Biratnagar, Morang, Nepal
२५ फागुन २०८२, सोमवार
+977 21 450305, 515728, 578305
कोशी

कोशीका कृषि मन्त्री हाङगामले सचिवको गाडी खोसेपछि कर्मचारीको विरोध

उद्‌घोष संवाददाता
१७ भदौ २०८२, मङ्गलवार

विराटनगर । कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङगामले सोही मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डेले चढिरहेको गाडी खोसेको भन्दै विवाद चर्किएको छ । 

मन्त्रालयकै कामको सिलसिलामा सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेका सचिव पाण्डेले चढेको गाडी मन्त्री हाङ्गामले खोसेको भन्दै कर्मचारीले विज्ञप्तिमार्फत विरोध जनाएका छन् ।  

नेपाल निजामती कर्मचारी संगठन कोशी प्रदेश समितिका अध्यक्ष हरि सुवेदीले बहालवाला मन्त्रीबाट आफ्नै मन्त्रालयको प्रमुख प्रशासकीय जिम्मेवारीमा रहेका कर्मचारीमाथि अमर्यादित, अपमानित र घृणित व्यवहार गरिएको भन्दै भर्त्सना गरे ।

‘आफ्नो जिम्मेवारी निर्वाह गरिरहेका मन्त्रालयको प्रमुख प्रशासकीय जिम्मेवारी बोकेको कर्मचारीमाथि प्रदेश सरकारका वहालवाला मन्त्रीबाट गरिएको अमर्यादित, अपमानित तथा अत्यन्त घृणित व्यवहारले कर्मचारीको मनोवलमा ह्रास आउने तथा कार्यस्थलमा सुरक्षित कार्य वातावरणको समेत प्रत्याभूत हुन नसकेको यस किसिमका घटना निन्दनीय र भत्र्सना योग्य भएको हाम्रो ठहर रहेको छ’ विज्ञप्तिमा भनिएको छ ।

संगठनले यस प्रकारको कार्यमा संलग्न मन्त्रीले सार्वजनिक रुपमा क्षमायाचना गरी यस्तो गतिविधि पुनः नदोहोर्याउन प्रतिवद्धता सरकारसँग माग गरेको छ । 

संगठनले सरकारी निकायमा सुरक्षित एवम् मर्यादित कार्य वातावरणको प्रत्याभूत गर्न समेत सरकारको ध्यानाकर्षण गराएको छ । 

को १ झ ६७९ नम्बरको गाडी सचिव पाण्डेले चढ्दै आएका थिए । सचिव पाण्डेले पनि आफूले चढेर मुख्यमन्त्री कार्यालय गएको गाडी खोसिएको गुनासो गरे । 

‘म विहान ११ बजेतिर मुख्यमन्त्री कार्यालयमा प्रधानमन्त्री कार्यालयबाट मानवअधिकार सम्बन्धी कार्यक्रममा सहभागी हुन गएको थिएँ, साढे १ बजेतिर कार्यक्रम सकिएर मन्त्रालयमै फर्किन खोज्दा गाडी भेटिएन’ सचिव पाण्डेले भने, ‘गाडी नभएपछि चालकलाई फोन गरें, तर उनको फोन अफ थियो, मन्त्रालयमा फोन गरेपछि भने सचिवलाई गाडी नदिनू भन्ने आदेश छ भन्ने जानकारी पाएँ, त्यसपछि एकजना साथीको बाइकमा मन्त्रालय गएँ ।’ 

उनले आफ्नो सरुवा भए पनि फेरि सरुवा रद्द भएका कारण मन्त्रालयमै रहेर काम गर्दै आएको बताए । ‘सरुवा भएको पनि सही हो, फेरि यहीँ कायम भएको थियो’ उनले भने ।

समाचार स्रोतका अनुसार मन्त्री हाङगामले सचिवको चाबी खोस्न आफ्ना सचिवालय सदस्य सूचना प्रबिधि सहायक राजीव माबोहाङ लिम्बूलाई आदेश दिएका थिए । 

मन्त्रीको आदेश पाएपछि लिम्बूले सचिव चढ्ने गाडीका चालक चन्द्रनारायण चौधरीबाट चाबी खोसेका थिए ।

View : 526

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved