Biratnagar, Morang, Nepal
५ मंसिर २०८३, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

निर्माण व्यवसायी महासंघ कोशीको अधिवेशनमा मोरङ जिल्ला संघले विधान विपरित प्रतिनिधि पठाएको आरोप

उद्‌घोष संवाददाता
४ मंसिर २०८३, शुक्रवार

विराटनगर । निर्माण व्यवसायी संघ मोरङले आफ्नो वैधानिकतामाथि प्रश्न उठिरहेकै बेला निर्माण व्यवसायी महासंघ कोशीको शुक्रबारदेखि हुन लागेको १६औं साधारणसभा तथा नवौं अधिवेशनमा २६ जना प्रतिनिधि पठाएपछि संघमै आवद्ध निर्माण व्यवसायीले विरोध जनाएका छन् ।

दुई बर्षको कार्यकाल रहेको निर्माण व्यवसायी संघ मोरङको २०७९ पुस १७ गते महेशकुमार मिश्रको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति चयन भएको थियो । तर त्यसयता संघको साधारणसभा र अधिवेशन हुन नसकेको भन्दै केही सदस्यहरूले प्रश्न उठाउँदै आएका छन् ।

जिल्ला समितिको वैधानिकतासम्बन्धी विवाद जिल्ला प्रशासन कार्यालयमा विचाराधीन रहेको र प्रतिनिधि छनोटको प्रक्रियामाथि लिखित रूपमा आपत्ति जनाइए पनि जिल्ला संघले प्रतिनिधि पठाएको भन्दै निर्माण व्यवसायी राम श्रेष्ठले विरोध जनाए ।

मोरङबाट पठाइएका २६ जना प्रतिनिधिको नामावली प्रदेश महासंघको निर्वाचन समितिले बिहीबार साँझ सार्वजनिक गरिसकेको छ । नामावली सार्वजनिक भएसँगै महासंघ प्रदेश समितिको १६औँ साधारणसभा तथा नवौं अधिवेशनको पूर्वसन्ध्यामा मोरङबाट पठाइएका प्रतिनिधित्वको विषयलाई लिएर विवाद उत्पन्न भएको हो । 

निर्माण व्यवसायी संघ मोरङका साधारण सदस्य श्रेष्ठसहित गणेश कार्की र पदम श्रेष्ठले जिल्ला समितिको वैधानिकता र प्रतिनिधि छनोट प्रक्रियाको विवाद समाधान नगरी प्रदेश अधिवेशनमा प्रतिनिधिलाई मान्यता दिनु विधानविपरीत हुने बताएका छन् । उनीहरूले यसअघि नै प्रदेश महासंघलाई जिल्ला संघको विवादबारे जानकारी गराउँदै प्रतिनिधिको वैधानिकता परीक्षण गर्न माग गरेका थिए ।

विवादबारे जानकारी हुँदाहुँदै पनि मोरङबाट पठाइएका प्रतिनिधिको नामावली प्रदेश समितिले सार्वजनिक गर्नु गम्भीर विषय भएको निर्माण व्यवसायी श्रेष्ठले बताए । जिल्ला समितिको वैधानिकताको विषयलाई निरूपण नै नगरी प्रतिनिधिहरूलाई अधिवेशनमा सहभागी गराउने वातावरण बनाएको भन्दै उनले आपत्ति जनाए ।

विधानविपरीत पठाइएका प्रतिनिधिहरूलाई समावेश गरेर अधिवेशन प्रक्रिया अगाडि बढाइएमा अधिवेशनस्थलमा उत्पन्न हुन सक्ने समस्याको जिम्मेवारी आफूहरूले नलिने चेतावनीसमेत दिएका छन् । 

जिल्ला कार्यसमितिको कार्यकाल दुई वर्षको हुने र विधानअनुसार थप ६ महिना मात्र कार्यकाल बढाउन पाउने व्यवस्था रहेको छ । तर, निर्धारित कार्यकाल र थप समय समेत समाप्त भइसक्दा पनि साधारणसभा तथा अधिवेशन नगरिएको उनीहरूको आरोप छ ।

असन्तुष्ट सदस्यहरूले २०८३ वैशाख ३१ मा जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी गर्दै जिल्ला समितिले लामो समयदेखि साधारणसभा तथा अधिवेशन नगरेको भन्दै कार्यसमितिको वैधानिकतामाथि प्रश्न उठाएका थिए ।

जिल्ला समितिले भने २०८३ भदौ १७ मा २८औँ साधारणसभा गर्ने सूचना सार्वजनिक गरेको थियो । तर, वैशाख ३१ गते नै जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको र समितिको वैधानिकतासम्बन्धी विवाद निरूपण नभएको भन्दै प्रशासनले भदौ २६ गते जिल्ला समितिलाई पत्राचार गरी उजुरीको अन्तिम किनारा नलागेसम्म साधारणसभा तथा अधिवेशन स्थगित गर्न र सोको जानकारी कार्यालयलाई गराउन पत्र पठाएको थियो ।

प्रशासनको उक्त पत्राचार हुँदाहुँदै जिल्ला संघले प्रदेश अधिवेशनका लागि प्रतिनिधि छनोट गरी पठाउनु विधान विपरितको कार्य भएको श्रेष्ठले बताए ।

कोशी प्रदेश निर्माण व्यवसायी महासंघले २०८३ भदौ २६ मा मंसिर ४ र ५ (आज र भोली) विराटनगरमा १६औँ साधारणसभा तथा ९औँ अधिवेशन हुने भन्दै जिल्ला संघहरूलाई कात्तिक २० भित्र प्रतिनिधि पठाउन पत्राचार गरेको थियो । 

तर मोरङ जिल्ला संघको वैधानिकतासम्बन्धी विवाद समाधान नभएकै अवस्थामा मोरङबाट प्रतिनिधि पठाइए स्वीकार नगर्न भन्दै श्रेष्ठको समुहले २०८३ असोज २३ मा प्रदेश महासंघको ध्यानाकर्षण गराएका थिए । 

श्रेष्ठले प्रदेश महासंघको अधिवेशनमा मोरङ जिल्ला संघबाट प्रतिनिधि पठाइएको नपठाइएको बारे बुधबार मात्रै लिखित रुपमा जानकारी माग गर्दा प्रतिनिधि नामावली प्राप्त नभएको लिखित जवाफ पाएका थिए ।

तर, त्यसपछि जिल्ला समितिले २६ जनाको नामावली प्रदेश महासंघमा पठाएको र प्रदेश समितिले  उक्त नामावली सार्वजनिक गरेको हो ।

कोशी प्रदेश निर्माण व्यवसायी महासंघ (साविक पूर्वाञ्चल क्षेत्रीय निर्माण व्यवसायी संघ) को विधान, २०७३ को दफा २४ मा रहेको अयोग्यतासम्बन्धी व्यवस्था विपरित मोरङबाट प्रतिनिधि समावेश गरिएको श्रेष्ठले दाबी गरे ।

उक्त दफाको उपदफा (२) मा विधान बमोजिम नियमित साधारण सभा र निर्वाचन नगर्ने जिल्ला संघहरूको प्रतिनिधिहरू र सदस्यता नवीकरण नभएको कुनै पनि सदस्यको तर्फबाट प्रतिनिधित्व गर्ने व्यक्तिले निर्वाचनमा मत दिन र उम्मेदवार बन्न पाउने छैन’ भनि स्पष्ट लेखिएको बताए । 

कुनै पनि जिल्ला संघले आफ्नो विधानअनुसार अधिवेशन, निर्वाचन र प्रतिनिधि छनोटको वैधानिक प्रक्रिया पूरा नगरी पठाएका प्रतिनिधिलाई प्रदेश समितिको निर्वाचनमा मान्यता दिनु विधानको मर्म र संस्थागत मर्यादाविपरीत हुने बताए ।

प्रदेश निर्वाचन समितिले प्रतिनिधिको नामावली सार्वजनिक गर्नुअघि सम्बन्धित जिल्ला संघको वैधानिकता, सदस्यता नवीकरणको विवरण, कार्यसमितिको अवस्था र प्रतिनिधि छनोटको निर्णय आधिकारिक अभिलेखका आधारमा प्रमाणीकरण गर्नुपर्ने उनले माग गरेका छन् ।

फर्जी सदस्यताको आरोप

जिल्ला संघले १ हजार ८६ जना साधारण सदस्य रहेको फर्जी विवरण देखाएर केन्द्रीय महाधिवेशनमा पनि २४ जना प्रतिनिधि पठाएको निर्माण व्यवसायी संघ मोरङका साधारण सदस्य तथा श्रेष्ठ आर.के. कन्स्ट्रक्सन प्रालिका प्रोप्राइटर श्रेष्ठले आरोप लगाएका छन् । तर, त्यतिबेला जिल्ला संघमा २०१ जनाले मात्रै सदस्यता नवीकरण गरेको उनको दाबी छ । 

एउटा निर्माण व्यवसायी फर्मले जिल्ला संघमा सदस्य बन्न ७ हजार रुपैयाँ सदस्यता शुल्क तिर्नुपर्ने व्यवस्था रहेको उल्लेख गर्दै उनीहरूले सदस्य संख्या, नवीकरण र लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन् ।

सदस्यता संख्या बढाइएको र सदस्यता शुल्कबापत संकलित रकमको पारदर्शितामाथि प्रश्न समेत उनले उठाएका छन् ।  

‘कार्यसमितिको निर्णयअनुसार पठाएका हौँ’

यता निर्माण व्यवसायी संघ मोरङका उपाध्यक्ष रमेश कोइरालाले भने २६ जना प्रतिनिधि विधानअनुसार नै छनोट गरी प्रदेश महासंघमा पठाइएको जानकारी दिए ।

उनका अनुसार प्रतिनिधि छनोट जिल्ला कार्यसमितिको बैठकबाट गरिएको हो । वर्षौंदेखि जिल्लामा रहेर निर्माण व्यवसायी संघमा काम गरेका पुराना सदस्यहरूलाई प्राथमिकता दिँदै प्रतिनिधिको टुंगो लगाइएको उनले बताए ।

‘पुरानालाई प्रतिनिधि पठाउँदा नयाँ केही सदस्य रिसाएका हुन्, संघको आन्तरिक समस्या हो, भोलि मिलेर जान्छ,’ कोइरालाले भने ।

View : 84

५ मंसिर २०८३, शनिवार

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved