उदयपुर । उदयपुरको पर्यटकीय क्षेत्र रौता पोखरीसम्म पुग्ने सडक निर्माणले गति लिएको छ । त्रियुगा नगरपालिका–१५ डहरदेखि रौतामाई गाउँपालिका हुँदै रौता पोखरी जोड्ने सडक निर्माणलाई पूर्णता दिन कोशी प्रदेश सरकारबाट स्रोत सुनिश्चित भएसँगै सडक निर्माणको काम थप अघि बढ्ने भएको हो ।
गाईघाटदेखि रौता पोखरीसम्म सहज आवागमनका लागि सडक निर्माणलाई प्राथमिकतामा राख्नका लागि निरन्तर पहल गर्दै आएको कोशी प्रदेशसभाकी उपसभामुख सिर्जना दनुवारले बताइन् । उनले जिल्लाकै महत्वपूर्ण धार्मिक पर्यटकीय स्थलका रुपमा रहेको रौता पोखरीसम्म सहज रुपमा यातायात सेवा संचालन हुन सके अझ यस क्षेत्रको विकासले गति लिने उनले बताइन् ।
यो सडक निर्माणका लागि कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८०÷०८१ मा १ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको थियो । पूर्वाधार विकास कार्यालय उदयपुरमार्फत ठेक्का आह्वान गरी निर्माण कार्य सुरु गरिएको थियो । सडकमा आवागमन अत्यन्तै कठिन रहेका स्थानमा ढलान तथा नाला निर्माणको काम गरिएको थियो ।
त्यसैगरी, सडक निर्माणलाई निरन्तरता दिन आर्थिक वर्ष २०८१÷०८२ मा प्रदेश सरकारले थप ३ करोड रुपैयाँ विनियोजन गरेको थियो । उपसभामुख दनुवारको विशेष चासो र निरन्तर पहलपछि रानिबास–रौता पोखरी–रसुवाघाट सडकअन्तर्गत रानिबास–डहर–रौतामाई खण्डको पहिलो प्याकेजका लागि १५ करोड रुपैयाँको बहुवर्षीय स्रोत सहमति प्राप्त भएको जनाइएको छ ।
स्रोत सहमतिपछि पूर्वाधार विकास कार्यालय उदयपुरले ठेक्का आह्वान गरेर थप साढे तीन किलोमिटर सडकको कालोपत्रे गर्ने तयारी भइरहेको जनाइएको छ । पुससम्म ३ हजार ४ सय मिटर सडक नालासहितको थप कालोपत्रे गरिसक्ने तयारी अघि बढेको छ ।
बाँकी करीव ४ किलोमिटर सडक निर्माणका लागि दोस्रो प्याकेजको ठेक्का लागि पनि आवश्यक प्रक्रिया अघि बढाइएको छ । उपसभामुख दनुवारको निरन्तर पहलमा पूर्वाधार विकास कार्यालय उदयपुरले उक्त सडकको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरी भौतिक पूर्वाधार विकास मन्त्रालयमा पेश गरिसकेको छ ।
सोही डीपीआरका आधारमा रानिबास–डहर–रौतामाई खण्डको दोस्रो प्याकेज निर्माणका लागि आर्थिक वर्ष २०८३-८४ मा १० करोड रुपैयाँको बहुवर्षीय स्रोत सहमति प्राप्त भएको जनाइएको छ ।
दोस्रो प्याकेजको सडक निर्माण प्रक्रिया अघि बढाउने विषयमा उपसभामुख दनुवारसहित पूर्वाधार विकास कार्यालय उदयपुरका कार्यालय प्रमुख गंगाप्रसाद यादवसहित इन्जिनियर तथा प्राविधिक टोली, स्थानीय जनप्रतिनिधिहरूले स्थलगत निरीक्षण गरेका छन् ।
स्थलगत निरीक्षणका क्रममा बाँकी सडक निर्माणको अवस्था, प्राविधिक पक्ष तथा निर्माण कार्यलाई प्रभावकारी रूपमा अघि बढाउने विषयमा छलफल भएको जनाइएको छ ।
दोस्रो प्याकेजअन्तर्गतको सडक निर्माणका लागि चालु आर्थिक वर्षको मंसिर महिनाको अन्तिम सातातिर ठेक्का आह्वान गर्ने तयारी भइरहेको पूर्वाधार विकास कार्यालय स्रोतले जनाएको छ ।
गाईघाट रौता सडक निर्माण सम्पन्न भएपछि गाईघाट सदरमुकामबाट रौता पोखरीसम्म पुग्न पर्यटक तथा स्थानीयवासीलाई सहज हुनेछ । धार्मिक तथा प्राकृतिक पर्यटकीय सम्भावना बोकेको रौता पोखरीसम्मको पहुँच सहज हुँदा जिल्लाको पर्यटन प्रवद्र्धनमा ठुलो योगदान पुग्ने स्थानीयले बताएका छन् ।
त्यसका साथै, रौतामाई क्षेत्रका स्थानीयवासीको आवागमन, कृषि उपजको बजार विस्तार तथा स्थानीय आर्थिक गतिविधि बढेर जाने अपेक्षा गरिएको छ ।
View : 128
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved