Biratnagar, Morang, Nepal
१४ कार्तिक २०८३, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

सोलुखुम्बुको चेरेममा पहिरोले ईङ्खु नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

उद्‌घोष संवाददाता
१४ कार्तिक २०८३, शनिवार

Advertisement

विराटनगर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ स्थित चेरेम गाउँमुनि निरन्तर पहिरो खस्दा ईङ्खु नदी थुनिएर अस्थायी बाँध बनेको छ ।

लगातारको वर्षासँगै पहिरो खस्ने क्रम जारी रहेकाले नदीमा पानीको बहाव अवरुद्ध भई अस्थायी ताल बनेको जानकारी प्राप्त भएको कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाले फेसबुकमार्फत जानकारी दिएका छन् । 

पहिरोका कारण बनेको अस्थायी बाँध जुनसुकै बेला भत्किन सक्ने सम्भावना रहेकाले ईङ्खुखोला, दूधकोशी र सप्तकोशी नदीका तटीय क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेका छन् ।

पहिरोका कारण बनेको बाँध एक्कासि फुटेमा थुनिएको पानी ठूलो परिमाणमा तलतिर बग्न सक्ने र नदीको बहाव तथा जलसतह अचानक बढ्न सक्ने जोखिम रहन्छ । विशेषगरी नदी किनार तथा तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने समुदायलाई नदीको बहावमा आउने परिवर्तनप्रति सचेत रहन आग्रह गरिएको छ ।

प्राप्त जानकारीअनुसार तत्कालै ठूलो विपद् निम्तिने सम्भावना भने देखिएको छैन । तथापि, उक्त क्षेत्रमा निरन्तर भारी वर्षा भइरहेकाले पहिरो थप खस्ने, अस्थायी बाँध कमजोर हुने र भत्किएर तल्लो तटीय क्षेत्रमा पानीको बहाव बढ्न सक्ने जोखिमलाई बेवास्ता गर्न नहुने जनाइएको छ ।

जलवायु तथा विपद् जोखिमका दृष्टिले यस्तो अवस्था प्राकृतिक जोखिमको संवेदनशील संकेत हो । पहिरोले नदी थुनिएर बनेको अस्थायी बाँधमा पानीको चाप बढ्दै जाँदा बाँध अचानक भत्किन सक्ने भएकाले सम्भावित जोखिम क्षेत्रका बासिन्दाले पूर्वसतर्कता अपनाउनु आवश्यक रहेको जनाइएको छ ।

नदी थुनिएको स्थानको अवस्था तत्काल स्थलगत अनुगमन गरी पानी जमेको मात्रा, बाँधको अवस्था र सम्भावित जोखिम क्षेत्रको पहिचान गर्ने प्रकृया अघि बढाउने जनाइएको छ ।

View : 50

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved