काठमाडौं । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२÷८३ को वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई कुल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिको आइतबार बसेको ७१२औँ बैठकले साधारण शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र १०.८० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
बैंकका अनुसार प्रस्तावित बोनस शेयरका लागि १ अर्ब ३५ करोड २८ लाख ४९ हजार ८३६ रुपैयाँ ४६ पैसा र नगद लाभांशका लागि २ अर्ब ९२ करोड २१ लाख ५५ हजार ६४६ रुपैयाँ ७६ पैसा छुट्याइएको छ । उक्त रकममा बोनस तथा नगद लाभांशमा लाग्ने करसमेत समावेश छ ।
त्यसैगरी, बैंकले ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयरतर्फ चुक्ता पुँजीको ८ प्रतिशतका दरले नगद लाभांश दिने प्रस्ताव गरेको छ । यसअन्तर्गत २३ करोड ३४ लाख २४ हजार ६५७ रुपैयाँ ५३ पैसा नगद लाभांश वितरण गरिनेछ । उक्त लाभांश आर्थिक वर्ष २०८२÷८३ मा बाँडफाँटको मितिबाट समानुपातिक रूपमा २१३ दिनका लागि गणना गरिएको बैंकले जनाएको छ ।
बैंकको अग्राधिकार शेयरतर्फको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ छ भने साधारण शेयरतर्फको चुक्ता पुँजी २७ अर्ब ५ करोड ६९ लाख ९६ हजार ७२९ रुपैयाँ २६ पैसा रहेको छ । बैंकले आर्थिक वर्ष २०८२÷८३ मा हासिल गरेको वित्तीय नतिजा तथा दिगो व्यावसायिक वृद्धिको आधारमा शेयरधनीलाई उचित प्रतिफल प्रदान गर्ने उद्देश्यले लाभांश प्रस्ताव गरिएको जनाएको छ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी साधारणसभाबाट पारित भएपछि मात्र वितरण हुनेछ । नबिल बैंकले हाल देशभरका २६३ शाखा र ३१५ एटीएममार्फत २६ लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ ।
View : 31
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved