Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

सीमा नाकामा भारतको दोहोरो नीति : 'इस्कुस जान्छ, काँक्रा रोकिन्छ'

उद्‌घोष संवाददाता
११ साउन २०८२, आइतवार

इलाम । आफ्नै बारीको झ्याङमा फलेका काँक्रा बोरामा हालेर शुक्रबार दिउँसो मणिकुमार राई पशुपतिनगर नाका हँदै दार्जिलिङतिर जाँदै थिए । पहिल्यैदेखि चिनजानमा रहेका एक जना होटल व्यवसायीले कम्तीमा एक–डेढ सयवटा काँक्रा ल्याइदिनु भन्दै खबर पठाएकाले उनी भारी कसेर गाडीमा उता गएका थिए । 

इलाम सूर्योदय नगरपालिका–४ का किसान राईलाई उता हिंड्ने बेलामा परिवारका सदस्यले नाकामै रोकिदेला भन्ने त्रास नदेखाएका होइनन् । तर, इस्कुस लैजान दिइरहेको भारतीय प्रहरीले काँक्रा लैजान देला भन्दै उनी त्यता लागेका थिए ।

पशुपतिनगरबाट १३ किलोमिटर दुरी पार गरेर भारतीय सीमा नाकामा पुर्‍याउनै लाग्दा उनी चढेको गाडी भारतीय प्रहरीले रोक्यो । सीमा नाकाको होटलले मागेपछि आफै पुर्‍याउन आएको भनेका उनलाई भारतीय प्रहरीले नेपालतिरै फर्काइदियो ।

‘इस्कुस त लैजान दिनुहुन्थ्यो, काँक्रा चाहिं किन नदिनुभएको भनेर मैले सोधेँ’, शनिबार दिउँसो उद्घोषसँग फोनमा कुरा गर्दै राईले भने ‘त्यो माथि नै सोध्नु भने । दुई घन्टासम्म अनुरोध गर्दा पनि लैजान दिएनन् । अनि फेरि घरतिरै फर्केर आएँ ।’

मणिकुमार राई इलामका एक प्रतिनिधि पात्र मात्रै हुन्, जसले शुक्रबार राम्रो भाउ पाइने आशामा काँक्रा पशुपतिनगर नाकाबाट भारत लैजान खोज्दा रोकिनुपर्‍यो । यसरी दुःख पाउने किसान र नेपाली व्यापारीहरुको संख्या ठूलो छ, जसले पशुपति नाकामा यसरी दुःख पाउन थालेको धेरै भइसकेको छ । 

‘उनीहरुकोमा राम्रोसँग फल्ने तरकारी नेपालबाट लैजान रोक्छन् तर इस्कुस उता राम्रो फल्दैन त्यो चाहिं लैजान रोक्दैन’, इलामको सूर्योदयस्थित उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद राईले भने ‘त्यही भएर त यहाँको सबै कृषि उत्पादन काँकडभिट्टाबाटै भारत पठाउनुपर्छ । सीमाको सुरक्षाकर्मीको इच्छामा भर पर्ने भएकाले पशुपति नाकाको हाम्रो कारोबार चौपट भएको छ ।’

अध्यक्ष राईले दिएको जानकारी अनुसार पशुपतिनगर नाकाबाट इस्कुसबाहेकका सामान लैजाँदा भारतीय जमिन टेक्नेबित्तिकै नेपाली सामान अवैध हुन्छ । दार्जिलिङ नाकामा भन्सार छैन ।

भारततिर भन्सार, क्वारेन्टाइन केही पनि नहुँदा सामान लैजानै मिल्दैन । त्यसैले झापाको बाटो हुँदै लैजानुपर्छ । ‘कल्पना गर्नु न यसले ढुवानी खर्च, बाटोको झन्झट कति बढाएको होला ?’

राईले भने ‘भारतले दार्जिलिङ नाकामा सरकारी संयन्त्र हटाएकै कारण लामो समयदेखि हामी यो समस्या झेलिरहेका छौं ।’ 

भारतीय नाकामा भन्सार नहुँदा नेपाली पक्षले चाहेर पनि कम खर्चिलो हुने पशुपति नाकाबाट सामान भारत पठाउन पाउँदैनन् । यसले व्यापारीको लागत खर्च मात्रै बढाएको छैन, अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादनको प्रतिस्पर्धी क्षमता पनि घटाइरहेको छ । 

पशुपतिनगर नाकामार्फत नै कारोबार सुचारू हुने अवस्था भए इलाम, पाँचथर, ताप्लेजुङ लगायतका क्षेत्रमा उत्पादन हुने कृषिजन्य वस्तुहरूको ढुवानी सजिलो हुने व्यवसायीहरूको भनाइ छ ।

तर, नेपालले कुटनीतिक रुपमा दबाब बढाउन नसक्दा यस्तो अवस्था आएको हो । साथै भारतीय पक्षले आफ्नो क्षेत्रमा उत्पादन नहुने सामान मात्रै नेपालबाट ल्याउन दिने तर उता उत्पादन हुने सामान छिराउनै नदिने गरिरहेको छ ।

सरकारी तथ्यांक अनुसार मेची पहाडका तीन जिल्ला इलाम, पाँचथर र ताप्लेजुङमा मात्रै बार्षिक ५ हजार ४४३ टन अलैंची उत्पादन हुन्छ । 

कृषि विकास निर्देशनालय कोशीको अभिलेख अनुसार यी तीनवटा पहाडी जिल्लामा अदुवा वार्षिक ६७ हजार ४८४ मेट्रिक टन उत्पादन हुन्छ । त्यस्तै इस्कुस ५ हजार ७९७ टन उत्पादन हुने पहाडका तीन जिल्लामा  वार्षिक ८० हजार मेट्रिक टन कुचो उत्पादन हुँदै आएको छ । यहाँ उत्पादित सबै कृषि वस्तुको ९० प्रतिशतभन्दा बढी हिस्सा भारतीय बजारनै पुग्ने हो ।

इलाम चिया खेतीका लागि पनि कहलिएको जिल्ला हो । भन्सार विभागको पछिल्लो तथ्यांकले पनि  मुलुक चियामा आत्मनिर्भर भएको र निर्यात पनि उच्च भइरहेको देखाउँछ ।

भर्खरै सकिएको आर्थिक वर्षभरीमा  नेपालले  साढे चार अर्ब रूपैयाँको चिया निर्यात गरेको छ । यो धेरै नेपालका पूर्वी जिल्लामै उत्पादित चिया हो । इलामले यसको धेरै हिस्सा ओगट्छ । तर, इलामबाट पशुपति नाका भएर चिया लैजान मिल्दैन । भारतीय पक्षले आफ्नो नाकाबाट जाँचपास नगरेका कारण यस्तो अवस्था आएको हो । 

भारतीय पक्षले दार्जिलिङमा सरकारी संयन्त्र नराख्दा सामान आयात निर्यात मात्रै प्रभावित भएको छैन, पर्यटनमा पनि उत्तिकै असर छ । भारतीय नाकामा अध्यागमन कार्यालय छैन । यसले दार्जिलिङबाट तेस्रो देशका पर्यटक सोझै पशुपति नाका हु“दै नेपाल प्रवेश गर्न पाउँदैनन् । 

पर्यटन व्यवसायीहरूका अनुसार दार्जिलिङमा विश्वभरीका पर्यटकहरूको सधैंजसो भीड हुन्छ । त्यहाँबाट नेपाल घुम्न आउने पर्यटकले सिलिगुडी झरेर पानीट्यांकी नाका हुँदै काँकडभिट्टा प्रवेश गर्नुपर्छ ।

व्यवसायीहरूका अनुसार पशुपति नाकाबाट सोझै आयात निर्यात हुने र पर्यटक आवागमन खुला हुने हो भने कोशीको पहाडमा उत्पादित कृषिवस्तुहरू अहिलेभन्दा थोरै लागतमा भारतीय बजार पुग्थे भने पर्यटक संख्या पनि बढाउन सकिन्थ्यो । 

‘हामीले सरकारलाई धेरैपटक आग्रह गरिसक्यौं तर अहिलेसम्म कसैले भारतीय पक्षसँग दरिलो कुटनीतिक पहल गरेको थाहा पाइएन’ उद्योग वाणिज्य संघ अध्यक्ष प्रमोद राईले भने ‘यसले पहाडी जिल्लालाई ठूलो आर्थिक क्षति भइरहेको छ ।

वि. सं. १९८६ तिरै तत्कालीन राणा शासकहरूले ‘चार कटेरी’ को नाममा पशुपतिनगरमा भन्सार कार्यालय स्थापना गरेका थिए । त्यसअघि नै दार्जिलिङ नाकामा भन्सार थियो । 

अध्यक्ष राईका अनुसार सन्  १८८५ मै भारतीय नाका सुकियापोखरीमा भन्सार स्थापना भएको थियो । तर, सन् १९८७ मा भारतीय भन्सार हटेपछि  क्वारेन्टाइन पनि बन्द भयो । त्यसपछि नेपाली पक्षले सास्ती खेप्न थालेको अहिलेसम्म पनि जारी नै रहेको छ । 

दक्षिण इलामको रोङ गाउँपालिकाको नेपाल–भारत सीमावर्ती अन्तिम विन्दूबाट उत्तर पशुपतिनगरबाट ७० किलोमिटरको दूरीमा रहेको पाँचथरको च्याङथापुसम्म निगरानी गर्ने दायित्व बोकेको पशुपति भन्सारमा २० कर्मचारीको दरबन्दी छ । तर, करारसहितका जम्मा १० जना कर्मचारीले यो विकट क्षेत्रको भन्सार निगरानी गर्दै आएका छन् ।

‘त्यही भएर पशुपति नाकाबाट हुने धेरै कारोबार अवैध करार हुन्छ, यहाँ व्यापारीभन्दा धेरै तस्कर छन् भनिन्छ’ स्थानीय व्यापारीहरू भन्छन् ।

View : 489

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved