आस्थाको धरोहर
नेपालको औद्योगिक, व्यापारिक तथा सांस्कृतिक केन्द्रका रूपमा परिचित विराटनगरको सामाजिक, धार्मिक र सांस्कृतिक पहिचानसँग गाँसिएको एउटा अनुपम धार्मिक उत्सव विराटनगरको श्रीराधाकृष्ण रथयात्रा हो ।
भगवान् श्रीराधाकृष्णलाई रथमा विराजमान गराइ नगर परिक्रमा गराउने धार्मिक परम्परा मात्र होइन, यो यस क्षेत्रका निवासीहरूको श्रद्धा, विश्वास, सामाजिक एकता, धार्मिक सद्भाव, सांस्कृतिक विविधता, सेवाभाव र वर्षौंदेखि हस्तान्तरण हुँदै आएको गौरवशाली इतिहासको जीवन्तको प्रतीक हो ।
प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट अर्थात् नवमी तिथिका दिन विराटनगरको वातावरण नै फरक देखिन्छ ।
नगरका सडक, चोक, गल्ली र बजारहरू भक्तिमय बन्छन् ।
करिब ९ किलोमिटरको यस नगर परिक्रमामा शंखध्वनि, घण्टानाद, भजन–कीर्तन, धार्मिक झाँकी, जयजयकार र भक्तजनहरूको उत्साहले सिङ्गो नगरलाई आध्यात्मिक तथा सांस्कृतिक उत्सवमा रूपान्तरण गरिदिन्छ ।
रथयात्राको दिन विराटनगरमा मानौँ धर्म, संस्कृति, आस्था र जनभावनाको विशाल कुम्भ नै लाग्छ ।
गतवर्ष पुरानो रथको सट्टा आकर्षक शैलीको नयाँ रथ निर्माण गरिएको थियो ।
यस रथको उचाइ २१ फिट ३ इञ्ची,चौडाइ १४ फिट, लम्बाइ १९ फिट रहेको छ । जुवाको भाग करिब ८ फिटको छ ।
ठूलो धार्मिक उत्सवका रूपमा स्थापित हुँदै आएको यस रथयात्राले विराटनगरको सीमाभित्र मात्र आफ्नो प्रभाव सीमित राखेको छैन ।
नेपालका विभिन्न जिल्लाबाट तथा भारतका सीमावर्ती क्षेत्रबाट समेत श्रद्धालुहरू यस यात्रामा सहभागी हुने गरेका छन् ।
यसरी हेर्दा श्रीराधाकृष्ण रथयात्रा आज विराटनगरको मात्र उत्सव नभई नेपालकै धार्मिक तथा सांस्कृतिक गौरवका रूपमा स्थापित हुँदै गएको छ ।
खटयात्रादेखि विशाल रथयात्रासम्मको ऐतिहासिक यात्रा
विराटनगरको श्रीराधाकृष्ण रथयात्राको इतिहास पुरानो, रोचक र प्रेरणादायी छ । यसको प्रारम्भ वि.सं. १९८८ (सन् १९३१) मा विराटनगर तीनपैनी स्थित श्रीराधाकृष्ण मन्दिरबाट भएको मानिन्छ ।
जलझुलनी एकादशीका दिन भगवान् श्रीराधाकृष्णका मूर्तिहरूलाई काठको सानो खटमा विराजमान गराइ भक्तजनहरूले काँधमा बोकेर नगर परिक्रमा गराउँथे ।
त्यसपछि भगवानका मूर्तिहरूलाई नगरको पूर्वतर्फ बग्ने सिंघिया खोलामा स्नान गराई पुनः मन्दिरमा फर्काउने धार्मिक परम्परा थियो ।
यही परम्परालाई ‘खटयात्रा’ भनिन्थ्यो ।
त्यो समयको विराटनगर आजको जस्तो विस्तारित र व्यस्त महानगरीय स्वरूपमा थिएन ।
सीमित सडक, सानो बजार र कम जनघनत्वका बीच सुरु भएको त्यो धार्मिक यात्रामा स्थानीय बासिन्दाको उत्साह भने अत्यन्त ठूलो थियो ।
धर्मप्रति आस्था राख्ने अग्रजदेखि बालबालिका, युवा तथा सर्वसाधारणसम्म सबैजना ‘गोपाल कृष्णा–राधे कृष्ण’को जयघोष गर्दै यात्रामा सहभागी हुन्थे ।
सत्यनारायण मन्दिर तथा ठाकुरबाडी रोडस्थित रामजानकी मन्दिरलगायतका धार्मिक संस्थाहरूबाट निकालिने खटयात्राले पनि तत्कालीन विराटनगरको धार्मिक जीवनलाई जीवन्त बनाएका थिए ।
मेनरोड, ठाकुरबाडी रोड र हाटखोला हुँदै सिंघिया नदीसम्म पुग्ने ती यात्राहरू तत्कालीन समाजका लागि धार्मिक अनुष्ठान मात्र नभई सामुदायिक जीवनका महत्वपूर्ण अवसर थिए ।
पुरानो पुस्ताका लागि ती खटयात्रा आज पनि अविस्मरणीय स्मृतिका रूपमा जीवित छन् । पुरानो विराटनगर, पुराना सडक, पुराना बजार, धार्मिक नाराले गुञ्जिएका गल्ली र श्रद्धाले भरिएका मानिसका अनुहार सम्झँदा एउटा युग नै आँखाअगाडि उभिएजस्तो हुन्छ ।
समय परिवर्तन हुँदै गयो ।
विराटनगरको जनसंख्या बढ्यो, शहर विस्तार भयो, व्यापारिक गतिविधि बढ्दै गए र धार्मिक चेतना तथा भक्तजनको सहभागिता पनि क्रमशः विस्तार हुँदै गयो ।
सानो खटमा सीमित रहेको यात्रालाई अझ व्यवस्थित र भव्य स्वरूप दिनुपर्ने आवश्यकता महसुस हुन थाल्यो ।
यही क्रममा वि.सं. २०२५ (सन् १९६८) मा विराटनगरका प्रतिष्ठित व्यक्तित्वहरू बृ ज भूपालमानसिंह कार्की र सत्यनारायण धनावतको प्रमुख नेतृत्व तथा दूरदर्शी सोचमा खटयात्रालाई भव्य रथयात्राका रूपमा विकास गर्ने दूरदर्शी निर्णय गरियो ।
त्यसपछि प्यागोडा शैलीको आकर्षक रथ निर्माण गरियो ।
भगवान् श्रीराधाकृष्णका दिव्य मूर्तिहरूलाई रथमा विराजमान गराइ नगर परिक्रमा गराउने परम्पराले नयाँ स्वरूप ग्रहण ग-यो । यो परिवर्तन विराटनगरको धार्मिक इतिहासमा महत्वपूर्ण मोड सावित भयो ।
रथ केवल एउटा धार्मिक वाहन होइन, यसमा इतिहास, कला, शिल्प, आस्था र सामूहिक श्रमको संयोजन देखिन्छ ।
रथ तान्ने कार्यमा महिला र पुरुष भक्तजनका लागि छुट्टाछुट्टै पङ्तीको व्यवस्था गरिने परम्पराले यात्रालाई व्यवस्थित बनाउन सहयोग पु-याउँछ ।
हजारौँ भक्तजनको भीडबीच विशाल रथलाई सुरक्षित रूपमा सञ्चालन गर्नु आफैँमा चुनौतीपूर्ण कार्य हो ।
रथको मध्यभागमा भगवान् श्रीराधाकृष्णका दिव्य मूर्तिहरूलाई आकर्षक ढङ्गले सजाएर सिंहासनमा विराजमान गराइन्छ ।
भगवान् रथमा विराजमान भएर नगरवासीलाई दर्शन दिन निस्कनुभएको दृश्य भक्तजनका लागि अत्यन्त भावपूर्ण क्षण हुन्छ ।
धेरैका आँखामा श्रद्धाका आँसु हुन्छन्, हात जोडिन्छन् र ओठमा स्वतः ‘जय श्रीराधाकृष्ण’को उच्चारण आउँछ ।
रथयात्राको दिन तीनपैनीस्थित श्रीराधाकृष्ण मन्दिर परिसरमा बिहानैदेखि भक्तजनको चहलपहल सुरु हुन्छ ।
विशेष पूजाअर्चना, अभिषेक तथा धार्मिक विधि सम्पन्न भएपछि शुभ साइतमा रथयात्राको प्रारम्भ गरिन्छ ।
रथ अघि बढ्न थालेपछि विराटनगरको वातावरण नै बदलिन्छ ।
ठाउँ–ठाउँमा भक्तजनहरू भगवानको दर्शनका लागि प्रतीक्षारत हुन्छन् ।
रथ विभिन्न स्थानमा रोकिँदा स्थानीय बासिन्दाले घरका बरण्डा, छत तथा सडक किनारबाट पुष्पवृष्टि गर्दै भगवानको स्वागत गर्छन् ।
विभिन्न वाहनहरूमा साथै बिना वाहन पैदल नै कतै भजन कीर्तन भइरहेको हुन्छ, कतै शंख बजिरहेको हुन्छ,
कतै घण्टानाद सुनिन्छ भने कतै धार्मिक झाँकीले सबैको ध्यान आकर्षित गरिरहेको हुन्छ । हजारौँ मानिसको एउटै स्वरमा गुञ्जिने जयघोषले सिङ्गो विराटनगरलाई भक्तिमय बनाउँछ ।
त्यो क्षणमा विराटनगर एउटा सामान्य शहरजस्तो देखिँदैन ।
व्यापारिक गतिविधि, दैनिक व्यस्तता र व्यक्तिगत सरोकारहरू केही समयका लागि पृष्ठभूमिमा पुग्छन् र सामूहिक आस्था अगाडि आउँछ ।
नगरका सडकहरू केवल आवागमनका मार्ग रहँदैनन् ती श्रद्धा, संस्कृति र जनभावनाका साझा मञ्चमा परिणत हुन्छन् ।
श्रीराधाकृष्ण रथयात्राको सबैभन्दा सुन्दर पक्ष यसको सामाजिक समावेशिता हो ।
यस यात्रामा जात, भाषा, वर्ग वा समुदायको विभेदभन्दा माथि उठेर मानिसहरू सहभागी हुन्छन् । फरक पृष्ठभूमिका मानिसहरू एउटै डोरी समातेर रथ तान्छन् ।
त्यो डोरी केवल रथ तान्ने साधन रहँदैन,प्रतीकात्मक रूपमा यसले समाजका विभिन्न वर्ग, समुदाय र पुस्तालाई एउटै सूत्रमा बाँध्छ ।
रथयात्रा मार्गमा कसैले पानी बाँड्छन्, कसैले सर्बत, कसैले फलफूल वा प्रसाद वितरण गछन् ।
कसैले स्वयंसेवक बनेर भीड व्यवस्थापन गर्छन् भने कसैले वृद्ध, बालबालिका वा असहायलाई सहयोग गर्छन् ।
यही कारण यो रथयात्रा धार्मिक आस्थासँगै सामाजिक सौहाद्र्धको विशाल उत्सव बन्न पुगेको छ ।
बहुभाषिक, बहुजातीय तथा बहुधार्मिक सामाजिक संरचना भएको विराटनगरमा यस्तो उत्सवले पारस्परिक सम्मान, सहिष्णुता र विश्वासलाई अझ बलियो बनाउँछ ।
कतिपय स्थानमा भक्तजनका लागि विभिन्न खाद्य सामग्रीसमेत उपलब्ध गराइन्छ ।
गर्मी, भीड र लामो यात्राका बीच यस्ता सेवाले भक्तजनलाई ठूलो राहत पु-याउँछन् ।
कतिपय संस्थाले स्वास्थ्य तथा प्राथमिक उपचारका सेवासमेत उपलब्ध गराउँछन् ।
यसरी धार्मिक आस्थालाई मानव सेवासँग जोड्ने परम्पराले विराटनगरको सेवा संस्कृतिलाई उजागर गर्छ ।
रथयात्रालाई अझ आकर्षक र जीवन्त बनाउने अर्को महत्वपूर्ण पक्ष हो धार्मिक तथा सांस्कृतिक झाँकी ।
विभिन्न संघ–संस्था, विद्यालय, धार्मिक समूह तथा सामाजिक संस्थाहरूले तयार पार्ने झाँकीमा भगवान् श्रीकृष्णका बाललीला, राधाकृष्णका विभिन्न स्वरूप, धार्मिक कथा, पौराणिक प्रसङ्ग तथा नेपाली संस्कृति झल्काउने दृश्यहरू प्रस्तुत गरिन्छन् ।
भजन–कीर्तन, नृत्य, सांगीतिक प्रस्तुति र धार्मिक नाराले यात्राको वातावरणलाई थप उल्लासमय बनाउँछन् ।
यसले रथयात्रालाई केवल धार्मिक अनुष्ठानमा सीमित नराखी एउटा विशाल सांस्कृतिक महोत्सवको स्वरूप प्रदान गरेको छ ।
कुनै पनि परम्पराको भविष्य नयाँ पुस्तासँग जोडिएको हुन्छ ।
पुरानो पुस्ताले आफ्नो अनुभव र संस्कार हस्तान्तरण नगरे तथा नयाँ पुस्ताले त्यसलाई आत्मसात् नगरे परम्परा क्रमशः कमजोर हुँदै जान सक्छ ।
रथयात्राले विभिन्न पुस्तालाई एउटै ठाउँमा जोड्ने अवसर प्रदान गर्छ ।
हजुरबुबा–हजुरआमाले आफ्नो बाल्यकालको रथयात्राको स्मृति सुनाउँछन्, अभिभावकले सन्तानलाई परम्पराको अर्थ बुझाउँछन् र नयाँ पुस्ताले त्यसलाई आफ्नै अनुभवसँग जोड्छ ।
युवालाई केवल दर्शकका रूपमा होइन, व्यवस्थापन, स्वयंसेवा, सुरक्षा, प्रविधि, सञ्चार तथा सांस्कृतिक प्रस्तुतिमा सहभागी गराइनु यस रथयात्राको विशेषता छ ।
यसले उनीहरूमा नेतृत्व क्षमता, अनुशासन, सहकार्य र सामाजिक उत्तरदायित्वको भावना अझ बलियो हुन्छ ।
ठूलो संख्यामा श्रद्धालु सहभागी हुने धार्मिक उत्सवलाई सुरक्षित, व्यवस्थित र अनुशासित रूपमा सम्पन्न गर्नु ठूलो व्यवस्थापकीय चुनौती हो ।
त्यसैले रथयात्राको तयारीमा धार्मिक पक्षसँगै व्यवस्थापकीय पक्षलाई पनि उत्तिकै महत्व दिन आवश्यक हुन्छ ।
स्थानीय प्रशासन, नेपाल प्रहरी, विभिन्न सुरक्षा निकाय, नेपाल रेडक्रस, विभिन्न सामाजिक संघसंस्था, युवा क्लब तथा स्वयंसेवकहरूसँग समन्वय गरी सुरक्षा तथा व्यवस्थापनका योजना बनाइन्छन् ।
रथयात्राका दिन मुख्य सडक तथा आसपासका क्षेत्रमा सवारी सञ्चालनमा आवश्यक नियन्त्रण गरिन्छ ।
विभिन्न चोकमा सुरक्षा व्यवस्था मिलाइन्छ ।
आधुनिक प्रविधिको प्रयोग गर्दै सीसीटीभी तथा आवश्यकतानुसार अन्य निगरानी प्रणालीको प्रयोगले भीड व्यवस्थापन र सुरक्षा थप प्रभावकारी बनाउन सहयोग पु¥याउँछ ।
आकस्मिक अवस्थाका लागि एम्बुलेन्स तथा स्वास्थ्यकर्मीको टोली तयारी अवस्थामा राखिनु पनि अत्यन्त आवश्यक हुन्छ ।
रथको डोरी, भीडको प्रवाह, यात्राको अनुशासन तथा सुरक्षा व्यवस्थापनमा खटिने स्वयंसेवक र सुरक्षाकर्मीको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ ।
यसरी परम्परागत धार्मिक यात्रालाई आधुनिक व्यवस्थापनसँग जोड्नु आजको आवश्यकता हो ।
पहिले रथयात्राको अनुभव प्रत्यक्ष उपस्थित हुने मानिसमा सीमित हुन्थ्यो ।
अहिले सञ्चार प्रविधिको विकासले यसको पहुँच धेरै टाढासम्म विस्तार गरेको छ ।
सञ्चारमाध्यम, डिजिटल प्लेटफर्म तथा सामाजिक सञ्जालमार्फत रथयात्राका दृश्य र गतिविधि देश–विदेशसम्म पुग्छन् ।
प्रत्यक्ष प्रसारण तथा डिजिटल सामग्रीका माध्यमबाट विराटनगरबाहिर र विदेशमा रहेका भक्तजनले समेत रथयात्राको दर्शन र अनुभव गर्न सक्ने अवसर पाउँछन् ।
यसले रथयात्राको प्रचार–प्रसार मात्र गर्दैन, विराटनगरको धार्मिक तथा सांस्कृतिक पहिचानलाई पनि व्यापक बनाउँछ ।
रथमा विराजमान भगवान् श्रीराधाकृष्ण केवल दर्शन दिन निस्कनुभएको धार्मिक प्रतीक मात्र होइन; उहाँले मानौँ विराटनगरवासीलाई प्रेम, सद्भाव, सेवा, करुणा र एकताको सन्देश दिनुभएको अनुभूति हुन्छ ।
यही अनुभूति नै रथयात्राको सबैभन्दा ठूलो शक्ति हो ।
यसले मानिसलाई भगवानसँग जोड्ने मात्र होइन, मानिसलाई मानिससँग जोड्ने काम पनि गर्छ ।
यसले धर्मलाई संस्कारसँग, संस्कारलाई संस्कृतिसँग, संस्कृतिलाई समाजसँग र समाजलाई नगरको पहिचानसँग जोडेको छ ।
यसैले यसको संरक्षण र संवर्द्धन सम्पूर्ण विराटनगरवासीको साझा दायित्व हो ।
यसको मौलिकता, धार्मिक गरिमा, ऐतिहासिकता र सामाजिक सद्भावलाई जोगाउँदै अगाडि बढ्नु छ ।
रथको यात्रा केवल भगवानको नगर परिक्रमा होइन, यो हाम्रो आस्थाको यात्रा हो ।
रथको डोरी केवल काठको रथ तान्ने डोरी होइन, यो समाजलाई एकताको सूत्रमा बाँध्ने डोरी हो ।
रथका पाङ्ग्रा केवल सडकमा गुड्ने पाङ्ग्रा होइनन्, यी विराटनगरको इतिहास र संस्कृतिलाई भविष्यतर्फ गुडाउने पाङ्ग्रा हुन् ।
साना खटबाट सुरु भएको यो महान् यात्रा युगौँसम्म निरन्तर चलिरहोस् ।
भगवान् श्रीराधाकृष्णको रथसँगै विराटनगरको धार्मिक, सांस्कृतिक, सामाजिक र मानवीय चेतनाको यात्रा पनि निरन्तर अगाडि बढिरहोस् ।
विराटनगरको यो अमूल्य सांस्कृतिक सम्पदा अझ उज्यालो बनोस्, आस्थाको यो धरोहर सुरक्षित रहोस् ।
विराटनगरको यो गौरव अक्षुण्ण रहोस् यही भावनाका साथ कलमलाई विराम दिन्छु ।
जय श्रीराधाकृष्ण !
View : 37
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved