विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले पार्टीको विराटनगर महानगर कमिटीको दोस्रो सम्मेलनमा सहभागी थोरै भएको भन्दै खिन्नता प्रकट गरेका छन् ।
आइतबार विराटनगर–४ स्थित शुभ ब्याङ्क्वेटमा महानगर सम्मेलनको उद्घाटन गर्दै उनले पार्टी समर्थक रहेका जनताको उपस्थिति नभएको भन्दै असन्तुष्टि जनाएका हुन् ।
पार्टीको केन्द्रीय अध्यक्ष नै आउने कार्यक्रमको तयारी समेत फितलो देखिएको उनले टिप्पणी गरेका छन् ।
‘मलाई महाननगरको सम्मेलनमा पार्टीका प्रतिनिधिमात्रै होइन, जनताको पनि राम्रै उपस्थिति हुन्छ भन्ने सोचेर आएको थिएँ, अन्यत्र पनि गाउँ नगर सम्मेलन हुने गरेका छन्, त्यहाँ जनताको पनि मनग्गे उपस्थिति गराउने कोसिस भएको छ’ प्रचण्डले भने, ‘विराटनगरमा त त्यो स्वभाविक रुपले होला भन्ने सोचेको थिएँ, यहाँ त प्रतिनिधि र पर्यवेक्षकमात्रै देखियो ।’
पछिल्ला दिनमा आफुले जहाँ टेक्यो त्यहिँ माओवादीले जितेका कारण आफ्नो उपस्थितिमा हुने हरेक कार्यक्रममा नेता कार्यकर्तामात्रै नभई जनताको उपस्थिति हुनुपर्ने उनको भनाई थियो । उनले कन्टेन्टमात्रै राम्रो भएर हुने भन्दै माहौल पनि देखाउनुपर्ने बताए ।
‘जे जे भएपनि महानगरको सम्मेलन र पार्टीको केन्द्रीय अध्यक्ष नै आउने सम्मेलनको तयारी अलिक फितलो त देखियो, सबैले यो महसुस गर्न जरुरी छ, यति फितलो त देखिनु हुने थिएन, गुणात्मक रुपमा भने राम्रै गर्नुहुन्छ भन्ने विश्वास छ’ उनले भने, ‘कन्टेन्ट मात्रै राम्रो भएर हुन रहेनछ, अहिलेको राजनीतिक माहौलमा सारमात्रै राम्रो देखिएर नहुने रहेछ, रुप पनि राम्रो हुनुपर्छ, रुपले पनि अर्थ राख्छ ।’
आफु पार्टीका नेताहरूकै आग्रहमा यसअघि उपनिर्वाचन र स्ववियू निर्वाचनताका विराटनगर आएको स्मरण गर्दै त्यतिबेला आफु पुगेका ठाउँमा माओवादीले जितेको बताएका थिए ।
माओवादीले आफ्नो जनाधारका रुपमा उठाएका वर्ग समुदायसँगको सम्बन्ध टुटेको भन्दै अब फेरी दाह्रो गरी उनीहरू सम्बन्ध पुनस्र्थापित गर्नुपर्ने बताए । सोही अभियान अन्तरगत जनतासँगको सम्बन्ध पुनर्जिवित भएर उत्कर्षतिर गइरहेको प्रचण्डले दाबी गरे ।
‘हजारौं हजार पार्टी प्रवेशका कार्यक्रम भएका छन्, अब झन नयाँ जागरण र लहर आउँदैछ’ उनले भने ।
View : 585
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved