Biratnagar, Morang, Nepal
२२ वैशाख २०८२, सोमवार
+977 21 450305, 515728, 578305
समाज

के हो ट्राफिक प्रहरी निरीक्षक लम्सालको घटना ?

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख तथा प्रहरी निरीक्षक राजन लम्सालले दुई जना प्रहरी निरीक्षकलाई कुटपिट गरेको खबर यतिबेला सामाजिक सञ्जालमा फैलिरहेको छ ।  प्रहरीले यसको बास्तविकता पत्ता लगाएर सार्वजनिक भएजस्तो घटना प्रमाणित भए लम्साललाई बिभागीय कारवाही हुने देखिन्छ ।
उद्‌घोष सम्वाददाता
२२ वैशाख २०८२, सोमवार

विराटनगर । एक जना प्रहरी निरीक्षकले दुई जना प्रहरी निरीक्षकलाई विराटनगरमा कुटपिट गरेको भन्ने खबरले सामाजिक सञ्जाल तातेपछि नेपाल प्रहरीले छानविन गर्ने भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख तथा प्रहरी निरीक्षक राजन लम्सालले दुई जना प्रहरी निरीक्षकलाई कुटपिट गरेको खबर यतिबेला सामाजिक सञ्जालमा फैलिरहेको छ । 

प्रहरीले यसको बास्तविकता पत्ता लगाएर सार्वजनिक भएजस्तो घटना प्रमाणित भए लम्साललाई बिभागीय कारवाही हुने देखिन्छ ।

लम्सालले मोरङ प्रहरीमा कार्यरत निरीक्षक सरोज खनाल र इलाका प्रहरी कार्यालय रंगेलीका निरीक्षक (हाल सरुवा) सन्तोष खड्कालाई मादक पदार्थ सेवन गरेर कुटपिट गरेको खबर सार्वजनिक भएको थियो । सोही दिन प्रहरी निरीक्षक लम्सालले मोरङ ट्राफिकमा कार्यरत सहायक हवल्दार सञ्जय भट्टराईलाई कुटेर अनुहारमा चोट लागेको पनि खबर बाहिरियो ।

प्रहरी स्रोतका अनुसार, कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी राजन अधिकारीको बढुवा भएपछिको बिदाइ भोजमा बैशाख १३ गते मोरङका धेरै प्रहरी युनिटका प्रमुखहरू उपस्थित भएपनि निरीक्षक लम्साल त्यहाँ गएनन् । 

‘प्रदेशको राजधानी भएको विराटनगर महानगरमा ट्राफिक ब्यवस्थापन राम्रो नभएकाले डीआईजीसाव लम्सालप्रति रुष्ट भएकाले उनी बिदाइमा नगई एक्लै रेष्टुरेष्टमा खानपिनमा बसेका थिए’ स्रोतले भन्यो ।

उनले बिदाइमा गएका निरीक्षक खड्का र अर्का साथी खनाललाई आङ्खनो निवासमा राति बोलाएका थिए । त्यहाँ दुबैलाई ‘डीआईजीको चम्चा’ भनेर लम्सालले हप्काए । 

खड्का र खनाल लम्सालका समकालीन साथी भएकाले दुबैले उनको भनाइलाई बेवास्ता गरे । त्यसपछि बाहिर निस्किएर लम्सालले सहायक हवल्दार भट्टराईलाई कुटपिट गरेका थिए । भट्टराई कार्यालयमा कम्प्युटरमा गरिने काम गर्छन् ।

सो घटनाको सूचना जिल्ला प्रहरी कार्यालयमा पुगेपछि राति नै आएका प्रहरी निरीक्षक हेमराज ओलीले लम्साललाई निवासमा पठाए । ओलीले सम्झाएपछि केही हच्किएका लम्साललाई निरीक्षक खड्काले कोठामा लगेर सुताए । 

घटना सार्वजनिक भएपछि प्रदेश प्रहरी कार्यालयले छानविन समिति बनाएको छ । यसबारे प्रदेश प्रहरीका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरिक्षक भीम दाहालले कुनै पनि घटना बाहिर आए प्रहरीले आन्तरिक छानविन गर्ने गरेको बताए ।

त्यसअघि आफ्नै अंगरक्षक जवान आतिशलाल चौधरीलाई पनि लम्सालले कुटपिट गरेको खबर ट्राफिकभित्रै फैलिएको थियो । 

रातपरेपछि लम्सालले त्यही बेला ट्राफिक पोष्ट नेमुवाका सहायक निरीक्षक होम खतिवडालाई ‘मनपरी गाली’ गरेको मौखिक उजुरी इटहरी ट्राफिकका प्रहरी उपरीक्षक विनोद घिमिरे समक्ष पुगिसकेको थियो । घिमिरेले यस्तो हर्कत नगर्न चेतावनी दिदै लम्साललाई हप्काएका थिए । 

‘अरु बेला त ठिकै हो, राति चैँ मात्नुहुन्छ अनि ट्राफिकलाई सताउनुहुन्छ’ एक ट्राफिक प्रहरीले भने । 

ट्राफिक प्रहरी उपरीक्षक घिमिरेले बास्तविकता बुझ्ने काम भइरहेको जानकारी दिदै त्यसपछि मात्रै केही बताउन सकिने जानकारी दिए । निरीक्षक लम्सालले भने सार्वजनिक भएको घटना बास्तविक नभएको दाबी गरेका छन् ।

कुन होटलको घटना र कहिले भएको भन्ने कुरा उल्लेख नगरी बनाइएको समाचारमा सत्यता नभएको उनी बताउँछन् । 

‘मेरो पछाडि कोही लागेको छ र त्यस्तो समाचार सार्वजनिक गराइदैछ’ लम्सालले भने । उनले कुटिएको भनिएका सहायक हवल्दारलाई नै सोध्न सकिने बताउँदै ‘भट्टराईले पनि सो कुरा अस्वीकार’ गर्ने दाबी गरे ।

View : 219

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved