विराटनगर । इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव उपरीक्षक किशोर लम्साल फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रनाउ लम्साललाई सर्वोत्कृष्ट प्रहरी घोषित गरेको हो । लम्सालले फागुन २१ गते सम्पन्न भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा झापा निर्वाचन क्षेत्र नम्बर–५ जस्तो अति संवेदनशील निर्वाचन क्षेत्रमा शान्ति सुरक्षा तथा अमनचयन कायम गरी कुनै पनि घटना घट्न नदिई निर्वाचन सम्पन्न गराउन सफल भएको जनाइएको छ ।
त्यस्तै जेनजी आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटिएका हतियार र हिरासतबाट भागेर फरार भएका व्यक्तिहरू खोजतलास गर्ने क्रममा इलाका प्रहरी कार्यालय दमकको छेउमा रहेको खाली जग्गाको झाडीबाट राइफल र विभिन्न स्थानबाट १९ जना प्रतिवादीलाई पक्राउ गरेका थिए ।
त्यसैगरी फागुनमा जम्मा ३५ वटा मुद्दा दर्ता भएकोमा जेनजी आन्दोलनसँग सम्बन्धित १० वटा मुद्दा दर्ता भई सवै मुद्दा फछ्र्यौट गरेको, जेनजी आन्दोलनमा क्षति पुगेको इलाका प्रहरी कार्यालय दमकलाई स्थानीय सरकार, विभिन्न संघसंस्था तथा स्थानीयबासीहरूसँग समन्वय र सहकार्य गरी भवनहरू पूर्णरूपमा मर्मत, फर्निचर तथा विद्युतीय उपकरणहरू चुस्तदुरूस्त अवस्थामा राख्न नेतृत्वदायी भूमिका निर्वाह गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
सोही क्रममा ध्वनी प्रदूषण गर्ने २१७ वटा मोटरसाइकल नियन्त्रणमा लिई कारबाही गरेको र चालु तथा बक्यौतामा रहेका मुद्दाका मिसिलहरू सम्बन्धित कार्यालयसँग समन्वय गरी पूनर्निर्माण गर्न भूमिका निर्वाह गरेको र हालसम्म बिभिन्न मुद्दाका २२ जना फरार प्रतिवादीहरू समेत पक्राउ गर्न सफल भएको भन्दै सर्वोत्कृष्ट प्रहरी घोषित गरिएको जनाइएको छ ।
View : 66
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved