Biratnagar, Morang, Nepal
२१ वैशाख २०८२, आइतवार
+977 21 450305, 515728, 578305
आर्थिक

उमागौरी सहकारी ठगी प्रकरण : दुई लाख धरौटी तिरेर छुटे लोहनी

उद्‌घोष सम्वाददाता
११ माघ २०८१, शुक्रवार

विराटनगर । मोरङको धनपालथान गाउँपालिका–४ स्थित उमागौरी कृषि सहकारी संस्थाबाट सदस्यहरूले लिएको ऋण रकम हिनामिना सम्बन्धी मुद्दाका अर्का आरोपी धनपालथान–४ का सुमन लोहनी २ लाख रूपैयाँ धरौटीमा रिहा भएका छन् ।

उक्त मुद्दाका २६ जना आरोपीहरू मध्ये लोहनी बिहीबार जिल्ला अदालत मोरङमा उपस्थित भएका थिए । उनीविरूद्ध भएको थुनछेक बहसपछि न्यायाधीश अरूणकुमार झाको इजलासले २ लाख रूपैयाँ धरौटीमा छाड्न आदेश दिएको जिल्ला अदालत मोरङले जनाएको छ ।

जिल्ला अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार माग भएको धरौटी नगदै बुझाएर लोहनी छुटेका छन् ।

यो मुद्दामा हालसम्म मोरङ जिल्ला अदालतमा उपस्थित भएका ६ जना प्रतिवादीहरू मध्ये ५ जना धरौटीमा छुटेका छन् । 

सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइराला समेत मुछिएकी यो मुद्दामा अहिलेसम्मकै सवैभन्दा धेरै १० लाख रूपैयाँ धरौटी दाखिला गरेर छुटेकी थिइन् ।

कोइराला उमागौरी कृषि सहकारीको सञ्चालक समितिको सदस्य रहेको बेलामा उक्त सहकारीबाट ऋण लिएका ऋणिहरूको ऋण रकम नै हिनामिना भएको भन्दै उक्त सहकारीका अध्यक्ष शम्भुप्रसाद रौनियारसहित २६ जना विरूद्ध अभियोग पत्र दायर भएको छ । जसमा २२ करोड २८ लाख २७ हजार ७ सय रकम हिनामिना भएको भनि उल्लेख छ ।

उक्त सहकारीको लेखा परीक्षण प्रतिवेदनमा भने अञ्जलाले रकम अपचलन गरेको नदेखिएको, २० जनाको जाहेरीमा कतै पनि अञ्जलाविरूद्ध किटानी नभएको र १९ जनाले गरेको कागजमा पनि उनको संलग्नता पुष्टि हुने गरी कुनै तथ्य उल्लेख नभएको उनका कानुन व्यवसायीहरूको जिकिर रहेको छ ।

अदालतका अनुसार यो मुद्दामा अझै २० जना फरार सूचीमा छन् । उनीहरू विरूद्ध पक्राउ पूर्जी जारी भइसकेको मोरङ प्रहरीले जनाउने गरेको छ । तर पक्राउ गर्न भने तदारूकता नदेखाएको प्रहरीमाथि पनि आरोप लागेको छ ।

View : 170

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved