Biratnagar, Morang, Nepal
१ जेठ २०८२, बुधवार
+977 21 450305, 515728, 578305
समाज

मानगढ खानेपानी चुनाव :

अनावश्यक प्रचारले उपभोक्तालाई दवाब

उद्‌घोष सम्वाददाता
१ जेठ २०८२, बुधवार

विराटनगर । समुदायबाट सञ्चालनमा रहेर ६ हजार भन्दा बढी घरपरिवारलाई खानेपानीको सुविधा दिदै आएको मानगढ खानेपानी आयोजना विराटनगरको निर्वाचनको आवश्यक्ता भन्दा बढी प्रचार गरिएको छ ।

बढी तामझामसहित गरिएको उम्मेदवारको प्रचारले उपभोक्तामा बिभिन्न शंका उत्पन्न भएको छ । 

आगामी १० गते हुन लागेको निर्वाचनका लागि तीन वटा समूह प्यानलसहित प्रतिस्पर्धामा छन् । केही स्वतन्त्र उमेदवारहरू पनि छन् ।

‘धेरै रकम खर्च गरेर प्रचार भएको देख्दा आयोजनाबाट ब्यक्तिगत लाभ पनि हुनेमा शंका गरिएको छ’ एक उपभोक्ताले भने ।

गत वर्षको जेठमा भएको निर्वाचनमा विवाद भएपछि उच्च अदालतको आदेशमा पुनः मतदान हुन लागेको हो । 

उम्मेदवारको प्रचारमा लागेका दुई वटा प्यानलले हाल आयोजनामा आर्थिक अपारदर्शिता रहेको प्रतिवद्धतापत्रमा जनाएका छन् । 

हाल अध्यक्ष रहेका रामबहादुर घिमिरेको प्यानल र लालमणि भट्टराईको प्यानल दुबैलाई नेकपा एमालेका फरकफरक गुटको समर्थन छ ।

नेपाली कांग्रेसको समर्थन रहेको दुर्गा चापागाई नेतृत्वको प्यानलले प्रचारका क्रममा वितरित १५ बुँदे प्रतिवद्धतामा हालको समितिले तीन जना अधिकृत स्तरको कर्मचारीको तलव लिने गरेको दाबी गरिएको छ । 

चापागाई नेतृत्वको समिति निर्वाचित भए सो रकम नलिने तथा सिमान्तकृत, जनजाति वा न्यून आयस्रोत भएका परिवारलाई धारा जडान शुल्क र पानीको महशुलमा सहुलियत दिइने जनाइएको छ ।

भट्टराई नेतृत्वको प्यानलले सबै खाले आर्थिक प्रलोभनको अन्त्य गर्ने २७ बुँदे प्रतिवद्धतामा जारी गर्दै नयाँ धारा जडान लिइने हालको शुल्क न्यून गर्ने आश्वासन दिइएको छ । उनको प्रतिवद्धतामा हाल भइरहेको आयोजनाको खर्चलाई न्यूनीकरण गर्ने जनाइएको छ ।

आयोजना स्थापनादेखि नेतृत्व गरिरहेका र पुनः अध्यक्ष पदमा उमेदवारी दिएका घिमिरेको ९ बुँदे प्रतिवद्धतामा उपभोक्तालाई पानीको खपतअनुसार छुट दिने दाबी गरिएको छ ।

आफै अध्यक्ष भएर लामो अवधि नेतृत्व गरिरहदा नदिएको छुट अब पुनः निर्वाचित भएर आएपछि दिइने दाबी गरेर उनले मतदाताबाट फेरि मत पाउने अपेक्षा गरेका छन् ।

करिव ३० वर्ष खानेपानीमै काम गरेर विज्ञता हासिल गरेका घिमिरेले प्रतिवद्धतापत्रको अन्त्यमा उपभोक्तालाई नयाँ र सिकारुलाई मत दिन नहुने आशयको सन्देश दिएका छन् । 

‘नयाँ र सिकारुको हातबाट खानेपानी संस्था ध्वस्त हुनबाट जोगाउँ, पानीको अभावमा धरान र काठमाडौं जस्तो काकाकुल हुनबाट बचौं’ लेखेर उपभोक्तालाई आफूलाई नै मत दिन आग्रह गरेका छन् ।

गर्मीयाममा पानीको मागअनुसार आपूर्ति गर्न नसकेको आयोजनामा निर्वाचित भएर आए आवश्यक्ता जति पानी वितरण गरिने सबै समूहको दाबी छ । 

उत्तरी विराटनगरमा खानेपानी वितरण गर्दै आएको आयोजनामा गएका वर्षझै बैशाखको खडेरीमा पिउने पानीको आपूर्तिमा समस्या आउने गरेको छ । 

आयोजनालाई निर्वाचन लागेको डेढ वर्ष भएकाले यो अवधिमा दिगो हुने कुनै पनि काम हुन सकेको छैन ।

मानगढ खानेपानी आयोजना १ अर्ब ६ करोडको बजेटमा खानेपानी उत्पादन गर्ने योजना सञ्चालित छ । 

जमिनमुनिको पानी तान्ने मात्रै हैन पानीको सतहमा शुद्ध पानी बढाउने आयोजनाको कार्यक्रम छ । 

आकाशबाट परेको पानी शुद्ध बनाएर जमिनमुनि पठाउने योजना रहेको घिमिरेले बताए । आयोजनाले विराटनगरका १, ३ र ४ तथा बुढीगंगाको १ वडामा पानी उत्पादन गरी वितरण गर्दै आएको छ ।

View : 73

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved