विराटनगर । सुनसरी प्रहरीले कोशी नदी किनारमा तैरिरहेको अवस्थामा ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । कोशी गाउँपालिका–७ केरावारी र भाण्टाबारीको बीचमा रहेको सप्तकोशी नदीको बाँध क्षेत्रबाट ३०८ किलो गाँजा फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार असार बिहीबार विहान करिब ९ः३० बजेतिर जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय भाण्टाबारीबाट खटिएको संयुक्त प्रहरी टोली नियमित गस्तीमा रहेका बेला कालो प्लास्टिकले बेरेर शंकास्पद रुपमा आठवटा पोका फेला पारेको जनाइएको छ ।
प्रहरीले पोका खोलेर जाँच गर्दा गाँजाजस्तो देखिने पदार्थ रहेको पाइएपछि बरामद गरेको जनाएको छ । बरामद गरिएको गाँजाको तौल ३०८ किलोग्राम रहेको प्रहरीले जनाएको छ ।
घटनापछि बरामद गरिएको गाँजा जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई थप अनुसन्धान सुरु गरिएको छ । साथै उक्त गाँजा कसले ल्याएर बेवारिसे छाडेको हो भन्ने विषयमा संलग्न व्यक्तिहरूको खोजी कार्यसमेत तीव्र पारिएको प्रहरीले जनाएको छ ।
View : 41
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved