा मोड्दा त्यसले नदीको प्राकृतिक बहाव, तल्लो तटीय क्षेत्रमा पानीको उपलब्धता र भूमिगत पानीमा पार्ने प्रभावबारे अध्ययन आवश्यक हुने विज्ञहरूको भनाइ छ । 

भोटेकोशीको बाढीले पनि नदीको जोखिम पानीको मात्रा मात्रै नभएर पानी आउने गति र माथिल्लो जलाधारमा हुने आकस्मिक घटनासँग जोडिएको देखाएको छ । 

यही कारण कोशी–मेचीजस्ता ठूला जल परियोजनामा सामान्य मनसुनी बहावसँगै ठूलो  बाढीको अवस्थामा नहर, बाँध तथा अन्य संरचनाले कसरी काम गर्छन् भन्ने विषयलाई समेत डिजाइनमा समेट्नुपर्ने देखाएको सेनको भनाइ छ । 

यसले मनसुनको अतिरिक्त पानी केही समय सञ्चय गर्न, स्थानीय भूमिगत पानी पुनर्भरण गर्न र सुख्खा मौसममा पानी उपलब्ध गराउन सहयोग गर्न सक्छ । 

जलाशय तथा पुनर्भरण संरचनालाई मत्स्यपालन, पशुपालन, हाँसपालन, वृक्षरोपण र साना उद्यमसँग जोड्ने योजना भारतीय पक्षको छ । 

कोशी–मेची परियोजना भारतको बिहारमा निर्माण हुने परियोजना हो ।  यसको नहर नेपाल हुँदै जाने होइन । 

यद्यपि कोशीको ठूलो जलाधार नेपालमा रहेको र नदीको बहाव नेपालबाट भारततर्फ जाने भएकाले यसको दीर्घकालीन जलप्रवाह, बाढी  र जलस्रोत व्यवस्थापन नेपालका लागि पनि महत्वपूर्ण विषय बन्न सक्ने देखिएको विज्ञहरूको भनाइ छ । 

नेपाल र भारतबीच कोशीमा बाँध, बाढी नियन्त्रण, सिँचाइ र बहुउद्देश्यीय आयोजनाबारे लामो समयदेखि छलफल हुँदै आएको छ । 

सप्तकोशी बहुउद्देश्यीय आयोजना र सुनकोशी–कमला डाइभर्सनजस्ता योजनामा पनि दुई देशबीच सहकार्यको प्रयास हुँदै आएको छ । 

‘नेपाल–भारतबीचको जलसंवादलाई बाँध र सिँचाइमा मात्र सीमित राख्न हुँदैन,’ जलस्रोत विज्ञ सेनले भनेका छन् ‘बाढी पूर्वसूचना, हिमाली जलाधारको निगरानी, जल तथा मौसमसम्बन्धी तथ्यांक आदानप्रदान, जलवायु जोखिमको संयुक्त अध्ययनसम्म विस्तार गर्नुपर्ने आवश्यकता देखिएको छ ।’ 

भोटेकोशी बाढी र कोशी–मेची परियोजना एउटै नदीका एउटै परियोजना होइनन् । 

भोटेकोशी तिब्बततर्फको हिमाली क्षेत्रबाट आउने नदी प्रणाली हुँदै त्रिशूलीतर्फ जोडिन्छ भने कोशी–मेची परियोजना बिहारको कोशी बेसिनको पानी मेची–महानन्दा क्षेत्रमा लैजाने योजना हो ।

View : 80

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved