Biratnagar, Morang, Nepal
२२ वैशाख २०८२, सोमवार
+977 21 450305, 515728, 578305
कोशी

उद्योग संगठनको टोली अर्थमन्त्री र उद्योग मन्त्रीको चेम्बरमा

उद्‌घोष सम्वाददाता
१३ मंसिर २०८१, बिहिवार

विराटनगर । उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानासहितको उद्योगी व्यवसायी सम्मिलित टोली  व्यवसायीको समस्या बोकेर अर्थमन्त्री विष्णुप्रसाद पौडेल र उद्योग मन्त्री दामोदर भण्डारीको चेम्बरमा पुगेका छन् । 

बुधबार उनीहरूको टोलीले प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार डा.युवराज खतिवडासहितलाई भेटेर आर्थिक क्षेत्रका समसामयिक समस्या समाधान गर्न आग्रह गरेका हुन् ।

संगठनका अध्यक्ष्ँ राकेश सुरानाले बजारमा लामो समयदेखि छाएको सुस्तताले उद्योग व्यवसाय क्षेत्र प्रभावित हुँदै गएको र यो क्रम अझ लम्बिए उद्योग व्यवसायमा दुरगामी प्रभाव पर्ने भन्दै ध्यानाकर्षण गराए । उनले अर्थमन्त्री पौडेललाई समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरे ।

त्यस्तै प्रतिनिधिमण्डल र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री भण्डारीसँगको छलफलमा नेपाली वस्तुले व्यूरो अफ इण्डियन स्ट्यान्डर्डको प्रमाणपत्र लिएर मात्र भारत निर्यात गर्न पाउने भारतीय नीतिले नेपालका प्लाइउड, जुत्ता, स्यानिटरी प्याड, सिमेन्ट उद्योगहरूलाई समस्यामा पारेको भन्दै ध्यानाकर्षण गराए ।

भारतले लागू गरेको सो नीति नेपाली उद्योगका लागि अवसर भएपनि तत्कालका लागि भारत निर्यातमा परेको प्रभावलाई मध्यनजर गरी नेपाली वस्तुलाई उक्त प्रमाणपत्र लिने प्रक्रियामा कुटनीतिक माध्यमबाट सहजीकरण गर्न आग्रह गराएको हो ।

२०८० जेठ १० मा विराटनगरको आईसीपीसम्म आइसकेको कार्गो रेल हालसम्म पुनः सञ्चालनमा आउन नसकेको भन्दै ध्यानाकर्षण गराएका थिए । प्रतिनिधिमण्डलले कार्गोरेल सञ्चालनका लागि शुल्क परिमार्जन गर्न पनि आग्रह गरेको अध्यक्ष सुरानाले बताए ।

प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार डा. युवराज खतिवडासँगको छलफलमा आर्थिक एवं औद्योगिक विकास र अर्थतन्त्रलाई चलायमान बनाउन सूक्ष्म अध्ययन गरी सरकार र निजी क्षेत्र दुवैले हातेमालो गरी अघि बढ्नुपर्नेमा जोड दिए ।

प्रतिनिधिमण्डलमा अध्यक्ष सुरानासहित निवर्तमान अध्यक्ष सुयश प्याकुरेल, वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठी, उपाध्यक्ष राजकुमार गोल्छा, कार्यसमिति सदस्य प्रतिभा रिजाल ओली, दीपक अग्रवाल, वीरेन्द्र राठी र महानिर्देशक चुडामणि भट्टराई लगायतको सहभागिता रहेको थियो । 

भेटघाटकै क्रममा विराटनगरमा आगामी माघ ११ देखि २० सम्म हुन लागेको विराट एक्स्पो तथा कोशी प्रदेश लगानी सम्मेलनका सन्दर्भमा समेत छलफल भएको संगठनका महानिर्देशक चुडामणि भट्टराईले जानकारी दिए ।

View : 153

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved