Biratnagar, Morang, Nepal
२६ फागुन २०८२, मङ्गलवार
+977 21 450305, 515728, 578305
राजनीति

एमाले मोरङ १० औं अधिवेशन : विस्थापनमा परे बाबुराम

उद्‌घोष संवाददाता
२० फागुन २०८१, मङ्गलवार

विराटनगर । ९ महिनाभन्दा लामो समय एमाले मोरङलाई संगठन कमिटीको अध्यक्षका रुपमा नेतृत्व गरेका बाबुराम कार्की अधिवेशनबाटै अध्यक्ष बन्न चाहन्थे । तर, संस्थापन पक्षले उनलाई अध्यक्ष बनाउन नचाहँदा उनको इच्छा यसपटक पूरा नहुने भएको छ । उपाध्यक्ष हुँदै संगठन कमिटी अध्यक्ष भएका उनी जिल्ला नेतृत्वबाट विस्थापनमा परेका छन् ।

संस्थापन पक्षले उनैलाई भावी अध्यक्ष बनाउने आशा देखाएको थियो । त्यही आशा देखाएरै महानगरका तत्कालीन अध्यक्ष सागर थापासहितका नेताहरूलाई पार्टी सदस्यबाटै हटाउन लगाएको थियो । 

अध्यक्ष बन्ने आशामा नेतृत्वको इच्छाअनुसार लुरुलुरु निर्णय गर्दै गएका कार्कीलाई अन्तिम समयमा भने सोही टिमले अध्यक्ष बनाउन अस्वीकार गरेको छ । 

‘मलाई नेताहरूले प्रयोग गरे अनि मिल्काए’, संगठन कमिटीका अध्यक्ष बाबुराम कार्कीले आफू निकट कार्यकर्ताहरूलाई भनेका छन् ‘मलाई अनावश्यक रुपमा विवादमा पारे, अन्तिममा धोका दिए ।’ 

विराटनगरको मानगढ खानेपानीमा पार्टीले भनेभन्दा फरक व्यक्तिलाई उम्मेदवार बनाएको आरोपमा थापालाई जिल्ला संगठन कमिटीका अध्यक्ष कार्कीले कारबाही गरेका थिए ।  

‘अन्तिममा म कुनै पनि समूहको बनिनँ भन्ने उहाँको गुनासो छ’ कार्की निकट ती कार्यकर्ताले भने ‘उहाँले आफूलाई प्रयोग मात्रै गर्न खोजिएको भनेर चित्त दुखाउनुभएको छ ।’ 

महानगर अध्यक्ष थापासहितका नेता कार्यकर्तालाई गएको जेठमा कार्कीले नै कारवाही गरेका थिए । 

ढकाल पक्षका नेताहरूले यसपटकको अधिवेशनमा त्यही विषयलाई एउटा मुख्य चुनावी एजेन्डा बनाएका छन् ।

View : 649

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved