Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
समाज

विज्ञापन रोक्ने सरकारी नीतिको विरोध

उद्‌घोष संवाददाता
२९ चैत २०८२, आइतवार

विराटनगर । सरकारी सञ्चारमाध्यममा मात्रै सरकारी सूचना तथा विज्ञापन प्रकाशन तथा प्रसारण गर्ने सरकारको निर्णय गलत भएको मोरङका पत्रकार तथा विभिन्न मिडियाका सञ्चालकहरूले बताएका छन् ।

उनीहरू मिडियालाई आर्थिक रुपमा नाकाबन्दी लगाएर अन्ततः प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी कार्यतर्फ सरकार अघि बढ्न सक्नेसमेत आशंका गरेका छन् ।

सरकारी सञ्चारमाध्यममा मात्र सरकारी सूचना प्रकाशन तथा प्रसारण गर्ने सरकारको निर्णय फिर्ता लिन पत्रकारहरूले माग गरेका छन् । 

उनीहरूले निजी सञ्चार माध्यमलाई विज्ञापन रोकेर सरकारले नियन्त्रणकारी कार्य गर्न खोजेको आरोप लगाए ।

नेपाल पत्रकार महासंघ मोरङको आयोजना भएको छलफलमा महासंघ केन्द्रीय सदस्य कमल रिमालले निजी सञ्चार माध्यमलाई नियन्त्रण गर्ने मनसायले सरकार अघि बढेको बताए । 

उनले नियन्त्रणकारी कदमका विरुद्ध महासंघको पहिलो चरणको दवावमूलक कार्यक्रम सार्वजनिक गरेको र चाँडै नयाँ कार्यक्रम अघि सार्ने बताए ।

सरकारले निर्णय फिर्ता नलिए महासंघ सडक आन्दोलनमा उत्रिन तयार रहेको सचेत उनले चेतावनी दिए । 

महासंघ मोरङका पूर्वअध्यक्ष एवं उद्घोष दैनिकका सम्पादक मोहन भण्डारीले सरकारले संघीयताका भावनाविपरीत काम गरिरहेको बताए । 

उनले स्थानीय र प्रदेश सरकारले आफ्नो क्षेत्रभित्र जुनसुकै मिडियामा विज्ञापन सूचना प्रकाशन प्रशारण गर्न सक्ने मान्यताविपरीत संघले निर्देशन गरेर रोक्न खोजेको बताए । सम्पादक भण्डारीले राज्यले सञ्चार माध्यम चलाउने अभ्यास नै उचित नभएको तर्क गरे ।

महासंघका पूर्वअध्यक्ष बन्धु पोखरेलले सरकारको निर्णयले सञ्चार उद्योगहरूलाई आर्थिक रुपमा केही न केही समस्या पर्ने बताए । 

सरकारी विज्ञापनको रकम विज्ञापन एजेन्सीमार्फत कर्मचारीमै फर्किने गरेका कारण यस्तो निर्णय एकप्रकारले ठिकै भएको पनि उनले धारणा राखे ।

पूर्वअध्यक्ष दीपक दाहालले निजी सञ्चार माध्यमलाई खुम्च्याउने सरकारको पहिलो प्रयासस्वरुप विज्ञापन रोक्न खोजिएको बताएका थिए । 

नेपाल पत्रकार महासंघ मोरङकी अध्यक्ष सुशीला पाठकले सरकारी सञ्चारमाध्यममा मात्रै सरकारी सूचना प्रकाशन तथा प्रसारण गर्ने निर्णय विरुद्ध महासंघ केन्द्रीय समितिले घोषणा गर्ने हरेक कार्यक्रमलाई सबै पत्रकारहरूको सहभागितामा अघि बढाउने बताइन् ।

छलफलमा नेपाल पत्रकार महासंघ कोशी प्रदेशका पूर्वअध्यक्ष लीलाबल्लभ घिमिरे, हाम्रोमत अनलाइनका सम्पादक विवेक गौतम, प्रेस युनियन कोशीका अध्यक्ष मीनकुमार नवोदित, प्रेस सेन्टर कोशी प्रदेशका महासचिव गोकुल पराजुली, प्रेस चौतारी कोशीका महासचिव बाबुराम भण्डारी, प्रेस युनियन मोरङका अध्यक्ष वेदराज पौडेल, ब्रोडकास्टिङ एशोसिएसन नेपाल (बान) केन्द्रीय सदस्य बाबुराम निरौला, पत्रकार महासंघ मोरङका सचिव नेत्र पी अधिकारी लगायतले आफ्ना धारणा राखेका थिए ।

View : 138

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved