विराटनगर । दुई सन्तान लिएर सँगै सुतेका श्रीमानबाटै आफ्नो हत्या हुनसक्छ भन्ने अनुमान मात्रै गरेकी थिइन् भने ३२ वर्षीया कोमल साह अहिले जिवित रहन्थिन् ।
आमाको हत्या गर्ने बाबु जेल जाँदा स–साना छोराछोरी बेवारिसे हुने अनुमान गरेकी हुन्थिन् भनें श्रीमानले नभई उनी आफैं टिकटकको एकाउण्ट बन्द गर्थिन् ।
विराटनगर–१५ हड्तालिहाट बस्ने कोमल साहको हत्या गरेर शव लुकाएको ५ दिनपछि प्रहरीले उनका श्रीमान ३५ वर्षीय रोशन साहलाई पक्राउ गरेको छ ।
श्रीमान श्रीमतीको विवाद परालको आगो सरह हुने भएकाले सामान्य झगडाले हत्याको रुप लिनसक्छ भन्ने नसोची घरमा उनी ढुक्क थिइन् ।
चैत ५ गते राति १२ बजेपछि उनको हत्या गरेर श्रीमानले ४ किलोमिटर टाढा विराटनगर–१७ मण्डापोखरी नजिक छाला उद्योग नजिकैको फोहरमा शव फालेको प्रहरी नायव उपरीक्षक लीलाराज लामिछानेले बताए ।
हत्यापछि ८ गते रोशनले इलाका प्रहरी कार्यालय रानीमा श्रीमती हराएकाले खोजीका लागि हुलियासहित जाहेरी दिएका थिए ।
सारी र गलबन्दीले घाँटी बेरेर मारेपछि हातखुट्टा बाँधेर तन्नामा पोको पारी सिटी सफारीमा लगेर शव फालिएको थियो ।
संधै दुर्गन्ध फैलने ठाउँमा शव फाल्दा कसैले थाहा नपाउने भएकाले रोशनले आफ्नै दाजु ४६ वर्षीय दिपेन्द्र साहको सहयोगमा शव फालेका थिए ।
पक्राउ परेका दाजुभाई दुबैलाई बुधबार जिल्ला अदालतले ५ दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएको छ ।
चैत १० गते अपरान्ह स्थानीयले तन्नाभित्र शव देखेर प्रहरीलाई खबर गरे ।
शव केही गलेकाले मृतकको पहिचान गर्न प्रहरीले हराएका मानिस बारेका जाहेरी खोजी गर्दा कोमल साहको हुलियासँग मेल खाएको नायव उपरीक्षक लामिछाने बताउँछन् । थप पहिचानका लागि विराटनगर–६ मा रहेका कोमलका माइतीका सदस्यलाई बोलाइएको थियो ।
विराटनगर–१५ का वडाध्यक्ष प्रकाश साहका अनुसार रोशन र कोमल बीचको बिवादबारे छिमेकीमा पनि खासै चर्चा थिएन ।
राति छोराछोरी र श्रीमान श्रीमती एकै ठाउँमा सुतेको र पानी पिउनसँगै उठेका बेला हत्या भएको पाइएको साहले बताए । स्रोतका अनुसार यो हत्यासम्मको घटना सामाजिक सञ्जालले सिर्जना गरेको हो ।
‘कोमलले टिकटकमा अन्य मानिससंग धेरै घुलमिल गरेको रोशनलाई ठिक लाग्दैन थियो ।
४, ५ महिनाअघि रोशनलेनै टिकटक एकाउण्ट बन्द गरिदिएका थिए’ एक प्रहरी अधिकृतले भने । केही महिना टिकटक बन्द गरेर बसेकी कोमल पुनः सक्रिय भएको थाहा पाएपछि रोशनले मध्य रातमा उनको हत्या गरेको बताइएको छ ।
श्रीमतीको हत्यापछि रोशनले ससुरालीमा उनी हराएको जानकारी गराए ।
त्यसपछि प्रहरीमा निवेदन दिए । घटनामा शंका नहोस् भनेर उनी पहिलेको तुलनामा बढीनै ससुरालीको सम्पर्कमा थिए ।
कोमलको शव फेला पर्ने बित्तिकै प्रहरीले रोशनमाथिनै शंका गरेर तत्काल नियन्त्रणमा लिई सोधपुछ गर्दा उनले घटना स्वीकार गरेका थिए ।
शव फालिएको स्थान एकान्त र दुगन्र्धित छ । उद्योगबाट आउने काँचो छालाको पानी र स्थानीयले सोही ठाउँमा फोहर फाल्ने भएकाले सडक प्रयोगकर्ता नाक थुनेर हिंड्छन् ।
केही वर्षअघि सोही ठाउँमा एक युवकको हत्या गरेर फालिएको शव सडेको अवस्थामा फेला परेको थियो ।
View : 118
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved