विराटनगर । श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य हर्क साम्पाङलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।
लापरवाहीपूर्वक मोटरसाइकल चलाएको आरोपमा उनी कारबाहीमा परेका हुन् । ट्राफिक नियमको पालना नगरेको भन्दै प्रहरीले उनलाई जरिवाना गरेको छ ।
सांसद साम्पाङमाथि सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६४ (१) (ग) बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
मोबाइलले भिडिओ खिच्दै बाइक चलाएको देखिएपछि ट्राफिक प्रहरीले उनलाई लापरबाही साथ सवारी चलाएको कसुरमा जरिवाना गरेको हो ।
भिडियो खिच्दै बाइक चलाएको भिडियो उनी स्वयम्ले सामाजिक सञ्जालमा राखेका थिए । त्यसक्रममा दुर्घटनामा परेर उनी घाइतेसमेत भएका थिए ।
कानुनतः पहिलोपटक यस्तो कसुर गर्ने चालकलाई ५ सय रुपैयाँ जरिवाना हुने व्यवस्था छ ।
कोशी प्रदेशस्थित राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका अनुसार, कारबाहीमा परेका साम्पाङको नाममा ट्राफिक चिट काटिएको छ ।
उक्त मोटरसाइकल खरिद प्रक्रियाको केही प्राविधिक पाटो बाँकी रहेको र सोही आधारमा प्रहरीले शोरुममार्फत कारबाहीको सूचना पुर्याएको हो ।
यसबारे ट्राफिक प्रहरी कार्यालय कोशीका प्रवक्ता प्रहरी नायव उपरीक्षक ‘डीएसपी’ होमप्रसाद अधिकारीले भने, ‘चिट चालकको नाममा काटिए पनि बाइक शोरुमकै नाममा रहेकाले चिट शोरुमलाई दिएका हौं ।’
प्रहरीले कारबाही भइसकेको र तोकिएको जरिवाना सम्बन्धित व्यक्तिले बुझाउनुपर्ने जनाएको छ ।
सार्वजनिक गुनासो र सडक नियमको कडाइका साथ पालना गराउने उद्देश्यले सो कारबाही गरिएको प्रहरीको भनाइ छ ।
ट्राफिक प्रहरीले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत समेत सांसद साम्पाङलाई नियम उल्लंघनको कसुरमा कारबाही गरिएको जानकारी सार्वजनिक गरेको छ । उनको तस्वीरसमेत राखेर प्रहरीले यो सूचना गरेको हो ।
View : 69
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved