Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
विचार

समाज अघिअघि, आदर्श पछिपछि

२० वैशाख २०८३, आइतवार

आजको समाज तीव्र परिवर्तनको चरणबाट गुज्रिरहेको छ । विज्ञान, प्रविधि र शिक्षा विकासका विविध आयामहरूमा उल्लेखनीय प्रगति भइरहेको वर्तमान परिवेशमा समाज निरन्तर अघि बढेको देखिन्छ ।

तथापि, यस तीव्र प्रगतिसँगै एउटा गम्भीर प्रश्न पनि उब्जिएको छ– के हाम्रो आदर्श, मूल्य र नैतिकता पनि त्यत्तिकै सुदृढ रूपमा अघि बढिरहेका छन् ? वा समाजको तीव्र गतिसँगै आदर्शहरू पछाडि पर्दै गएका छन् ?

 

‘समाज अघिअघि, आदर्श पछिपछि’ भन्ने अभिव्यक्तिले यही द्वन्द्वलाई उजागर गर्दछ । वर्तमान समाजमा भौतिक उन्नति र व्यक्तिगत सफलतालाई प्राथमिकता दिइँदै गर्दा नैतिक मूल्यहरू, सामाजिक उत्तरदायित्व र मानवीय संवेदनशीलता क्रमशः ओझेलमा पर्दै गएको अनुभूति हुन्छ ।

परम्परागत रूपमा समाजले उच्च स्थानमा राखेका इमानदारी, सहिष्णुता, परोपकार र अनुशासनजस्ता गुणहरू व्यवहारमा कम र औपचारिक अभिव्यक्तिमा बढी सीमित हुन थालेका छन् ।

 

शिक्षा प्रणालीमा समेत यसको प्रभाव स्पष्ट देख्न सकिन्छ । आज शिक्षा मुख्यतः प्रतिस्पर्धात्मक उपलब्धि र व्यावसायिक सफलतामा केन्द्रित देखिन्छ, जहाँ चरित्र निर्माण, नैतिक शिक्षा र सामाजिक मूल्यहरूको विकास अपेक्षाकृत कमजोर बनेको छ ।

यसले गर्दा ज्ञान र सीपमा वृद्धि भए पनि जिम्मेवारीबोध र नैतिक चेतनामा कमी देखा पर्न थालेको छ । उदाहरणका लागि, परीक्षामा जहिले फेल हुने विद्यार्थीले चिट चोरेर बोर्ड परीक्षामा राम्रो अङ्क ल्याउँदा हामी खुसी हुने गर्छौं ।

विद्यार्थीले कति जान्यो वा चेतनाको स्तर कस्तो छ भन्ने कुरासँग मतलब भएन, तर अङ्क राम्रो आउनुपर्‍यो । समाजमा त्यही बकमफुसे नतिजा छरछिमेक र आफन्त–इष्टमित्रलाई देखाएर धाक लाउने काम हामीमध्ये कतिले गर्छौं होला ?

 

त्यसैगरी, आधुनिक सञ्चारमाध्यम र सामाजिक सञ्जालले पनि व्यक्तिको सोच र व्यवहारमा गहिरो प्रभाव पारेका छन् । बाह्य प्रदर्शन, लोकप्रियता र व्यक्तिगत लाभलाई प्राथमिकता दिने प्रवृत्तिले सामाजिक सद्भाव, सहकार्य र पारस्परिक सम्मानमा चुनौती सिर्जना गरेको छ ।

परिणामतः आदर्शहरू व्यावहारिक जीवनबाट विमुख हुँदै गएको प्रतीत हुन्छ । यद्यपि, यस अवस्थालाई पूर्णतः नकारात्मक रूपमा मात्र हेर्नु उपयुक्त हुँदैन ।

समाजमा अझै पनि आदर्शको संरक्षण र प्रवर्द्धनका लागि प्रयासरत व्यक्तिहरू र संस्थाहरू सक्रिय छन् । शिक्षक, अभिभावक, सामाजिक अभियन्ता तथा सचेत नागरिकहरूले आदर्श र मूल्यको पुनर्स्थापनामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्छन् ।

व्यावहारिक जीवनमा नैतिकता र आदर्शलाई आत्मसात् गर्ने प्रवृत्ति विकास गरिनु आवश्यक छ ।

 

निष्कर्षतः, समाजको वास्तविक प्रगति केवल भौतिक उपलब्धिमा सीमित रहनु हुँदैन, त्यससँगै नैतिकता, मूल्य र मानवीय गुणहरूको सन्तुलित विकास पनि अपरिहार्य हुन्छ ।

यदि आदर्शहरू पछाडि परिरहे भने समाजको प्रगति असन्तुलित र अस्थिर बन्न सक्छ । त्यसैले आजको आवश्यकता भनेको समाज र आदर्शबीच समन्वय कायम गर्दै दुवैलाई समान गतिमा अघि बढाउनु हो ।

– आरोग्य थापा

View : 127

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved