Biratnagar, Morang, Nepal
६ साउन २०८३, बुधवार
+977 21 450305, 515728, 578305
कोशी

महेन्द्र मोरङमा नबिल एसएसई तालिम

उद्योगी रिजालले दिए उद्यमी बन्ने 'मन्त्र'

उद्‌घोष संवाददाता
१७ माघ २०८२, शनिवार

Advertisement

विराटनगर । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस र नबिल बैङ्कको सहकार्यमा सञ्चालित तीन महिने उद्यमशीलता तालिम (नबिल एसएसई) को आठौँ ब्याच अन्तर्गत सातौँ हप्ताको सत्र सम्पन्न भएको छ।

शनिबार आयोजित उक्त विशेष सत्रमा मोरङ व्यापार संघका निवर्तमान अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नवीन रिजाल मुख्य वक्ताका रूपमा सहभागी  भएका थिए ।

डिजिटल उद्यमशीलता र आर्थिक समुन्नति

रिजालको भान्सा ग्यास, रिजालको फेनोलेक्स र रिजालको पोलिट्याङ्क जस्ता स्थापित उद्योगका सञ्चालक रिजालले प्रशिक्षार्थीहरूमाझ आफ्नो व्यावसायिक सङ्घर्ष र अनुभव साझा गरे । उद्यमशीलताको विकासबिना देशको आर्थिक समुन्नति सम्भव नभएको बताउँदै उनले भने, "वर्तमान समयमा परम्परागत शैलीभन्दा डिजिटल उद्यमशीलतामा जोड दिनु आवश्यक छ।"

प्रशिक्षार्थीहरूका जिज्ञासाको उत्तर दिँदै उनले उद्योग स्थापनाका चुनौती र नयाँ अवसरहरूका बारेमा समेत विस्तृत चर्चा गरे। रिजालले विराट गोल्डकपको स्वरूप परिवर्तनमा समेत महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

लक्ष्य निर्धारण र योजना तर्जुमा

समारोहको दोस्रो सत्रमा उत्प्रेरक वक्ता ज्योतिकुमारी कोठारीले प्रशिक्षण दिएकी थिइन् । उनले प्रशिक्षार्थीहरूलाई कार्यतालिका निर्माण, भविष्यका लागि लक्ष्य निर्धारण र प्रभावकारी योजना बनाउने कलाका बारेमा प्रयोगात्मक जानकारी दिएकी थिइन् ।

२५ प्रशिक्षार्थीको सहभागिता

कार्यक्रमको सहजीकरण डा. मोहनकुमार सुवेदी र डा. चन्द्र तिम्सिनाले गरेका थिए । समारोहमा महेन्द्र मोरङ क्याम्पसका सहायक क्याम्पस प्रमुख रवि रोकाको पनि सक्रिय सहभागिता थियो।

सामाजिक उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालित यस आठौँ ब्याचमा २५ जना प्रशिक्षार्थीहरू सहभागी रहेको नबिल एसएसई कोशी संयोजक वेदप्रसाद संग्रौलाले जानकारी दिए ।

View : 374

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved