Biratnagar, Morang, Nepal
७ जेठ २०८१, सोमवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

सन्दर्भ: विश्व दम दिवस

'दमको समयमै उपचार नभए शरीरका अन्य महत्वपूर्ण अंग बिग्रन सक्छ'

जुनु भट्टराई
२५ वैशाख २०८१, मङ्गलवार

आज मंगलबार विश्व दम (अस्थमा) दिवस । विश्वभर  दम रोगको बारेमा जनचेतना जगाउन र दमका बिरामीहरूलाई रोगका बारेमा सचेत गराउने उद्देश्यले विश्व दम दिवस मनाइँदै छ । हरेक वर्ष मे महिनाको पहिलो मंगलबार मनाइने उक्त दिवस  मंगलबार मनाइएको हो ।
दममा विश्वभरको प्रमुख समस्या हो । दम (अस्थमा) श्वासप्रश्वास सम्बन्धी एउटा पुरानो रोग हो जसका कारण श्वासनली सुन्निने, फोक्सोमा अवरोध हुने, सास फेर्न गाह्रो हुने जस्ता समस्या देखा पर्छन् ।

पछिल्लो समयमा नेपालमा बर्सेनि दमका बिरामी बढ्दै गइरहेका छन् । दम एक गम्भीर श्वासप्रश्वास रोग हो । यदि समयमा उपचार प्राप्त भएन भने, अवस्था धेरै गम्भीर हुन सक्ने भन्दै चिकित्सकहरूले श्वासप्रश्वासको समस्या भएका व्यक्तिहरूले आफ्नो खानपान र जीवनशैलीमा विशेष ध्यान स्झुाव दिदै आएका छन् । दम रोग लाग्नुमा धुम्रपान मुख्य कारण भए पनि पछिल्लो समय बढ्दो वायुप्रदूषण पनि मुख्य कारण बन्न थालेको छ । दम कस्तो रोग हो ? कस्ता व्यक्तिलाई लाग्छ ? नेपालमा दम रोगीको अवस्था, चिसोको समयमा दमबाट बच्ने उपाय आदिका बारेमा उद्घोषकर्मी जुनु भट्टराईले छाती रोग बिशेषज्ञ डा अस्मितानन्द ठाकुरसँग गरेको कुराकानी–

दम कस्तो खालको रोग हो ?

दम भनेको श्वासप्रश्वास सम्बन्धी एउटा दीर्घ रोग हो । यो हरेक उमेर समूहका मानिसमा देखा पर्ने गर्दछ ।  विभिन्न उमेर समूहका व्यक्तिमा विभिन्न किसिमका दम हुन्छन् । यसमध्ये मुख्य गरी सीओपीडी दम धुम्रपान गर्ने व्यक्तिमा, वायुप्रदूषण (घरभित्र र बाहिरको प्रदूषण)को कारणले हुन्छ । यस्तै कम उमेर समूह र विशेषगरी महिलाहरू, एलर्जीका समस्या भएका व्यक्तिहरूलाई अस्थमा (दम)को समस्या देखिएको छ । साथै मुटुसम्बन्धी रोग भएका बिरामी, रक्तअल्पता र अन्य रोगका बिरामीलाई पनि श्वाँश्वाँ हुन्छ, त्यसलाई पनि सामान्य रूपमा दम नै भन्ने गरिन्छ । त्यसैले दम धेरै रोगको एउटा समूह हो भने शरीरमा हुने धेरै रोगको लक्षण पनि हो ।

बिरामीले आफूलाई दम भएको हो कि भनेर कसरी थाहा पाउने ?

दम रोगको पहिलो र मुख्य लक्षण भनेको श्वाँश्वाँ हुनु नै हो । श्वास फेर्न अप्ठ्यारो हुने हो । सुरूवाती अवस्थामा हेर्ने हो भने सामान्य अथवा भारी काम गर्दा, लामो बाटो हिड्नु पर्दा र फटाफट हिड्नु पर्दा, उकालो या सिंडी चढ्दा  श्वास फेर्न अप्ठ्यारो हुन्छ भने त्यो दमको पहिलो लक्षण हो । यो अवस्थामै उपचार भएन र दम बिग्रिदै गयो भने सामान्य काम गर्दा, दुई–चार पाइला हिड्दा पनि समस्या हुन्छ । बस्दाबस्दै पनि श्वास फेर्न गाह्रो हुन्छ ।

साथै दमका बिरामीलाई लामो समयसम्म खोकी लाग्ने, सेतो वा पहेंलो रङको खकार आउने, छाती दुख्ने, लामो समय खुट्टा सुन्निने वा निलो हुनेजस्ता लक्षणहरू रोग बढ्दै गएपछि आउने समस्याहरू हुन् । त्यसैले श्वास फेर्न गाह्रो भएको छ, छाती भारी भएको या श्वाँश्वाँ भइरहेको छ, छाती घ्यारघ्यार आइरहेको छ अथवा लामो समय खोकी लागेको छ भने दम रोग हुन सक्छ ।

विशेषत धुम्रपान गर्ने र विभिन्न कारणले प्रदूषित हावामा श्वास लिन बाध्य मानिसहरूमा यस्ता लक्षणहरू देखिएमा स्वास्थ्य संस्थामा गएर आफूलाई दम भए–नभएको पत्ता लगाउनु राम्रो हुन्छ । नेपालमा बढी मात्रामा देखिएको पनि सीओपीडी र आस्मा (दम) नै हो ।

दमले चिसोको समयमा धेरै समस्या निम्त्याउछ, किन ?

चिसोको समयमा दमको बिरामीमा बढी समस्या देखिने दुई–तीनवटा कारण छन् । चिसोको समयमा घरभित्र बस्न बढी रूचाउँछौं । त्यस्तो बेला एक अर्काप्रतिको नजिक बढी हुन्छ । त्यसले गर्दा छाती सम्बन्धी विझिन्न संक्रमण एकबाट अर्को व्यत्तिमा फैलिने सम्भावना बढी हुन्छ । विभिन्न खाले भाइरस संक्रमणहरू, रूघा खोकीको प्रकोप चिसोको समयमा बढी हुने देखिएको छ ।

चिसोको समयमा वायुप्रदूषणको कुरा गर्ने हो भने सहरमा बायुप्रदुषणको मात्रा बढी हुन्छ । चिसोले गर्दा दमका दीर्घ रोगी अथवा दमको समस्यानै नभएको व्यक्तिलाई पनि छाती सम्बन्धी विभिन्न समस्या आउने सम्भावना हुन्छ ।

दम वंशाणुगत रोग हो ?

आमा बाबुमध्ये कसैलाई आस्मा या एलर्जी सम्बन्धी दम छ भने परिवारका अन्य सदस्यलाई पनि आस्मा या एलर्जी सम्बन्धी दम हुने सम्भावना बढी हुन्छ । त्यसैले सीओपीडी दमभन्दा आस्मा दम वंशाणुगत हुने जोखिम धेरै हुन्छ ।  नेपाली नागरिकलाई धेरै देखिएको सीओपीडी दममा वंशाणुगत जोखिम कमै हुन्छ । तथापी केही रूपमा यो दममा पनि वंशाणुगत जोखिम चाहिं रहन्छ । तर, आस्मा दममा भने वंशाणुगत जोखिम धेरै देखिन्छ ।

दमबाट बच्नका लागि के–के कुरामा ध्यान दिनुपर्छ ?

दमका रोगीले मौषम अनुसार हेरचाह गर्नुपर्छ ।  चिसोको समयमा आफूलाई न्यानो राख्नु पर्‍यो, सकेसम्म चिसोबाट बच्नु पर्‍यो । दोस्रो कुरा दीर्घ श्वासप्रश्वासका जो रोगीहरू छन्, उनीहरूलाई समयमै स्वास्थ्य परीक्षण गरेर औषधि प्रयोग गर्न मेरो सुझाव छ । औषधिको नियमित प्रयोग गर्ने र दम बिग्रेको खण्डमा तुरून्त स्वास्थ्य संस्थामा जाने, स्वास्थ्य परीक्षण गर्ने र औषधिको मात्रा बढाउनु पर्ने हो भने बढाउनु पर्छ । मास्क प्रयोग गर्ने, वायुप्रदूषण भएको ठाउँमा आवत जावात कम गर्ने हो भने दम रोगी र श्वास प्रश्वासको रोगीमा आउने थप समस्याबाट बच्न सकिन्छ ।

दमको उपचार अन्य दीर्घ रोगजस्तै निरन्तर औषधि सेवन गर्नुपर्छ कि उपचारले पूर्ण रूपमा निको हुन्छ ?

दम भनेको श्वासप्रश्वास सम्बन्धी दीर्घ रोग हो । सीओपीडी दम एक पटक भएपछि पूर्ण रूपमा निको हुदैन । तर पूर्ण रूपमा निको नभए पनि विभिन्न किसिमको औषधिको प्रयोगबाट सबै दमका रोगीहरूले सामान्य जीवनयापन गर्न सक्छन् । धेरै मान्छेले दमको औषधिलाई नकारात्मक रूपमा लिन्छन् र चिकित्सकले सल्लाह दिंदा दिंदै पनि लामो समय प्रयोग गर्दैनन् ।यस्ता समस्याले गर्दा धेरैजसो दीर्घ श्वास रोगीहरू उपचार नै नगराई बसिराख्ने समस्या धेरै ठाउँमा देखिएको छ  । वंशाणुगत रूपमा हुने आस्मा दमका बिरामीले पनि तान्ने औषधि (इन्हेलर) प्रयोग गरेमा सामान्य अवस्थामा ल्याउन सकिन्छ । धेरैजसो बिरामीहरूले इन्हेलरको प्रयोग लामो समयसम्म गर्नु पनि पर्दैन, समस्या भएको बेलामा या समस्या बल्झेको बेलामा मात्र प्रयोग गर्नुपर्ने दमका विभिन्न उपचार पद्धतिहरू छन् ।
समयमा वा चिकित्सकको सल्लाह अनुसार औषधि प्रयोग गरिएन भने दम झन् जटिल बन्दै जाने, जीवनभरी औषधि प्रयोग गर्नुपर्ने हुन्छ । थप विभिन्न समस्याको पनि सामना गर्नुपर्ने हुन्छ ।

दम लागेपछि स्वास्थ्यमा थप अन्य समस्या आउँछ कि आउँदैन ?

दमको बिरामीले राम्रोसँग ख्याल नगर्ने हो भने अन्य समस्याहरू पनि आउँछन् । दमले मुख्य रूपमा फोक्सोलाई असर गर्छ । दम लागेपछि फोक्सोले श्वास लिने अथवा अक्सिजन शरीरमा पुर्‍याउने क्रम कम हुन्छ । यसका साथै दमले मुटुलाई पनि असर गर्छ । मुटुको दवाव बढाएर मुटु फेल हुने सम्भावना हुन्छ । साथै दमले अन्य विभिन्न समस्याहरू पनि निम्त्याउँछ । रक्तधमनी सम्बन्धी रोग सीओपीडी दम भएका बिरामीलाई बढी देखिन्छ ।

हुन त सीओपीडी दम र मुटुमा समस्या निम्त्याउनुमा धुम्रपानको पनि विशेष भूमिका हुन्छ । साथै हड्डी कमजोर हुने, व्यायाम गर्ने क्षमता कम हुने, हिड्न ड्ल्नु गाह्रो हुने, रक्तअल्पता हुने, कहिलेकाहीं रगत धेरै बढ्ने यस्ता जटिलताहरू सिओपिडी दम भएका बिरामीहरूमा आउँछन् । लामो समयसम्म उपचार नगराएका आस्मा दमका बिरामीहरूमा पनि यो समस्या देखिने सम्भावना हुन्छ । तर, समयमै उपचार गरियो भने यो सबै जटिलताबाट जोगिन पनि सकिन्छ ।

यसबाट जोगिन के गर्ने त ?

रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु उत्तम उपाय हो । त्यसैले दमको बारेमा समाजमा जनचेतना फैलाउन जरूरी छ । दम मुख्य रूपमा धुम्रपान, वायुप्रदूषण र पेशागत जोखिमका कारण लाग्ने रोग हो । यी कुराहरूलाई निर्मूल पार्नका लागि नीति निर्माणको तहबाट सरकारले गर्नुपर्‍यो भने हामी व्यक्तिले पनि यी कुरामा ध्यान दिनुपर्छ ।

View : 329

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved