Biratnagar, Morang, Nepal
२५ फागुन २०८२, सोमवार
+977 21 450305, 515728, 578305
समाज

रातभर जागा बसेर सर्प समाउँदै घिमिरे

उद्‌घोष संवाददाता
५ साउन २०८२, सोमवार

विराटनगरको एक घरमा राति समाएको सर्प देखाउंदै घिमिरे । तस्वीर : कमल/उद्घोष

विराटनगर । गर्मी र वर्षायाम भएकाले सर्पको जोखिम घरघरमा छ । अझ सुत्ने कोठाभित्र सर्प देख्ने बित्तिकै मानिसको होस मात्र हराउँदैन कोठा र घर नै छाडेर सर्प निस्कने आशामा बाहिर बस्नु पर्ने बाध्यता छ ।

विराटनगरमा भने यस्तो समस्या समाधान बनेका छन् शम्भु घिमिरे ।

विराटनगर महानगरपालिकाका सहायक प्रहरी निरीक्षक शम्भु घिमिरे धेरै रात सर्प समाउन घरघर जानु पर्ने भएकाले यो वर्षायाममा जागा बस्छन् ।

अधिकांश सर्प माटोमा भएको गहिरो दुलोमा बस्ने भएकाले यति बेला जमिनमा पानी जमेकाले सर्प बाहिर निस्किएर ओभानो ठाउँ खोज्न निस्कन्छ । वर्षायाममा सबैभन्दा सुख्खा ठाउँ भनेको मानिसको सुत्ने कोठा हो ।

केही दिनअघि राति साढे ११ बजे विराटनगर–३ बुद्धचोक नजिकै राजकुमार थापाको घरको भुई तलामा सुत्ने कोठामा अति विषालुमा पर्ने करेत सर्प समाउने क्रममा घिमिरेले आपूm सर्प समाउने हिड्नु पर्ने भएकाले रातभर पनि जागा बस्ने गरेको बताए ।

उनले त्यसै दिन विराटनगर ५ का वडाध्यक्ष सन्तोष न्यौपानेको घरबाट राति साढे २ बजे सर्प समाएका थिए ।

‘घरमा राति केही आवाज आए जस्तो लाग्यो, चोर त आएन ? निगरानी गर्न बाहिर निस्किएँ’ न्यौपानेले भने– ‘आँगन अगाडि ‘फ्वा’ गर्दै गोमन सर्प बसेको रहेछ अतालिएर शभ्मुजीलाई बोलाएं ।’ त्यस रात बेलुकादेखि बिहानीपखसम्म उनले ५ वटा घरमा गएर सर्प समाएका थिए । 

महानगरपालिकामा प्रहरीका रुपमा कार्यरत उनी सर्प समाएर घेरै मानिसलाई राहत दिएकालेनै हालै मात्रै बढुवामा परेका छन् ।

हवल्दारको पदबाट उनलाई महानगरले सहायक निरीक्षक बनाएको छ ।

सर्पको जोखिमबाट मानिसलाई जोगाउने काममा उनी सक्रिय भएको तीन वर्ष भयो ।

सर्प समाउने औजार उनको साथमा हुन्छ । ठूला सर्प समाउन सहज छ, सानोलाई सो औजारले चोट लगाउने भएकाले उनी अर्कै प्रक्रिया अपनाउँछन् । 

समाउने क्रममा सर्पलाई पनि क्षति नहोस भनेर उनले सकेसम्म कुनै पनि डब्बामा छिराउने प्रयास गर्छन् । 

‘ठूलो सर्प समाउन सजिलो सानोलाई गाह्रो, मानिस सुत्ने कोठाभित्र भाग्ने र लुक्ने गर्छ’ घिमिरेले भने– ‘जसरी पनि सकुशल समाएर वन कार्यालयमा पुर्‍याउने गरेको छु ।’

उनले सर्प समाएर वन डिभिजन कार्यालय मोरङमा बुझाउने गरेका छन् । 

घेरै सर्प समाएर मानिसलाई जोखिमबाट जोगाएकोमा उनलाई वन कार्यालयले सम्मान पनि गरेको छ । 

डिभिजन वन प्रमुख उत्सव थापाले बिहान र राति नभनी सेवामा दौडने भएकाले घिमिरेलाई सम्मान गरिएको बताए । घिमिरेले समाएर ल्याएको सर्प वन कार्यालयले छाड्ने गरेको छ ।

नेपाली सेनाको जागिरबाट पेन्सन भएपछी महानगर प्रहरीमा भर्ना भएका घिमिरे तीन वर्षअघि सर्प समाउने तालिममा परेका थिए । तालिमपछी उनले आफुलाई सर्प समाएरै दक्ष साबित गर्दै गएका छन् । 

साताअघि भारतमा गोमन सर्प समाउने ब्यक्ति क्यामेराको रेकर्डमै लडेको र मृत्यु भएको बारे घिमिरे त्यस खाले लापर्वाहीले मानिसको ज्यान जाने बताउँछन् ।

View : 362

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved