Biratnagar, Morang, Nepal
५ साउन २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
विचार

पत्रकारितामा सिक्किम

युवराज घलेभाइ
२१ मंसिर २०८०, बिहिवार

Advertisement

पत्रकारिता (सञ्चार माध्यम) सिक्किम राज्यमा समयानुसार आवश्यक अनुरुप फस्टाउन सकेन भन्दा पक्कै पनि दुईमत हुने छैन । पत्रकारिताले केही वर्षदेखि यस्तो काम नगरेको पनि होइन तर अझै त्यति राम्रो र तगडा पाराले काम भइरहेको छैन जस्तो खट्एिको थियो पूर्व राज्य सरकारको शासनकालमा । पत्रकारिता खुलेर स्वतन्त्ररुपमा फस्टाउन सकेको थिएन तर वर्तमान  प्रेमसिंह तामाङ (पीएस गोले) सरकारले पहिलो विधानसभा सत्रमै नयाँ सरकारको नीति, सिद्धान्तको परिचय दिंदै पत्रकारिता र सञ्चार माध्यमको विकास उत्थानको निम्ति ऐतिहासिक काम गरेको सबैको नजरबाट लुकेको छैन ।

वर्तमान सरकार राज्य र राज्यवासीको सर्वाङ्गीण काम र विकास गर्न लागिपरेको छ त्यसमा पत्रकारिता र सञ्चार माध्यमले ठूलो भूमिका निर्वाह गर्नु पर्ने आवश्यकता देखिन्छ ।

राज्यका धेरै ठाउँमा पहिलादेखि नै सरकारी जमिन कतिपयले मिचेर दुरुपयोग गरिरहेका छन् । कतिपयले सरकारी गाडी जतासुकै मनपरी चलाइरहेका छन् । कतिपय सरकारी कार्यालय लथालिङ्ग छन्,  सरकारी सम्पत्ति बेपर्वाह, बेस्यार भएर गइरहेका छन् भने  राज्यमा भएका यस्ता विषयलाई पत्रकारिताको माध्यमबाट उदाङ्गो पारिदिनुपर्छ । राज्यका धेरै ठाउँमा राम्रा–नराम्रा मुख्य खबरहरु ओझेल भएर उदाङ्गो हुन नपाएर गइरहेछन् । राम्रा कामलाई प्रोत्साहन र नराम्रा कामलाई निरुत्साहित गर्न जरुरी छ ।

राज्यका धेरै ठाउँमा पहिला सरकारमा झैं आदत बसेका बेइमानी ठेकेदारहरुले गरेका अधुरो काम, विभिन्न विभागमा भइरहेका र भइसकेका अधुरा कामहरू उदाङ्गो, सार्वजनिक हुन नपाएर समाचार उकुस मुकुसिएर बसिरहेका छन् । राज्यका बेइमानी, भ्रष्टाचारी, कर्तव्यहीन, ठगुवा,बदमाश, लठुवा, चोर आदि कसैलाई पनि पत्रकारिता, सञ्चार माध्यमसँग डर नै छैन, होशियार नै छैन भन्दा हुन्छ ।

पत्रकारिताको माध्यमबाट  राज्य संयन्त्रलाई झकझक्याई बेइमानी, भ्रष्टाचारलाई सतर्क र सजाय दिलाउन सक्छ, लथालिङ्ग र डावाँडोल अवस्थालाई उचित व्यवस्था गर्न सक्छ । अशिक्षित, अमानवीय, अभद्रलाई शिक्षित, भद्र र सभ्यताको मार्गतर्फ डोर्‍याउन सक्छ । विसङ्गति,कुरीति अव्यवस्थित, गैरकानुनी समाजलाई उचित, व्यवस्थित, नयाँ समाज निर्माण गर्नसक्ने क्षमता पत्रकारको कलममा हुन्छ ।

राज्यका प्रायजसो जनताले पत्रकारिताको महत्व र भूमिकालाई हल्कारुपले मान्दै अझ राम्ररी बुझ्न नसकेको देखिन्छ । राज्यका जनता, संगठन, परिवार, क्लब, विभाग आदिले पत्रकारिता र सञ्चार माध्यमलाई आ–आफ्नो खबर, सूचना सुनाइदिने,बाँडिदिने, प्रकाशित गरिदिने माध्यम मात्र मान्ने गरेकोजस्तो देखिन्छ । राज्यमा अहिलेसम्म फलानो विभागमा यस्तो भइरहेछ, उस्तो नराम्रो भइरहेछ भनेर पहिला पनि समाचार नबनिएका त होइनन् । नेता, अफिसर, ठेकेदार आदिले बेइमानी गरेको, भ्रष्टाचार गरेका समाचारहरु प्रशस्त प्रकाशित भएकै हुन् ।

राज्यका धेरै ठाउँमा असामाजिक घटना, बलात्कार, लुटमार,हत्या, कम्पनीहरुले मजदुरमाथि गरेका अत्याचारलगायत अनेकौं मुख्य समाचार धेरै समाचारपत्रमा प्रकाशित भएकै हुन् तर ती समाचारहरु उक्त दिन प्रकाशित भइसकेपछि सेलाएर गए । त्यसपछि सम्बन्धित निकाय, विभागले उचित कार्वाही गर्‍यो या गरेन, अपराधीले सजाय पायो कि पाएन, निर्दोषले न्याय पायो कि पाएन, ती मुद्दाहरुको अवस्था कस्तो चलिरहेछ आदिबारे सिक्किमे जनतालाई न चासो भयो, न जान्ने उत्सुकता नै । यसै किसिमले हाम्रो राज्य चलिरहेको छ ।

सिक्किम राज्यको बर्सेनि शैक्षिकस्तर सुधारिरहेको छ, शिक्षित नागरिकको जनसंख्या तीव्र गतिमा बढिरहेछ तर ती जनसंख्या अनुरुप समाचारपत्र पढ्ने पाठक भने बढ्न सकेको छैन । आफ्नो र आफूसँग सम्बन्धित समाचार सामग्रीहरु छन् भने खोजेर पढ्यो अन्यथा अरु दिन समाचारपत्रहरुको चासो र खोजी हुँदैन ।

राज्यका बजार, विभाग, गाउँ समाजतिर कहींकतै अनैतिक घटना भएको, असामाजिक गतिविधि भइरहेको, गैरकानुनी क्रियाकलाप भइरहेको देखेर पनि सिक्किमे जनता त्यस विषयमा गफै मात्र गर्छन् । फलानो र ढिस्का भनि टीका–टिप्पणी मात्रै गर्छन् । त्यसले,उसले खबर गर्छ, आवाज उठाउँछ भनि आफूपछि पर्ने गरेको पाइन्छ । सम्बन्धित विभागलाई सञ्चार माध्यम, सम्वाददातालाई जागरुक भएर खबर गर्नु कोही तम्सेको देखिंदैन ।

राज्यमा अहिलेसम्म सबै ठाउँतिर लगातार रुपमा खेदो गरेर लागिपर्‍यो भने सबैतिर शुभभन्दा अशुभ खबर केही न केही भइरहेका हुन्छन् तर ती समाचार त्यतिकै गुम्सेर गइरहेछ । धेरै वर्ष अगाडिको तुलनामा पत्रकारिताले केही प्रगति गर्दै अघि बढिरहेकै छ भन्नुपर्छ तर विश्वमा पत्रकारितामा भएको विकासको तुलनामा सिक्किमे जनतामा पत्रकारिताप्रति त्यति चेतनाशील, चासो, संवेदनशील नभएको देखिन्छ । समाचारपत्रको पाठक न्यून नै छन् ।

पत्रपत्रिकाप्रति रुचि देखाउने, चासो राख्ने ध्यान दिने नागरिक कम्ती नै मान्नुपर्छ । सिक्किमे शिक्षित जमातमा पत्रकारितामा रुचि बढाउन समाचारपत्रहरुको पाठकको संख्या बढाउन प्रेस क्लब अव सिक्किमले नै कुनै समय सापेक्ष प्रभावकारी कदम उठाउन आवश्यक छ । यो कलमकार सिक्किमे पत्रकारिता र सञ्चार माध्यमको शुभचिन्तक भएका नाताले राज्यको पत्रकारिता वर्तमान र भविष्यप्रति चिन्तित छ । यो  लेखको उद्देश्य भारतको सिक्किम राज्यको पत्रकारिता र सञ्चार माध्यमको कमजोरी हटाएर सही मार्गमा लैजानका लागि हो  ।  साथै विराटनगरका वासिन्दालाई पनि भारतको नेपाली भाषी राज्य सिक्किमको पत्रकारिता बारे जानकारी गराउनु हो ।

(गान्तोक सिक्किम (भारत), हाल : विराटनगर)

View : 1653

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved