Biratnagar, Morang, Nepal
७ जेठ २०८१, सोमवार
+977 21 450305, 515728, 578305
कोशी

सडकमा मनपरी, ट्रकमा तीन गुणा बढी भार

भारवहन क्षमता भन्दा अत्यधिक सामान लोड गरेर पश्चिमबाट पूर्वतर्फ आइरहेका ९ वटा मालबाहक ट्रकलाई सोमबार सुनसरीको कोशी कटानस्थित नापतौल पुलमा नियन्त्रणमा लिएर कारवाहीका लागि ट्राफिक प्रहरीलाई बुझाइएको छ ।
कमल रिमाल
२५ वैशाख २०८१, मङ्गलवार

कोशी कटानमा नियन्त्रणमा लिइएका ट्रक । तस्वीर: उद्घोष

विराटनगर । सडक र ट्रकको क्षमता भन्दा अत्यधिक बढी तौल बोक्ने साधन सामान्य जरिवाना तिरेर बेरोकटोक गुड्न पाउछन् । जसका कारण जोगवनीबाट विराटनगर आउने कोशी राजमार्गमा कालोपत्रे बीचमा भासिएर डिलहरू बनेका छन् । डिल पार गर्न दुई पाङ्ग्रे साधनलाई हम्मे पर्छ ।

सडक भासिनुमा मुख्य कारण अत्यधिक भार बोकेका साधन हुन् । साधन र सडकको क्षमताले नभ्याउने गरी भार बोक्नेले सरकारी निकायका सडकमा भेटिने कर्मचारीबाटै सहयोग पाएका हुन्छन् । त्यस बापत उनीहरूले आर्थिक लाभ लिने गरेको ट्रक यातायात ब्यवसायी नै स्वीकार गर्छन् । सडकमा हुने ट्राफिक प्रहरीको सहमतिमा लगिने बढी भारतका साधनले सडक बिगारेको राजधानी युवा क्लव विराटनगरका अध्यक्ष राजु ढकाल बताउँछन् ।

भारवहन क्षमता भन्दा अत्यधिक सामान लोड गरेर पश्चिमबाट पूर्वतर्फ आइरहेका ९ वटा मालबाहक ट्रकलाई सोमबार सुनसरीको कोशी कटानस्थित नापतौल पुलमा नियन्त्रणमा लिएर कारवाहीका लागि ट्राफिक प्रहरीलाई बुझाइएको छ ।

विराटनगर ट्रक व्यवसायी संघ र कोशी ट्रक व्यवशायी संघले सञ्चालन गरेको नापतौल पुलमा ती  ट्रक नियन्त्रणमा लिइएको हो । ब्यवसायीले नियन्त्रणमा लिएका ट्रकले एक लाख रूपैंयाँ भन्दा बढी भ्याट छली गरेको पनि पाइएको छ । क्षमता भन्दा बढी भार बोक्नेले तौलमा कर छली गर्ने गरेका छन् । तिनलाई यातायात कार्यालयले कारवाही गर्ने गरे पनि भार कम नगरी ट्राफिक प्रहरीले छाड्ने गरेको पाइएको छ ।

ब्यवसायी संघले ब्यवसायीलाई नै किन अवरोध गरियो भन्ने प्रश्न उठे पनि यसको जवाफमा नेपाल ट्रक यातायात ब्यवसायी महासंघका केन्द्रीय उपमहासचिव मेघराज सिग्देल भन्छन्–‘यातायातले कारवाही गर्ने र कारवाही गरेको बील लिएर त्यत्तीनै भार बोकेर हिंड्ने नियम बिरूद्ध हामी लागेका र्हौं ।’

धनुषा जनकपुरको कसमस सिमेन्ट र सौर्य सिमेन्ट सिरहाबाट सिमेन्ट र क्लींकर बोकेर झापा जादै गर्दा ती ट्रकहरू नियन्त्रणमा लिइएको कोशी ट्रक व्यवसायी सघंका उपाध्यक्ष तथातौल पुलका इञ्चार्ज गणेश श्रेष्ठ बताउँछन् ।

बा ३ ख १५८४, ना ६ ख १३१३, ना ६ ख ५७०७, ना ५ ख २९८३, ना ६ ख २८९४, ना ६ ख ६९६, ना ६ ख ६१५, प्र १–०२–००१ ख ९७०८ र ना ५ ख ४१७२ नम्बरका २१ टन क्षमताका १२ चक्के ट्रकमा ४० देखि ५९ टन सम्म लोड गरेको पाइएपछि जाँचमा बसेका व्यवसायीले ट्रक नियन्त्रणमा लिई ट्राफिक प्रहरी कार्यालयमा बुझाएको छ ।

नेपाल सरकारले तोकेको मापदण्ड भन्दा बढी मालसामान वोकेका साधन नियन्त्रणमा लिएर कारवाहीको दायरामा ल्याउन ब्यवसायी नै अग्रसर भएको बताइएको छ ।

ट्रक ब्यवसायी संघले नियन्त्रणमा ती ट्रकलाई कारवाहीका लागि ट्राफिक प्रहरीलाई बुझाएको छ ।

क्षमता भन्दा बढी सामान लोड गर्न नपाईने र त्यस्तो पाइए भारवहन नियमन सम्बन्धी निर्देशिका २०७४ अनुसार अनलोड गरेर अर्को सवारीसाधनमा लोड गरी पठाउनुपर्नेमा सिरहादेखि ती ट्रकहरू प्रहरीकै ‘सेटिंग’मा थोरै जरिवाना बुझाएर यहाँसम्म आएको व्यवसायीले आरोप लगाएका छन् । ती  ट्रकमा  गर्दा ढुवानी सेवाको बिलबिजक समेत नभएको पाइएको छ ।

नौ वटा ट्रकमा समान ढुवानी बापतको भ्याट तथा टीडीएस जम्मा १ लाख ७ सय ६६ रूपैयाँ कर तिर्नुपर्ने हुन्छ । सो रकमको भ्याट विल नकाटी कर छली गरेको पाइएको व्यवसायीको भनाइ छ । जनकपुरबाट आएका ट्रकले क्षमता भन्दा बढी माल बोकेको मात्रै हैन भ्याट नतिरेको, लहानमा जरिवाना तिरेर पुनः सोही भार बोकेर कोशी प्रदेश छिरेको, राजश्व छली गरेको लगायतका कम्जोरी गरेको पाइएको छ ।

यातायात कार्यालय लहानबाट जनही ट्रकलाई ६ हजार रूपैंयाँको दरले कारवाही भएपछि ट्राफिक प्रहरीले आर्थिक लाभ लिएर ती ट्रक छाडेको ब्यवसायीको आरोप छ ।

कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका सूचना अधिकारी नायव उपरीक्षक मोहनबिक्रम दाहालले नियन्त्रणमा लिइएका ट्रकबाट क्षमता भन्दा बढी सामान उतारेर मात्रै छाडिने बताए । ब्यवसायीले नै लगानी गरेको भार बहन क्षमता नाप्ने उपकरणमा समेत मिलेमलो भएपछि यसअघि संघका कर्मचारी र ट्राफिक प्रहरी कारवाहीमा परेका थिए ।

View : 106

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved