विराटनगर । सुकुम्वासीको नाममा विराटनगर जुट मिल्सको जग्गा अतिक्रमण भएको र सरकारले उनीहरूलाई हटाउने चर्चा चलिरहेकै बेला जुटमिल्सका ४६ जना श्रमिक कर्मचारीहरूले भने हालसम्मको पारिश्रमिक नपाएको भन्दै सरकारी निकायहरूमा धाउन थालेका छन् ।
विराटनगर जुट मिल्समा लामो समयसम्म काम गरेका श्रमिक कर्मचारीहरूले श्रम कार्यालयको फैसला बमोजिमको आफूहरूले पाउनु पर्ने पारिश्रमिक भुक्तानीको माग गरेका हुन् ।
जुट मिल्सले आफ्नो पारिश्रमिक उपलब्ध नगराएको भन्दै कर्मचारीहरूले श्रम अदालतमा दायर गरेको मुद्दामा कर्मचारीहरूकै पक्षमा फैसला भएको थियो ।
सो फैसला बमोजिम ४६ जना कर्मचारीहरूले ३ करोड २ लाख १३ हजार ९२३ रुपैयाँ २२ पैसा पारिश्रमिक भुक्तानी पाउनु पर्ने भन्दै आइतबार जिल्ला प्रशासन कार्यालय मोरङमा पुगेर ध्यानाकर्षण गराएका छन् ।
आफूहरूले आदेश बमोजिम पाउनु पर्ने पारिश्रमिक नपाएपछि सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालालाई भेटर उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पु¥याइदिन आग्रहसहितको ज्ञापनपत्र बुझाएका हुन् ।
जुट मिल्समा कार्यरत विभिन्न तहका ४६ जना श्रमिक तथा कर्मचारीहरूले २०७३ जेठ १ गतेदेखि २०७७ मंसिरसम्मको पारिश्रमिक भुक्तानी नपाएको बताएका छन् ।
उक्त अवधिभरको पारिश्रमिक वापत ३ करोड २ लाख १३ हजार ९२३ रुपैयाँ २२ पैसा कायम भएको र त्यो रकम भुक्तानी गरिदिन माग गरेका हुन् ।
जुट मिल्सका प्रशासन अधिकृत पदमा काम गरेका तारानाथ तिमिल्सिनाले पारिश्रमिक वापतको रकम सरकार र व्यवस्थापनबाट नपाएको बताए ।
उनले श्रम कार्यालय विराटनगरबाट २०७६ पुस १८ मा कर्मचारीहरूको पक्षमा फैसला भएपनि सो फैसला कार्यन्वयन भएको बताए ।
कर्मचारीहरूका अनुसार जुट मिल्सको २०८१ चैत २१ मा सम्पन्न भएको साधारणसभाले जुट मिल्सले भुक्तानी गर्नुपर्ने सो पारिश्रमिक रकम भुक्तानी बाँकीका रुपमा अनुमोदन गरिसकेको जनाइएको छ । तर फैसला अनुसार पारश्रमिक नपाएको उनीहरूले बताइरहेका छन् ।
यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय र उद्योग मन्त्रालय लगायतका निकायमा विभिन्न १७ वटा प्रमाणसहित निवेदन दिए पनि त्यसको कार्यान्वयन नभएको जुट मिल्सका जनसम्पर्क इञ्चार्ज योगबहादुर सुब्बाले बताए ।
लेखा अधिकृत श्यामकुमार लामाले श्रम अदालतको फैसला बमोजिम कामदार मजदुर कर्मचारीको पारश्रमिक सुविधा भुक्तानीका लागि सरकारसँग माग गरे ।
View : 154
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved