Biratnagar, Morang, Nepal
६ साउन २०८३, बुधवार
+977 21 450305, 515728, 578305
कोशी

प्रेस चौतारी नेपालको दशौं महाधिवेशन

चुनावको माग गर्दै सुरु भयो हस्ताक्षर अभियान

महाधिवेशनस्थलमै प्रतिनिधिहरूले चुनावको माग गर्दै हस्ताक्षर अभियान थालेका हुन् ।
उद्‌घोष संवाददाता
१० चैत २०८१, आइतवार

चुनावको माग गर्दै महाधिवेशनस्थलमा राखिएको ब्यानरमा हस्ताक्षर गर्दै एक प्रतिनिधि ।

Advertisement

विराटनगर । प्रेस चौतारी नेपालको दशौं राष्ट्रिय महाधिवेशनको बन्दसत्र सुरु नहुँदै नेतृत्व चयन चुनावी पक्रियाबाट हुनपर्ने माग गर्दै हस्ताक्षर अभियान सुरु भएको छ । विराटनगरको होटल मनास्लुमा आइतबार सुरु भएको महाधिवेशनस्थलमै प्रतिनिधिहरूले हस्ताक्षर अभियान थालेका हुन् । पार्टी नेतृत्वले अध्यक्षदेखि सदस्यसम्मको सूची भित्तामा टाँसेर अधिवेशन समापन गर्ने तयारी गरेको सुइँको पाएपछि देशका विभिन्न ठाउँबाट आएका प्रतिनिधिहरू हस्ताक्षर संकलन गर्न जुटेका हुन् ।

पार्टीका विभिन्न कमिटीहरूको नेतृत्व चयन गर्दा चुनावी प्रतिष्पर्धा गराउन नचाहने एमाले नेतृत्वले पत्रकारहरूको संस्था प्रेस चौतारीमा पनि सोही अभ्यासलाई निरन्तरता दिने प्रयास गरिरहेकोमा धेरै प्रतिनिधिहरूले असन्तुष्टि जनाएका छन् । अझ महाधिवेशन उद्घाटन गर्न आएका पार्टी महासचिव शंकर पोखरेलले प्रतिष्पर्धा होइन सहमति गर्न भनेपछि प्रतिनिधिहरू झनै रुष्ट भएका छन् । महाधिवेशन उद्घाटन गर्दै महासचिव पोखरेलले भने, ‘महाधिवेशन आजका दिनमा जुन परिस्थितिमा हुँदै छ, अहिले हामीलाई एकता चाहिएको छ’, यो अवस्थामा सर्वसम्मत र एकताबद्ध रूपमा नेतृत्व निर्वाचित गर्नू होला।’ 

यद्यपि आइतबार विराटनगरमा सुरु भएको चौतारीको  दशौं राष्ट्रिय महाधिवेशनको पहिलो दिन पार्टीका सबैजसो नेताहरु चुनाव नगराई सहमतिका नेता छान्नुपर्ने कसरतमा लागे पनि आकांक्षी उम्मेद्वारहरु भने चुनाव नै मागिरहेका छन्। महाधिवेशन सुरु नहुँदै प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रेस चौतारीको अध्यक्ष गणेश पाण्डेलाई बनाउन मौखिक निर्देशन दिएपछि महाविधेशन हलमा अन्योलको अवस्था छ। उपाध्यक्ष पाण्डेलाई अध्यक्ष र चेतन अधिकारीलाई महासचिव बनाउन ओलीले निर्देशन दिएपछि अर्का उपाध्यक्ष राजेश राई समूह कसैगरी चुनावमा जाने अडानमा छ। 

आइतबार बिहानसम्म पनि प्रधानमन्त्री ओली आउने भनेर प्रचारित कार्यक्रमको उद्घाटनमा उनी अनुपस्थित रहे। महासचिव शंकर पोखरेलले महाधिवेशन उद्घाटन गरे। उद्घाटन अघि पोखरेलले  भानुभक्त ढकाल, राजेन्द्र गौतम, घनश्याम खतिवडासहितका नेताहरू राखी उपाध्यक्ष राईसँग छलफल गरेका थिए। ‘पार्टीको निर्णय गणेश पाण्डेलाई अध्यक्ष बनाउनू भन्नेछ, तपाई स्वीकारेर जानुस्’, महासचिव पोखरेलले राईलाई भनेका थिए ‘पार्टी निर्णय मान्नुस्। तपाई पार्टी प्रचार विभागको सचिव बस्नुस्।’ 

उपाध्यक्ष राई निकट चौतारीका एक नेताले दिएको जानकारी नुसार जवाफमा उपाध्यक्ष राईले प्रतिनिधिहरूबाट छनोट हुन पाउने अधिकार प्रयोग गर्न पाउँ भन्ने अनुरोध गरेका थिए। ‘देशभरीबाट प्रतिनिधिहरू छानिएर आएका छन्, उनीहरूबाटै नेतृत्व छनोट हुने वातावरण पार्टीले बनाइदिनुपर्यो’, राईले भनेका थिए। 

चौतारीका नेताहरूका अनुसार गएको फागुन १६ गते प्रधानमन्त्री निवास बालुवाटारमा ओलीले एमाले जनसंगठन संयन्त्रका प्रमुख भानुभक्त ढकाल, प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतम र अध्यक्ष गणेश बस्नेतलाई एकै ठाउँ राखेर प्रेस चौतारी नेपालको अध्यक्ष राजेश राई, उपाध्यक्ष हिरामान लामा र महासचिव चेतन अधिकारीलाई बनाउन निर्देशन दिएका थिए । त्यही दिन प्रचार तथा प्रकाशन विभागको सचिव गणेश पाण्डेलाई बनाउनू भन्ने पनि निर्देशन ओलीले दिएका थिए । 

फागुन १८ मा बसेको पार्टी पदाधिकारी बैठकले गणेश पाण्डेलाई प्रचार सचिवमा मनोनित गर्यो । उनलाई प्रचार सचिव बनाउने निर्णयबारे वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रश्न गरेका थिए । पोखरेल आफू निकट पाण्डेलाई चौतारीको अध्यक्ष बनाउने लाइनमा थिए । उनले सचिव बनाउन नहुने बताएपछि ओलीले ‘अहिलेको आवश्यकता भएको भन्दै प्रेस चौतारी नेपालको अध्यक्ष राजेश राई, उपाध्यक्ष हिरामान लामा र महासचिव चेतन अधिकारी बनाउन’ निर्देशन दिएका थिए । लामा हालका महासचिव हुन् भने अधिकारी यसअघि ओली प्रधानमन्त्री हुँदा सचिवालयमा बसेर काम गरेका व्यक्ति हुन् । 

तर, चैत ६ को रातिपछि भने ओलीले एकाएक निर्णय फेरे । ‘६ चैतको रातिपछि एमाले सचिवालय बैठककै निर्णय उल्टियो’, चौतारीका नेताहरू भन्छन्  ‘त्यसदिन बालुवाटार पुगेका जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकाल, प्रचार विभाग प्रमुख राजेन्द्र गौतम र प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतलाई ओलीले त्यसरात गणेश पाण्डेलाई अध्यक्ष बनाएर आउन निर्देशन दिएका रहेछन् ।’ ओलीको सोही निर्देशनपछि उपाध्यक्ष राजेश राईले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका थिए भने गणेश पाण्डेले प्रचार सचिवबाट राजीनामा दिँदै उम्मेदवारी घोषणा गरेका छन् । 

अध्यक्षमा दाबी पेश गरिरहेका राई र पाण्डेले उम्मेदवारी घोषणा गर्दा एकअर्काविरुद्ध कटाक्ष पनि गरिरहेका छन् । पाण्डेले राईलाई यसअघि कहिल्यै ओलीलाई साथ नदिएको, २०७७ को महासंघ निर्वाचनमा चौतारीका उम्मेदवार हराउन भूमिका खेलेको लगायतका आरोप लगाइरहेका छन् भने राई र उनी पक्षका नेताहरूले पाण्डेको पृष्ठभूमिबारे नै प्रश्न उठाइरहेका छन् । लमजुङका पाण्डे शाहीकालमा राजाले गठन गरेको पत्रकार महासंघको समानान्तर समितिमा रहेर काम गरेका व्यक्ति भएको राई पक्षको आरोप छ।

View : 1256

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved