Biratnagar, Morang, Nepal
१३ मंसिर २०८३, आइतवार
+977 21 450305, 515728, 578305
खेलकुद

बेलबारीमा नवौँ मेयर स्व. एनबी रुङ्‍माहाङ अन्तर्राष्ट्रिय गोल्डकप पुस ४ देखि

उद्‌घोष संवाददाता
१२ मंसिर २०८३, शनिवार

विराटनगर । मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गमा नवौँ बेलबारी मेजर स्व. एनबी रुङ्‌माहाङ अन्तर्राष्ट्रिय आमन्त्रण रनिङ गोल्डकप २०८३ को तयारी तीब्र पारिएको छ ।

डाँगीहाट युथ क्लबको आयोजनामा आगामी पुस ४ देखि १० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल र भारतका आठ टोलीले प्रतिस्पर्धा गर्ने निश्चित भइसकेको छ । क्लबले अहिले मैदानको तयारी र प्रतियोगिता व्यवस्थानको कामलाई जारी राखेको छ ।

प्रतियोगिताबारे जानकारी दिन शनिबार आयोजित पत्रकार सम्मेलनमा डाँगीहाट युवा क्लवका अध्यक्ष एवं बेलबारी–११ का वडाध्यक्ष विक्रम राईले अनेकौं चुनौतिका वावजुद प्रतियोगिताको तयारी तीब्र पारिएको जानकारी दिए ।

प्रतियोगितालाई नियमित प्रायोजन गर्दै आएको आरजु राईस मिल व्यवस्थापनले प्रयोजनलाई निरन्तरता नगरेका कारण ठुलो आर्थिक जिम्मेवारीका साथ तयारी अघि बढाईरहेको बताए ।

प्रतियोगिता सञ्चालनका लागि ७६ लाख १ हजार रुपैयाँ आम्दानी हुने अनुमान गरिएपनि आर्थिक स्रोत व्यवस्थापनमा चुनौति कायम रहेको बताए । प्रतियोगितालाई संचालन गर्न ७२ लाख ७४ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको जनाइएको छ । 

प्रतियोगिताको विजेताले नगद ८ लाख रुपैयाँ र उपविजेताले ४ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । पुरस्कार राशीका हिसाबले पूर्व क्षेत्रकै चर्चित फुटबल प्रतियोगिताका रुपमा बेलबारी गोल्डकप हुँदै आएको छ ।

यो प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५१ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । उत्कृष्ट गोलकिपर, उत्कृष्ट प्रशिक्षक (कोच), सर्वाधिक गोलकर्ता र उत्कृष्ट मिडफिल्डरले जनही १७ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिताको मुख्य आकर्षणका रूपमा डेढ तोला सुन र तीन किलोग्राम चाँदी जडित आकर्षक रनिङ ट्रफी रहेको आयोजकले जनाएको छ । प्रतियोगिताको उद्घाटन समारोहमा स्थानीय कलाकारहरूको नृत्य प्रस्तुति तथा विभिन्न जातजातिको भेषभूषासहित सांस्कृतिक झाँकी प्रदर्शन गरिने जनाइएको छ ।

अध्यक्ष राईले पूर्व क्षेत्रकै खेलकुद विकास र फुटबलको प्रवद्र्धनसँगै स्थानीय क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताए ।

प्रतियोगितामा आयोजक डाँगिहाट युथ क्लवसहित साविक विजेता प्लानिङ ब्वाईज क्लव काठमाडौं, भारतको मिक्स्ड क्लव कुर्साङ, सहलेस युवा क्लव सिरहा, विभागीय टोली नेपाल पुलिस क्लव, भोजपुर जिल्ला फुटबल संघ, थ्री स्टार क्लव काठमाडौं र रेडस्टार क्लब विर्तामोड सहभागी हुने जनाइएको छ ।

मोरङको पुरानो तथा लोकप्रिय खेलकुद गन्तव्यका रूपमा परिचित लक्ष्मीमार्गमा यसअघि आठवटा संस्करण सफलतापूर्वक सम्पन्न भइसकेका छन् । प्रतियोगितालाई निरन्तरता दिँदै खेलकुद क्षेत्रको दीर्घकालीन विकासका लागि रणनीति र कार्ययोजना निर्माण गर्ने लक्ष्य आयोजकले लिएको छ ।

प्रतियोगिताले स्थानीय खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडीसँग प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्नुका साथै नयाँ खेलाडी उत्पादनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । 

फुटबलप्रति युवाको आकर्षण बढाउने, उत्कृष्ट खेलाडीको पहिचान गर्ने र खेलकुदलाई व्यवसायीकरण गर्ने पनि प्रतियोगिताका प्रमुख उद्देश्य रहेका छन् ।

आयोजकले प्रतियोगितालाई भव्य र सभ्य रूपमा सम्पन्न गर्दै आगामी वर्षहरूमा समेत नियमितता दिने प्रतिबद्धता जनाएको छ ।

View : 58

१३ मंसिर २०८३, आइतवार

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved