Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

प्रशासन अगाडि निर्माण व्यवसायीको धर्ना

उद्‌घोष संवाददाता
३१ वैशाख २०८३, बिहिवार

विराटनगर । निर्माण सामग्री तथा इन्धनको चर्को मूल्यवृद्धिका कारण निर्माण उद्योग संकटमा परेको भन्दै निर्माण व्यवसायीहरूले बिहीबार जिल्ला प्रशासन कार्यालय मोरङअगाडि धर्ना दिएका छन् । 

नेपाल निर्माण व्यवसायी संघ मोरङको नेतृत्वमा पुगेका व्यवसायीहरूले आधा घण्टा धर्ना दिदै सरकारसँग तत्काल मूल्य समायोजनको व्यवस्था गर्न माग गरेका हुन् । 

धर्नामा नेपाल निर्माण व्यवसायी महासंघ कोशी प्रदेशका वरिष्ठ उपाध्यक्ष केशरकुमार बुढाथोकी, मोरङ अध्यक्ष महेशकुमार मिश्र लगायतका व्यवसायी सहभागी थिए । 

त्यसअघि व्यवसायीहरूले प्रमुख जिल्ला अधिकारी युवराज कटेललाई ज्ञापनपत्र बुझाएका थिए । 

ज्ञापनपत्रमा निर्माण उद्योग अर्थतन्त्रको प्रमुख आधार भए पनि मूल्यवृद्धिका कारण व्यवसाय धराशायी हुने अवस्थामा पुगेको उल्लेख गरिएको छ ।

व्यवसायीहरूका अनुसार मध्यपूर्वमा युद्ध चर्किएपछि डिजेल, मट्टितेल र बिटुमिनलगायत सामग्रीको मूल्य अस्वाभाविक रूपमा बढेको छ । 

महासंघका उपाध्यक्ष बुढाथोकीले फेब्रुअरी १५ मा प्रतिलिटर १ सय ३९ रुपैयाँ रहेको डिजेल हाल २ सय २५ रुपैयाँ पुगेको तथा बिटुमिनको मूल्य प्रतिकिलो ७५ रुपैयाँबाट १ सय ५५ रुपैयाँ पुगेको जानकारी दिए ।

निर्माण सामग्री, ढुवानी तथा श्रमिक लागतमा व्यापक वृद्धि भएकाले पुरानै दररेटमा काम गर्न नसकिने अवस्था सिर्जना भएको व्यवसायीहरूको भनाइ छ । 

उनीहरूले सबै ठेक्कामा तत्काल मूल्य समायोजन लागू गर्न, कालोसूचीमा नराख्न, बैंक ग्यारेन्टी जफत नगर्न तथा आयोजनाको म्याद थप गर्न सरकारसँग माग गरेका छन् ।

संघका मोरङ अध्यक्ष मिश्रले सरकारबाट समयमै निर्णय नभए देशभरका निर्माण कार्य ठप्प हुने चेतावनी दिए । 

ज्ञापनपत्र बुझ्दै प्रजिअ कटेलले निर्माण व्यवसायीको समस्या समाधानका लागि आफनो तर्फबाट पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

View : 169

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved